पार्टी सदस्यता नभएकी सचिवको आँशुको मूल्य कति ?

पार्टी सदस्यता नभएकी सचिवको आँशुको मूल्य कति ?

– जीवन डाँगी

एउटा आन्दोलनकी ‘पोस्टर गर्ल’ अर्थात् रामुकमारी झाँक्री हिजो ‘सिंहदरबार’ भित्रै रोइन् । ०६२–६३ को जनआन्दोलनदेखि ‘हक्की’ स्वभावका कारण चर्चित उनी अन्ततः ‘रून्ची’ बनेर मन्त्रालयबाट निस्किइन् । सत्ता र भत्ताले मानिसलाई भावुक बनाउँदो रहेछ भन्ने उखानअनुरुप सिंहदरबारबाट जाँदाजाँदै झाँक्री सबैको निम्ति पछिल्लो उदाहरण बनिन् ।

नयाँ बानेश्वरमा चर्को घाम लागिरहँदा ‘झाँक्री वर्षाद’ ले सिंहदरबार जलमग्न बन्यो । ८ महिना २० दिनअघि सहरी विकासमन्त्रीको जिम्मेवारी लिँदै गर्दा हाँस्दै मन्त्रालय छिरेकी उनी बिदा हुँदा आँशु झार्न बाध्य भइन् ।

बेलाबखत उग्र स्वभावकी उनी मन्त्रीको जिम्मेवारी पाएपछि शान्त बनिन् । कामको नाममा केही गर्दै नगरेकी पनि हैनन्,सिसडोलको फोहोर,केपी ओलीले समृध्दिका नाममा ठ्ड्याएका सेमिनार हल र झण्डै सय वटा ठूला भवन निर्माणजस्ता चुनौती,इन्धनसङ्गै सिमेन्ट,डण्डीको मूल्यबृध्दि,नेता,कार्यकर्ताका ठेक्का पट्टा र रोजगारीका अपेक्षा-अनेक थिए तगारा ।

उनी हिजो मन्त्रालयमा धर्धरी रोएको भिडियो भाइरल भएपछि ‘किन रोइस् मंगले,आफ्नै ढंगले,’ खासगरी एमालेनिकट सामाजिक सञ्जाल प्रयोगककर्ताको टिप्पणी छ । नेकपाताका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अरु मन्त्रीलाई यो वा त्यो नामले आलोचना गर्नेमा झाँक्री अग्रस्थानमा थिइन् । टेलिभिजनमा पुगेर मन्त्रीलाई ‘असल मन्त्री’ बन्न टिप्स दिन्थिन् ।

नेकपा एकीकृत समाजवादीको सचिवसमेत रहेकी उनी मन्त्री छाड्दा किन पत्रकारसामु रोइन् ? आलोचकहरु भन्छन्, ‘झाँक्री टिकटकबाट फिल्म खेल्ने तहमा पुगिसकिछन् । ल… बधाई छ ।’

त्यसो त उनी खुमल्टार र बालुवाटारको घरदैलोमा हिँडेको एक हप्ता भइसकेको थियो । अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले छ महिने भाका सम्झाउँदै ८ महिनामा फिर्ता बोलाउने निर्णय गरेपछि झाँक्री बेचैन भइन् । त्यसपछि कहिले खुमलटार पुगिन्, कहिले बालुवाटार । अझ भनौं पार्टीले कामै गर्न दिएन,माधवकुमार नेपालले अपमान गरे भन्ने गुनासो पोखिरहिन् । कस्तोसम्म हुन्थ्यो भने माधव बेलुका खुमल्टारबाट निस्किए भन्ने खबर पाउनासाथ विरोध खतिवडा,प्रेम आले र किसान श्रेष्ठलाई लिएर राती नै प्रचण्ड निवास पुग्थिन् । आफ्नै पार्टी नेतृत्वले अपराधीजस्तै बनायो,सम्मान गरेन भन्थिन्।

‘झाँक्री दिदी’ लास्टै उग्र क्या ! मन्त्री जसले बनायो उनैलाई थर्काइन् । जसको हात च्याप्पै समातिन् उसैलाई अवज्ञा गरिन् । उनका कारण माधव कमरेडलाई पनि कम्तीको टेन्सन भएन । हिजो बल्ल मन्त्रीको जिम्मेवारी छाड्ने कुरो गरिन् । मन्त्रालयमा सञ्चारकर्मी भेला पारिन्, बलिन्द्र धारा आँशु बगाइन् । घोक्रो सुक्ने गरी रोइन् । नेपाल–खनाल–भुसाललाई शान्त विद्रोहको एउटा आवाज पनि सुनाइन् ।

नेकपा (एमाले) विभाजन–ताका दोस्रो पुस्ताका प्रायः नेताहरू ओलीतिरै लागे । तर तेस्रो पुस्ताकी झाँक्री अध्यक्ष नेपालसामु दह्रोसँग उभिइन् । हात डोर्याउँदै निर्वाचन आयोगमा पुगिन्,पार्टी सचिव भइन् । मन्त्री भइन् अनि कामचाहिँ के के गरिन्-सो को फेहरिस्त लगाइन् । बजेटको जवाफ उनले दिदा र नदिँदा के फरक पर्यो,केही भनिनन् ।

