यस्तो भेटघाटले के दिन्छ संकेत ?

यस्तो भेटघाटले के दिन्छ संकेत ?

मुख्य राजनीतिक दलका शीर्ष नेता,प्रधानमन्त्री र मन्त्रीहरुबीच भइरहेका दिनहुँका भेटघाटले के कुराको संकेत गर्छ ? उनीहरुबीच भएका मुख्य छलफल र निश्कर्षको निचोड भने सामान्यतयाः बाहिर आउने गरेको छैन ।

राजनीतिक जोडघटाउ र हिसाबको निम्ति हुने गरेका त्यस्ता भेटघाटले यदाकदा राजनीतिक अस्थिरताको संकेत भने दिने गरेको छ । गठबन्धन बनाउने, टुटाउने र आफ्नो हात माथि पारेको देखाउने शीर्ष नेताहरुले भेटघाटलाई निरन्तरता दिएको भन्नेहरु पनि छन् ।

सोही क्रममा हिजो ललितपुरको खुमलटारस्थित दाहाल निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अर्थमन्त्री जनार्दन शर्मा र उर्जामन्त्री पम्फा भुसालको बिहान भेटवार्ता भयो ।

यता खुमलटारमा भेटवार्ता भइरहँदा बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि जर्मनीका राजदूत डाक्टर थोमस प्रिन्जले एक घण्टा कुरा गर्नुभएको थियो ।

सोही समयको हाराहारीमा कोटेश्वरस्थित नेपाल निवासमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,मन्त्री र राज्यमन्त्री बन्नुअघिका सभासद जीवनराम श्रेष्ठ, हिराचन्द्र केसी र सोमप्रसाद पाण्डेबीच झण्डै एक घण्टा कुराकानी भएको थियो । त्यसपछि उहाँहरु आफ्नो निवास पुगेर शपथ ग्रहणको निम्ति शीतल निवास जानुभयो ।

आफ्नो निवासमा सांसदहरुसँग भेटवार्ता गरेपछि अध्यक्ष नेपाल हात्तिवनस्थित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको निवास पुग्नुभयो । सो क्रममा अध्यक्ष यादवसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको लामै कुराकानी भएको यादव निकट स्रोतले बताएको छ ।

उता बालुवाटारमै प्रधानमन्त्री देउवासँग सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हिजो मध्यान्हको समयमा लामो भेटवार्ता गर्नुभएको थियो । त्यसपछि अपरान्ह कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्र राय यादवले पनि प्रधानमन्त्री देउवासँग केहीबेर कुराकानी गर्नुभएको मन्त्रीको निजी सचिवालयले पुष्टि गरेको छ ।

उता भक्तपुर बालकोटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो साँझ अबेरसम्म तीन जना नेतासँग भेटघाट गर्नुभयो । महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिप ज्ञवाली र विष्णु रिमालले अध्यक्षसँग सामूहिक भेटवार्ता गर्नुभएको हो ।

टिप्पणीहरू