म्याग्दीका स्थानीय तहलाई खर्च गर्ने बाटो खुल्यो

म्याग्दीका स्थानीय तहलाई खर्च गर्ने बाटो खुल्यो

-अमृत बास्कुने

हिमाली जिल्ला म्याग्दीको एक नगरपालिका र पाँच गाउँपालिका गरी छ वटै स्थानीय तहमा नीति तथा कार्यक्रम एवम् बजेट पारित भएको छ । अस्ति जिल्लाका छ वटै स्थानीय तहले आफ्नो पालिकाको नीति तथा कार्यक्रम एवम् बजेट पारित गरेका हुन् ।

जिल्ला सदरमुकाम रहेको बेनी नगरपालिकाको पनि अस्ति नै नीति कार्यक्रम तथा बजेट पारित भएको छ । नगरपालिकाले ७३ करोड २२ लाख रुपैयाँको बजेट पारित गरेको हो । जसमा पर्यटन क्षेत्रका लागि पहिलो पटक ७४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

पश्चिम म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक विकासमा दुई करोड ५३ लाख, सामाजिक विकासमा २० करोड ९९ लाख, पूर्वाधार विकासमा १० करोड ६७ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा एक करोड ८८ लाख र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ छ करोड २७ लाख ७० हजार गरी कुल ४२ करोड ३४ लाख ६० हजारको बजेट पारित गरेको हो ।

मालिका गाउँपालिकाको गाउँसभामा उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनले चालुतर्फ २९ करोड ९५ लाख ७० हजार, पुँजीगत १८ करोड २० लाख ६६ हजार गरी कुल ४८ करोड १६ लाख ३६ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो । सभामा चालुतर्फ २९ करोड ९५ लाख ७० हजार र पुँजीगततर्फ १८ करोड २० लाख ६६ हजारको बजेट पारित भएको छ ।

धौलागिरी गाउँपालिकाको गाउँसभाबाट ४० करोड ४९ लाख ४९ हजार रुपैंयाँको बजेट पारित भएको छ । गाउँपालिकाले विपद् कोषमा ६ लाख, वडा नम्बर ६ को भवनका लागि ५० लाख, गुर्जा बृहत् खानेपानीर्लाइ ५० लाख, मुदी स्वास्थ्य चौकी भवनलाई ५० लाख, झोलुङ्गे पुल निर्माणमा ८० लाख तथा सुरक्षित नागरिक आवासको निम्ति ३३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

रघुगंगा गाउँपालिकाको गाउँसभामा ४६ करोड ८६ लाख २५ हजार रुपैयाँको बजेट पेश भएको छ । आवश्यक छलफलपछि सभाको निर्णयअनुसार बजेट पारित हुने गाउँपालिकाले जनाएको छ । स्वास्थ्य तथा शिक्षालगायतको समग्र सामाजिक विकासतर्फ २४ करोड ५९ लाख, पूर्वाधार विकासतर्फ ८ करोड ९५ लाख, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ १ करोड ७० लाख विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

अन्नपूर्ण गाउँपालिकाको गाउँसभाबाट ४९ करोड ७३ लाख ३६ हजार रुपैयाँको बजेट पारित गरिएको उक्त गाउँपालिकाकी उपाध्यक्ष दिवा पुनले बताउनुभयो । गाउँपालिकाले शिक्षातर्फ १ करोड ६५ लाख, भौतिक पूर्वाधारतर्फ सडकमा १ करोड ४४ लाख, विपद् कोषमा ९० लाख विनियोजन गरेको जनाएको छ ।

टिप्पणीहरू