सशस्त्रका तालिमेसँग १० हजार उठाइयो

सशस्त्रका तालिमेसँग १० हजार उठाइयो

सशस्त्र प्रहरी बल नेपालमा नौ महिना तालिम गराएपछि आयोजना गरिने एक दिनको कार्यक्रममा खाना खर्चवापत मनलाग्दी उठाइएको अर्को खबर प्राप्त भएको छ ।

सुदूर पश्चिम प्रदेशको कैलाली अन्तर्गत बनबेहडामा भएको उक्त तालिमको क्रममा झण्डै तीन सय ५० जनासँग प्रतिव्यक्ति १० हजार रुपैयाँ उठाइएको बताइएको छ । अन्यत्र पाँच हजारदेखि छ हजार रुपैयाँ उठाएर पास आउट खर्च गरिएको खबर आए पनि बनबेहडामा त्योभन्दा दोब्बर रकम उठाइएको हो ।

उक्त केन्द्रमा तालिम लिनेहरुमध्ये टिकापुर शिक्षालय,बन बेहडा शिक्षालय र बनबेडा गणका तीन सयभन्दा बढी थिए । ती सबैको पासआउट एकै ठाउँमा भएको हो ।

ती निकायको कमाण्डेन्टमा दिपेन्द्र कुँवर,वीरेन्द्र ऐरलगायत छन् । पास आउट भएको दिन परिवारका बढीमा दुई जना र आफूसहित जवानले खाएको तीन प्लेट खानाको १० हजार रुपैयाँ परेपछि अधिकांशले आश्चर्य मानेका हुन् ।

यसअघि बर्दघाट शिक्षालयमा भएको पास आउटमा भिडियो खिच्ने, म्युजिक बक्स ल्याउने,खाना खाने र घर जानलाई पुग्ने भाडासमेत गरी पाँच हजार उठाइएको थियो । त्यहाँका अधिकृतहरुले भनेका छन्, ‘त्यसरी उठाइएको रकममध्ये खर्च भएको ३२ सय रुपैयाँ मात्रै हो । बाँकी १८ सय रुपैयाँ अन्तिम दिन घर जानेबेलामा फिर्ता दिइयो ।’

विवादमा नआओस् भन्नाको लागि उक्त रकम बर्दघाट शिक्षालयका हाकिमहरुले आफ्नो संलग्नतामा नउठाएको दाबी गरेका छन् । उनीहरुले पास आउट तालिममा संलग्न सिपाहीहरुको टोली बनाएर रकम उठाइएको र खर्च गरिएकाले थोरै रकममा सबै खर्च सम्भव भएकाले विवाद नआएको बताइन्छ ।

यसअघि बाँकेको नौबस्ता तालिम शिक्षालयमा भएको भनिएको चरम ब्रम्हलुटलाई पनि अहिले त्योभन्दा पश्चिमको बनबेहडाले उछिनेको बताइँदैछ ।

गतसाता जनआस्थामा प्रकाशित ‘हाकिमले सिपाहीको गोजीमा हात हाल्दा’ शीर्षकको समाचारमा उजुरी छानबिन भएको नौबस्ता तालिम शिक्षालय र त्यहाँका प्रमुखको नाम उल्लेख थियो । सोही समाचारमा असम्बन्धित बर्दघाट शिक्षालय र शिक्षालय प्रमुखको नामसमेत जोडिँदा भ्रम पर्न गएको त्यहाँबाट हालै पास आउट भएका केही जवानले जानकारी गराएका हुन् ।

यस किसिमको पासआउट पाथीभरा झापा, बर्दिवास, ककनी, लामापाटनलगायत तालिम केन्द्रमा समेत हुने गरेको पाइन्छ । सबैतिर एकरुपता कायम गर्न पनि सशस्त्र मुख्यालयले आवश्यक छानबिन गरेर पासआउटको नाममा हुने गरेको बेथितिको अन्त्य गर्नु आवश्यक भएको आवाज त्यहिँभित्र उठ्न थालेको छ ।

टिप्पणीहरू