आगामी चुनावमा दोब्बरबढी भोट ल्याउने माधव नेपालको दाबी

आगामी चुनावमा दोब्बरबढी भोट ल्याउने माधव नेपालको दाबी

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी संघ तथा प्रादेशिक चुनावमा आफ्नो पार्टीले कम्तिमा २० लाख भोट ल्याउने दाबी गर्नुभएको छ ।

पार्टीको पहिलो केन्द्रीय परिषद् बैठकको आज काठमाडौँमा उद्घाटन गर्दै अध्यक्ष नेपालले स्थानीय चुनावमा २८ प्रतिशत मात्रै उम्मेदवार खडा गर्दा नौ लाख भोट पाएकाले आउने चुनावमा त्योभन्दा दोब्बरबढी मत ल्याउने दाबी गर्नुभएको हो । स्थानीय चुनावमा देशैभर उम्मेदवारी दिएको भए त्यतिबेलै २० लाख मत ल्याउने दावी गर्नुभएका उहाँले अब संसदीय निर्वाचनमा एक सय ६५ वटै क्षेत्रमा उम्मेदवारी दिने गरि तयारीमा लाग्न जोड दिनुभयो ।

‘हामीले यसपटक झण्डै २८ प्रतिशत उम्मेदवार मात्रै खडा गरेका थियौं, यसमा नौ लाख मत पायौं । यदि हामीले सबै ठाउँमा उम्मेदवारी दिएको भए योभन्दा दोब्बर मत पाउने थियौं । कम्तीमा पनि २० लाखको सेरोफेरोमा मत पाउने थियौं । २० लाख मत पाउने हो भने प्रतिनिधिसभामा हाम्रो केही सिट सुरक्षित हुनेछ’, नेपालले भन्नुभयो ।

संघीय निर्वाचन क्षेत्रका एक सय ६५ र प्रदेशसभातर्फका तीन सय ३० सिटमा नै उम्मेदवारी दिने तयारी थाल्नसमेत उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो । अध्यक्ष नेपालले गाउँ–गाउँमा गएर कलम चिन्हको प्रचार गर्न कार्यकर्तालाई अह्राउनु भएको छ ।

टिप्पणीहरू