हेटौँडाको नगरसभाः एमालेसँग उधारो सहमतिपछि नीति तथा कार्यक्रम घोषणा

हेटौँडाको नगरसभाः एमालेसँग उधारो सहमतिपछि नीति तथा कार्यक्रम घोषणा

नेकपा एमालेका बहुसंख्यक सदस्यको उपस्थिति नरहेपछि दुई पटकसम्म रोकिएको हेटौँडा उपमहानगरपालिकाको ११ औँ नगरसभा आज स्थानीय मोटल एभोकाडो रिसोर्टमा सम्पन्न भएको छ । यसअघि रोयल पार्टी प्यालेसमा अस्ति र आज बिहान १० बजेका लागि दुईपटक सभा आह्वान भएको थियो ।

नेकपा एकीकृत समाजवादीकी मेयर मीना लामाको कार्यपालिकामामा निहीत अधिकार कटौती गर्ने संशोधन प्रस्ताव पेस गरेको एमालेले अवरोध गरेको सभा आपसी छलफलपछि अघि बढेको हो । स्रोतका अनुसार अहिलेलाई संशोधन प्रस्तावलाई थाँती राखेर सभापछि पुनः कानूनी परामर्शसमेत लिएर अघि बढ्न सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएको हो ।

सहमति नभएमा नगरसभा सञ्चालन कार्यविधिअनुसार ‘पेलेर’ अघि बढ्ने तयारी मेयर लामा नेतृत्वको गठबन्धनको थियो । कार्यविधिले पटक पटक नगरसभा मेयरको तर्फबाट आह्वान गर्दा पनि अनुपस्थित भएमा २५ प्रतिशत सदस्यलाई समेत वैधानिकता मान्ने व्यवस्था रहेको बताइएको छ । नगरसभामा एमाले एक्लैको बहुमत छ । जसका कारण कार्यपालिकामा पनि एमालेकै बहुमत छ ।

एमालेले कार्यपालिका बैठकमा मत विभाजन हुँदा मेयरसहितको बहुमतको निर्णय सदर हुने भन्ने व्यवस्थालाई संशोधन गरी ‘मेयरसहित’ हटाएर बहुमतको निर्णय मान्य हुने व्यवस्था गर्न माग गरेको छ । तर, एमालेले यसरी संशोधन माग गरिरहे पनि मेयरलाई घुर्काएर राम्रा समितिहरुमा आफ्नो उपस्थिति र सक्रियता बढाउने रणनीति लिएको बुझिएको छ ।

पटक पटक नगर सभा हुन नदिँदा जनतामाझ पार्टीप्रति नराम्रो धारणा जाने भएकाले एमालेमा पनि सभा गर्न दिने कि नदिने भन्नेबारे मत विभाजन भएको स्रोतको दाबी छ । आइतबार दिउँसो भएको नगरसभामा नगर उपप्रमुख राजेश बानियाले २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्नु भएको छ ।

टिप्पणीहरू