अर्थ मन्त्रालयसंग “अनधिकृत सुब्बा” को प्रवेशसम्बन्धी सिसिटिभी फुटेज मागियो

अर्थ मन्त्रालयसंग “अनधिकृत सुब्बा” को प्रवेशसम्बन्धी सिसिटिभी फुटेज मागियो

उपभोक्ता हित संरक्षण मञ्च, नेपालले अर्थ मन्त्रालयसंग सिसिटिभी फुटेजको प्रतिलिपि मागेको छ । अनधिकृत व्यक्तिलाई प्रवेश गराई राजश्वको दर हेरफेर गरेको र त्यसको परिणम पनि देखिएकोलगायतका कुराहरु सार्वजनिक भएपछि मञ्चले सिसिटिभी फुटेजको प्रतिलिपि मागेको हो ।

२०७८ भदौ २५ गतेदेखि गत जेठ १४ गतेसम्मको फुटेज उपलब्ध गराउन मञ्चले भनेको छ । आर्थिक विधेयक तर्जुमा गर्दा मन्त्रालयमा के-कस्ता व्यक्तिको आगमन भएको थियो सोसम्बन्धी जानकारीसहित अध्ययन गर्नका लागि फुटेज चाहिएको मञ्चले जनाएको छ ।

मञ्चले सम्पूर्ण दृश्य देखिने गरी फुटेज उपलब्ध गर्न मन्त्रालयसंग माग गरेको छ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ र ७ बमोजिम फुटेज उपलब्ध गराउनुपर्ने मञ्चद्वारा जारी निवेदनमा उल्लेख छ ।

आर्थिक विधेयक मस्यौदा गर्दा संविधानले सपथ खाएको निश्चित व्यक्तिबाहेक अरु कोही उपस्थित हुन नपाउने र संविधानको धारा ११० (३) बमोजिमको सम्पूर्ण कुरामा संवेदनशील हुनुपर्ने विषय पनि सुसूचित गराइएको छ ।

टिप्पणीहरू