अध्यक्षले प्रधानमन्त्रीलाई समेत ढाँटेपछि….

अध्यक्षले प्रधानमन्त्रीलाई समेत ढाँटेपछि….

अघिल्लो शुक्रबार शेरबहादुर देउवाले नेपाल प्रेस युनियनका लाई बालुवाटारमै डाकेर बधाई र शुभकामना दिए । खादा ओढाएर सम्मानसमेत गरे ।  अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) को कार्यकारी सदस्यमा निर्वाचित भएको समाचार मिडिया र सामाजिक सञ्जालमा व्यापक रुपले प्रचारित भएपछि कांग्रेस सभापतिसमेत रहेका देउवाले शुभेच्छुक संस्थाका अध्यक्षलाई बधाई दिनु सामान्य विषय हो ।

तर, तथ्य बिल्कुल फरक भेटिएपछि बधाई दिनेहरू नै लजाउनुपर्ने अवस्था उत्पन्न भएको छ । जतिबेला सिग्देल ओमानको राजधानी मस्कटमा सम्पन्न आइएफजेको विश्व कंग्रेसबाट एसिया प्यासिफिकअन्तर्गत दक्षिण एसियाको कार्यकारी सदस्यमा निर्वाचित भएको तथ्य बाहिरियो त्यतिबेला बधाई दिनेहरू छक्क परे । प्रधानमन्त्रीलाई नै बेवकुफ बनाएको भन्दै सिग्देलइतर खेमाले यो प्रकरणलाई चुनावी मसाला बनाउने गतिलो अवसर पाएको छ ।

‘जे उपलब्धि भएको छ त्यसैलाई जस्ताको तस्तै प्रचार गर्दा पनि ठूलै हुन्थ्यो, एकाएक ठूलो मान्छे भइने लालचमा पर्दा पोल्टाको पनि पोखिने अवस्था आयो,’ युनियनको रमिता नजिकबाट नियालिरहेका एक पूर्व नेताले भने ।

त्यो भेटमा प्रधानमन्त्री देउवाले युनियनको विश्व मञ्चमा प्रतिनिधित्व हुनु खुशीको कुरा भन्दै हात मिलाएर बधाई दिएका थिए । प्रधानमन्त्री मात्र नभै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री डा.नारायण खड्का, पूर्वमन्त्री रहेका कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतलगायतले पनि सिग्देललाई बधाई दिए ।

पत्रकार महासंघ र विभिन्न पेशागत संघसंगठनले एउटै लबजमा शुभकामना भने तर युनियन अध्यक्ष सिग्देल खासमा भारतीय पत्रकार युनियनको महासचिव तथा आइएफजेका उपाध्यक्ष सबिना इन्दर्जितको अध्यक्षतामा गठित एसिया—प्रशान्त पत्रकार संगठनको सदस्यमा निर्वाचित भएका हुन् ।

यता, आइएफजेकै केन्द्रीय कार्यसमितिमा परेको भन्दै प्रधानमन्त्री लगायतले बधाई दिने मात्र काम भएन विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन/प्रसारणसमेत भयो । सिग्देलले पनि स्विकारोक्तिसहित बधाई थापिरहे तर ओमानको राजधानीमा जारी अन्तर्राष्ट्रिय पत्रकार महासंघको वल्र्ड कंग्रेसमा उनी कार्यकारी सदस्य निर्वाचित भएको भनेर किन झुक्यानमा पारियो, यतिबेला छलफल र चर्चाको विषय बनेको छ ।

युनियनकै कार्यवाहक महासचिव भिष्मराज ओझाले त यो तहमा नेपालबाट निर्वाचित हुने युनियनका अध्यक्ष सिग्देल पहिलो व्यक्ति भएको सम्म भन्न भ्याएका छन् । स्मरण रहोस्, श्रमजीवी पत्रकार हकहित र लोकतन्त्रका लागि योगदान गर्नेलगायत उद्देश्यसाथ ०४८ साल जेठ १३ गते स्थापित प्रेस युनियनमा नौ वर्षसम्म एकछत्र अध्यक्ष हुने कीर्तिमानसमेत सिग्देलको नाममा अंकित भएको छ ।

टिप्पणीहरू