मुहानदेखि मुखसम्मै, स्वच्छ हुनुपर्छ खाद्यचक्र जम्मै

मुहानदेखि मुखसम्मै, स्वच्छ हुनुपर्छ खाद्यचक्र जम्मै

‘गोठदेखि ओठ, आलीदेखि थाली’ खाद्य स्वच्छतासँग जोडिएको उद्धरण हो यो । हामीले खाने खानाको प्रमुख स्रोत कृषि उपज नै हो । यस्तै विभिन्न पशुपंक्षीलाई पनि हामीले आफ्नो खानाको स्रोत बनाएका छौं । यिनै कृषि तथा पशुजन्य खाद्यवस्तुहरु विभिन्न चरण हुँदै अन्ततः परिकार बनेर हाम्रो मुखसम्म पुग्ने हो ।

त्यसैले हाम्रो कृषि अभ्यास, पशु अभ्यास नै असल हुनुपर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारी बताउँछन् । त्यसपछि भण्डारण, ढुवानी, प्रशोधन, चिस्यानदेखि लिएर परिकार उत्पादन सम्मका हरेक प्रक्रियामा खाद्य स्वच्छतालाई ध्यान दिएर काम गरिनुपर्ने उनले बताए ।

खाद्य स्वच्छता भनेको हामीले खाने हरेक वस्तु स्वच्छ हुनुपर्छ । त्यसबाट हाम्रो शरीर तथा स्वास्थ्यलाई कुनैपनि किसिमको हानि–नोक्सानी हुनुहुँदैन भन्ने हो । खाद्य स्वच्छता नहुँदा झाडापखाला, आउँ, हैजा, टाइफाइड, जन्डिस, छारेरोग, जुका, क्यान्सरलगायत धेरै किसिमका रोगले मानिसलाई बिरामी बनाई मृत्युको मुखमा समेत पुर्याउन सक्छ ।

ढुंगा, माटो, कीला, प्लाष्टिकका टुक्रा, प्वाँख, काठ, बाँसका छेस्का, मरेका कीराका खपटो, मुसाको लिँड, चराको विष्टालगायत भौतिक कारण, रासायिनक मल, कीटनाशक विषादी, पशुपंछीलाई दिइने औषधि तथा हार्माेन, भाँडाकुँडा सफा गर्न प्रयोग गरिने डिटर्जेन्टका अवशेषलगायत रासायनिक कारण र सूक्ष्म जीवाणु, विषाणु, कीरा, चरा, कुकुर बिराला जस्ता जन्तुजनावर, ढुसी, पारासाइटलगायत जैविक कारणले खाद्य स्वच्छतामा असर पार्न सक्ने उनले बताए ।

यस्तै, फोहोरपानीले पनि खाद्यचक्रमा असर पार्ने बताउँदै उनले भने, ‘खाद्य उत्पादनका विभिन्न चरणमा प्रयोग गरिने पानी सुरक्षित र स्वस्थकर हुन आवश्यक छ ।’ कामदारहरुको स्वास्थ्य र सरसफाइ पनि खाद्य स्वच्छताका निम्ति महत्वपूर्ण हुने उनले बताए । खाद्य पदार्थमा हुने मिसावट र त्यसबाट स्वास्थ्यमा पर्ने असरबारे चर्चा गर्दै अधिकारीले खाने तेल र तोरीमा थाकलको तेल र दाना मिसावट हुँदा पेट र मुटुसम्बन्धी समस्या, ड्रप्सी (सुन्निने) रोग लाग्ने उनको भनाइ छ ।

बेसन र अन्य दालमा खेसरी दाल मिसाउँदा पक्षाघात (प्यारालाइसिस) हुने, अखाद्य रंग प्रयोग गरिएका खाद्य वस्तुले मृगौला र दिमाग सम्बन्धी समस्यादेखि क्यान्सर हुने, खाद्यान्न, फलफूल र तरकारीमा हुनसक्ने कीटनाशक विषादीका अवशेषले कलेजो सम्बन्धी समस्या, रक्तअल्पता, बाँझोपन एवम् क्यान्सर निम्त्याउने, तयारी खाद्यवस्तुमा अजिनोमोटोको मिसावटले टाउको दुख्ने, कपाल झर्ने, हाडसम्बन्धी समस्या हुने, मासुका परिकारमा नाइट्रेट र नाइट्राइटहरुका कारण क्यान्सर हुने, अखाद्य ग्रेडका प्लाष्टिकमा प्याक गरिएका खाद्यवस्तुले क्यान्सर हुने, खाद्यवस्तुमा हानिकारक सूक्ष्म जीवहरु मिसिँदा खाद्य विषाक्तता, पेटसम्बन्धी रोग, टाइफाइड, जन्डिस, क्षयरोग आदि हुने भन्दै यसतर्फ उत्पादक र उपभोक्ता सबै वर्ग सचेत हुनुपर्ने उनले बताए ।

