सामाजिक सञ्जालमा शुभकामनाको ओइरो,असार १५ सम्म १० प्रतिशत रोपाईं

सामाजिक सञ्जालमा शुभकामनाको ओइरो,असार १५ सम्म १० प्रतिशत रोपाईं

आज असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रुपमा मनाइन्छ । असारमा बीऊ रोपेर मंसिरमा धान भित्र्याउने नेपाली किसानलाई अभिप्रेरित गर्न यो दिवस मनाउन थालिएको हो ।

बेलैमा मल र बीऊ नपाउनु नेपाली कृषकको नियति भइसकेको छ । उब्जाउ हुने धान खेतमा बजार र शहरीकरण भएको छ । खेती किसानी गर्नेको संख्या घट्दो छ ।

असारमा समेत रोपार र लाठे नपाउँदा बृध्दबृध्दा तथा महिलाले जेनतेन यो कर्म धानिरहेका छन् । सरकारी पक्षले यसतर्फ नयाँ पुस्तालाई आकर्षित गराउन अझै पनि सकेको छैन । अधिकांश युवा हातमा पासपोर्ट बोकेर मध्यपूर्व, मलेसिया,कोरिया र केही युरोप तथा अमेरिका जाने योजनामा शहर पसिरहेका छन् ।

फाँट र टारीका कतिपय खेत बाँझै देखिन्छन् । कतिपय सरकारी निकायले नै गमलामा धान बीऊ रोपेर असार १५ मनाएको पनि देखिएकै हो । अधिकांशले विदेशबाट आयात गरिएका चामलका परिकार,चिउरा र केरा खाँदै असार १५ गते मनाउने गरेका छन् । विगतमा झैँ आफ्नै खेतको धानबाट बनाइएको चिउरा,गोठको गाई वा भैंसीको दूधबाट बनेको दही र बारीको केराघारीमा फलेको केरा खाएर असार १५ मनाउने अवस्था लगभग देखिन छाडेको छ ।

यहि क्रममा दाङमा आजसम्म १० प्रतिशत मात्रै रोपाईं सकिएको छ । मल अभाव र कतिपय ठाउँमा भरपर्दो सिँचाइ नभएकाले १० प्रतिशतभन्दा बढी रोपाईं हुन नसकेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।

यसवर्ष जिल्लामा ३९ हजार ४ सय हेक्टर क्षेत्रफलमा धान रोपाईं हुने अनुमान छ । जसमध्ये अहिलेसम्म ३९ सय ४० हेक्टरमा मात्रै रोपाईं सकिएको केन्द्रका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिए । उनका अनुसार बबई नदी किनारमा थोरै मात्र रोपाई भएको छ । देउखुरी बाहेकका क्षेत्रमा रोपाईं हुन सकेको छैन ।

कुल क्षेत्रफलमध्ये रोपाईं सकिएको १० प्रतिशत खेत सबै देउखुरी क्षेत्रको हो । दाङमा खेतीयोग्य जमिनमध्ये ३० प्रतिशतमा बाह्रै महिना पर्याप्त सिँचाईको व्यवस्था भए पनि अधिकांश क्षेत्रमा आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ ।

टिप्पणीहरू