अलिकति कमलो मनकी भैदिनु नि अभिनेत्री

अलिकति कमलो मनकी भैदिनु नि अभिनेत्री

एकातिर हातमा फिल्म छैन, म्युजिक भिडियो र टेलिसिरियलमा खुम्चनुपरेको छ । अर्काेतिर बल्ल बल्ल पाएको काममा समेत पैसा लिएर अटेर गर्दा निर्माता–निर्देशक आजित छन् । यस्तो हैरानी खेलाइदिने नायिका हुन् प्रियंका कार्की ।

आमा बनेपछि प्राप्त एउटा म्युजिक भिडियोमा अभिनयबापतको अग्रिम ८० हजार लिएर प्रियंका कार्की सम्पर्कमा नआइदिएपछि निर्माता र निर्देशकको टाउको दुख्न थालेको छ । स्रोतका अनुसार उक्त म्युजिक भिडियोमा प्रियंकासहित चर्चित सञ्चारकर्मी नरेश भट्टराईले अभिनय गरेका थिए ।

तर दुर्भाग्यवश, खिचिएको भिडियो फुटेज भाइरसले खाइदियो र खुलेन । निर्माता/निर्देशकले प्रियंकालाई पुनः अभिनय गर्नका लागि अनुनय–विनय गरे तर उनले वास्ता गरिनन् । सोही कारण उक्त म्युजिक भिडियोको ८० हजार ‘बालुवामा पानी’ खन्याएझैं भएको छ ।

प्रियंका कार्की र उनका पति आयुष्मान देशराज अचेल आफ्नै युट्युब च्यानलमा कन्टेन्ट हालेर रमाइरहेका छन् । पछिल्लो दुई महिना वजन २४ किलोले घटाउँदासमेत उनलाई ठूलो पर्दाका निर्माता–निर्देशकले पत्याउन छाडेका छन् ।

कुनै समय नम्बर वान नायिका बन्ने प्रतिस्पर्धामा रहेकी प्रियंकाले ठूला चलचित्रमा काम पाउन छाडेका कारण अब टेलिसिरियलतिर खुम्चन बाध्य भएको बताइन्छ । प्रियंका हालै मात्र ‘साहु बा’ सिरियलमा अनुबन्धित भएकी छन् भने पति आयुष्मानलाई फोटोग्राफी निर्देशकको जिम्मेवारी दिइएको छ ।

टिप्पणीहरू