यी उनै रामकुमारी हुन्, जसले जनआन्दोलनका बेला विद्रोही ‘इमेज’ बनाइन् । गणतन्त्रको निम्ति टाउको फोरिन् । हजारौं युवालाई साहस बाँडिन् । परिवर्तनको संवाहक बनिन् । राष्ट्रिय राजनीतिमा छपक्क छाइन् । एउटा नयाँ विचारको मन्थन गरिन् । नातावाद र कृपावादको घोर विरोध गर्छिन् ।

अनि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको खरो आलोचक ठान्छिन् । ‘बोल्न पाइन्छ’ भन्दै राष्ट्रपतिविरूद्ध मज्जैले बोलिन् । ओलीविरूद्ध झन् चर्को बोल्छिन् । ओलीले दुईपटक संसद विघटन गर्दा डटेर मैदानमा उत्रिइन् । एक समय आमसञ्चारदेखि प्रदर्शनी–मार्गको सडकसम्मै बोलिरहिन् ।

उनी सामाजिक सञ्जालमा निकै बोल्छिन् । यतिसम्म कि बोल्दाबोल्दै हिरासतसम्मै पुगिन् । टिकटक खोलिन्,भिडियो अपलोड गरिन् । नेतालाई जमेर आलोचना गरिन् । विभिन्न विषयमा विवादित भइन् । प्रहरी अघि पछि लगाएर पैदल यात्रामा निस्किइन् । अल्छे मजदुरलाई थर्काइन् र कामबाट भाग्ने ठेकेदारलाई जिम्मेवारी सम्झाउँदै सँगै बसेर चिया पनि खाइन् ।

अन्तर्वार्ता हेर्दा लाग्थ्यो– मन्त्री भएपछि झाँक्रीले उधुमै गर्लिन् । तर नीतिगत सुधार पनि गर्न खोजिन् तर साढे ३ बर्षमा ओलीले गर्न नसकेको सुधार ८ महिनामा एक्ली रामकुमारीले कसरी गर्न सकुन् त्यसमाथि प्रधानमन्त्री त्यस्ता सुस्त र मस्तीका ।

झाँक्रीका आँशुले कतिलाई पोल्ला ! पद खोसिदिने मेटमणि चौधरी,बहिनी ज्वाइँलाई बर्षको निम्ति अस्ट्रेलियाको राजदूत बनाउन मरिहत्ये गर्ने तर रामकुमारीहरुलाई ६ महिनामै फिर्ताको कबुलियतनामा गराउने माधवकुमार नेपाल,हिराचन्द्र केसी भए अरु कोही नचाहिने झलनाथ खनाल या महासचिव बेदुराम भुसाल अनि पद थमौती गर्न नसक्ने प्रचण्ड–देउवा । यदि त्यो उनको कलाकारिता होइन भने आँशुको मूल्य सम्बन्धित सबैलाई महङ्गो पर्नेछ । भलै,उनी पार्टी सचिव पनि हुन्,तर कार्ड छाप्न बाँकी नै रहेकोले सदस्यता नभएको खुलाएकी छन् ।

राजनीतिक बजारमा हल्ला छ–‘अब ओलीलाई झाँक्री र झाँक्रीलाई एमाले चाहिएको छ ।’ उनी माधव नेपालविरूद्ध बोल्न सक्छिन् । लेख्न पनि सक्छिन् । अनि ओलीको गोजीबाट समानुपातिक खान सजिलो पनि हुन्छ । उनलाई एमालेमा फर्काउन लागिपरेका छन्,झाँक्रीका प्रिय ‘बैगुनी’ दाजैहरु ।

चुनाव नजिकिँदै छ । गोकर्ण र प्रदीपले झैं गुल्मीबाट अब कम्युनिस्टले जित्ने त परैको गफ हो,टेक्ने ठाउँ खासै छैन । झाँक्री पनि ‘नेता हुन् ।’ बोल्ने मञ्च,उभिने जग्गा, फूलमाला र अबिर दल्ने कार्यकर्ता पनि चाहिएला ! त्यो ‘झाँक्री दिदी’ को कमजोरी हो ।

झाँक्रीले केही पनि नगरेकी होइनन् । कसले गर्न दिएन काम ? को–कसले मन्त्रालयमा चुनौती थपे ? आर्थिक प्रलोभन आयो कि आएन ? सचिवले सहयोग गरे कि गरेनन् ? सफल बनाउन पार्टीले कस्तो भूमिका खेल्यो ? र,आखिर उनी किन रोइन् ?

अन्ततः तय गरिन्,सिंहदरबारदेखि बुद्धनगरसम्मको यात्रा । सोध्न मन छ– यात्रा कस्तो भयो दिदी ? स्कुटरको यात्रा रमाइलो कि झण्डावाल गाडी ! बुद्धनगरको चिसो पानी मीठो कि सिंहदरबारको तातो हिटर !

टिप्पणीहरू