बताइएअनुसार अनुसार दूध, पानी, माछा–मासु, अण्डा, तेल, दालमोठ र बेकरीजन्य पदार्थ बढी जोखिम देखिएका खाद्य क्षेत्र हुन् । सडकछेउ र हाटबजारहरुमा प्रायः ठेलामा पकाएर बेचिने समोसा, पकौडा, जेरी लगायतका परिकारहरुमा अखाद्य रंगको प्रयोग बढी नै भइरहेको पाइन्छ । त्यसमा पनि चटपटलगायत ती परिकारहरु ग्राहकलाई पत्रपत्रिका जस्ता कागजमा राखेर खान दिने गरिन्छ । कागजमा प्रयोग भएका मसी, केमिकल हानिकारक हुने र त्यसले हाम्रो स्वास्थ्यलाई निकै असर पु¥याउने अधिकारी बताउँछन् । त्यसैगरी तातो खानेकुरा प्लाष्टिकमा खान नहुने, प्लाष्टिकका ‘कम्पोनेन्ट’ खानेकुरामा मिसिन गई त्यसबाट हामीलाई क्यान्सर हुनसक्ने पनि उनले जनाए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख क्षितिज श्रेष्ठले खाद्य श्रृङ्खलामा स्वच्छता र गुणस्तर हामी सबैको सरोकारको विषय हुनुपर्ने बताउँदै यसका लागि सबै सरोकारवालाहरुले आ–आफ्नो क्षेत्रबाट काम गर्नुपर्नेमा जोड दिए । होटल, रेष्टूरेन्टहरुमा तेलमा तारेर पकाइने पकवानहरु बनाउँदा कालो, रातो, नीलो हुञ्जेल उही तेल बारम्बार प्रयोग गर्ने समस्या व्यापक देखिएपछि अहिले आफूहरुले फिल्डमै गएर त्यस्ता तेलको गुणस्तर जाँच गर्ने मेसिन व्यवस्थापन गरेको श्रेष्ठले जनाएका छन् ।

खाद्य स्वच्छताका लागि खाने कुराहरु सफा गरी राख्ने, राम्रोसँग पाक्नेगरी पकाउने, पाकेको र काँचो खाद्यवस्तुहरु अलग्गै राख्ने (सँगै राख्दा काँचोमा भएका ब्याक्टेरिया पाकेकोमा सर्न सक्छ), खानेकुरा सुरक्षित तापक्रम (५ डिग्री सेल्सियसभन्दा कम वा ७० डिग्री सेल्सियसभन्दा बढी) मा राख्ने (५–६० डिग्री सेल्सियसको तापक्रम जोखिमपूर्ण हुन्छ), सफा पानी र सफा कच्चा पदार्थ प्रयोग गर्नुपर्ने उनले बताए । रोगी पशुपंछीको मासु, अण्डा, दूध खाँदा मान्छेमा पनि रोग सर्नसक्ने हुँदा त्यस्ता खाद्यउत्पादन बिक्री–वितरण नगर्न व्यवसायीहरुलाई उनको सुझाव छ ।

पशुपंछीलाई दिइने एन्टिबायोटिक, हार्माेनको असर मासु, अण्डा, दूध खाने मान्छेमा पनि पर्ने हुँदा सकेसम्म आफ्ना पशुपन्छीलाई एन्टिबायोटिक, हार्माेन प्रयोग नगर्न, प्रयोग गर्नेपरे एकदम कम मात्रा प्रयोग गर्न पशुपालक किसानहरुलाई नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका वरिष्ठ अनुगमन तथा मूल्यांकन अधिकृत प्रवेश शर्मा आग्रह गर्छन् । अनुसन्धानबाट ब्रोइलर कुखुराको कलेजो साह्रै अस्वस्थकर देखिएको उनले बताए । उनका अनुसार ब्रोइलर कुखुराको मासु र कलेजो परीक्षण गर्दा उसलाई खुवाइएको एन्टिबायोटिक कलेजोमा गएर जम्मा हुने गरेको भेटियो । पशुपंछीलाई खुवाइने दाना तथा आहारा स्वच्छ, गुणस्तरीय नभए त्यसबाट उत्पादित मासु, अण्डा, दूध पनि स्वस्थकर नहुने उनीहरु बताउँछन् ।

अझै पनि हाम्रो समाजमा राम्रो मकै मान्छेलाई खान छुट्याइन्छ भने ढुसी लागेका मकैहरु गाईवस्तुलाई खुवाइन्छ । तर घाममा सुकाए पनि ढुसीबाट बनेका टक्सिन नमर्ने, यसले पशुको दूध उत्पादन पनि घट्ने र त्यस्तो दूधले मान्छेको स्वास्थ्यमा नकारात्मक असर पर्ने शर्माले बताए । मासु पसलेले दिनभर बाहिर घाममा खुल्ला तापक्रममा राखेर बिक्री नभएपछि बेलुकी फ्रिजमा मासु राख्ने गरेको पाइन्छ, यसो गर्दा पनि मासु बिग्रिने र अस्वस्थकर हुने उनले बताए ।

स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ नारासहित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको समन्वयमा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआईपी), हरिहरभवन ललितपुरले गत मंगलबार भरतपुरमा ‘उपभोक्ता खाद्य स्वच्छता जनचेतना अभिवृद्धि कार्यक्रम’ आयोजना गरेको थियो । उपभोक्ता अधिकार संरक्षण मञ्चका प्रतिनिधिलगायत उपभोक्ता अधिकारकर्मीहरु, माछा–मासु व्यवसायी, दुग्ध उत्पादक किसान तथा सहकारीका प्रतिनिधि, किराना व्यवसायीका प्रतिनिधि, पशुपंछी र कृषिसम्बद्ध कार्यालयका प्रतिनिधि, प्रहरी–प्रशासन, पत्रकारलगायतको सहभागितामा आयोजित कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख क्षितिज श्रेष्ठ र नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका अनुगमन तथा मूल्याङ्कन अधिकृत प्रवेश शर्माले खाद्य स्वच्छताका विषयमा प्रस्तुति दिएका हुन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका खाद्य निरीक्षक प्रदीप काफ्लेद्वारा सञ्चालित कार्यक्रममा चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा प्रमुख अतिथि रहेका थिए ।

टिप्पणीहरू