ध्वनिले ठीकपार्छ महिलाका अनेक रोग

ध्वनिले ठीकपार्छ महिलाका अनेक रोग

फलामलाई जति जोडसँग बजारिन्छ उति नै त्यसबाट राम्रो आकार प्रकार निस्कन्छ । उस्तै हो मान्छेको जिन्दगी पनि । जसले जिन्दगीमा ठूलो चोट खाएको हुन्छ, त्यही चोटले उसको भविष्य दुबोझैँ मौलाउन सक्छ ।

बालापनमै पिता वियोग व्यहोरेका शान्तरन्न शाक्य हण्डर ठक्करबाट खारिँदै परम्परागत पेशालाई चर्चित ब्राण्ड व्यवसाय र सामाजिक काममा लगाउन उत्तिकै सक्रिय छन् । तर, यो उचाइसम्म पुग्दा उनले भोगेका कष्टका पहाड अजंगका छन् ।

उनले बीसौं वर्ष लगाएर बनाएको ‘ब्राण्ड’ अरुले चोरी गर्दाको हैरानी, दुःख, कष्ट र पीडा पनि असाध्य छ । जिजुबाजे र सात पुस्तादेखि नै काँसको भाँडो बनाउने पेशा । भन्छन्, जीवन नियमले कम र संयोगले बढी चल्छ ।

उनी ९ वर्षको हुँदा पति वियोगपछि यो पेशालाई आमाले निरन्तरता दिँदै आएकी हुन् । निरन्तरको त्यागका कारण हिजोका शान्तरत्न शाक्य कालान्तरमा शान्तरत्न कसाः (काँसको काम गर्ने मान्छे) बने । पेशा उही तर फेरे शैली । ०३८ सालमा ‘कसाः’लाई ब्राण्ड बनाउने अठोट गरे ।

धेरै मान्छेले अरुका सफलता मात्र देख्छन् तर ऊ सफल हुन उसले गरेका संघर्ष देख्दैनन् । परम्परागत पेशालाई आधुनिकीकरण गर्न उनले यही विषयमा सूक्ष्म अध्ययन गरे । शान्तरत्नको बाल्यकालमा उनी वा परिवारका सदस्य कोही बिरामी हुँदा पिताजीले ‘साउन्ड थेरापी’का माध्यमबाट बिरामी निको पारेको देख्थे ।

काँसको काम गर्ने भए पनि जिजुबुवा चर्चित वैद्य थिए । त्यही कुरा मगजमा क्लिक भयो अनि ‘हिलिङ’ र व्यापारलाई फ्युजन गरेर नेपाली हिमालयन ‘सिंगिङ बल’ निर्माण गर्नतिर लागे । हजुरबुबाले पूर्णिमाको रात पूजा गरेर बल बनाउने गरेको दिमागमा पुनर्ताजगी भएर आएसँगै उनी त्यही काममा होमिए ।

हजुरबुबाले दिएको सीपमा उनले थोरै पढेको ज्ञान पनि घोले ‘फुल मुन’ अर्थात् पूर्णिमाको रात मात्र तयार पारिने बल । यस्तो बल महिनामा एकपटक अर्थात् पूर्णिमाको दिन मात्र बनाइन्छ । शाक्य यही दिन आफ्नो पुख्र्यौली घर पाटनढोकामा रातभर लगाएर बल बनाउँछन् र रातभरमा २० वटा तयार पार्छन् ।

फुल मुन अर्थात् पूर्णिमाको दिन पूर्णचन्द्रको प्रकाश पर्ने गरी यस्तो बल बनाइन्छ । यसले ध्वनि साधना गर्दा लाभदायक बन्नुका साथै बजाउँदा आउने ध्वनिले मानिसमा हिलिङ पावर बढाउँछ । यस्तो बहुल विशेष गरी तान्त्रिक योग र साधनामा प्रयोग हुन्छ जसले हाम्रो शरीरको नशालाई कम्पन र झंकार दिन्छ ।

चन्द्र आकारको उक्त बलमा विशेष खालको झंकारयुक्त आवाज आउने बलको नाम जुराए ‘फुल मुन बल’ अनि ब्राण्ड बनाए ‘कसाः’ । यसरी फुल मुन बनाएर उनले पुख्र्यौली पेशा मात्र धानेका छैनन्, विभिन्न रोगको उपचारसमेत गर्दै आएका छन् ।

विशेषगरी महिनावारी हुँदा नारीमा मानसिक तनाव उत्पन्न हुने भएकाले विश्वका करिब ९० प्रतिशत नारीलाई माइग्रेनको समस्या छ, पीडितका लागि यस्तो बलको उपचार अचुक विधि मानिन्छ ।

एकै खालको समस्या भए पनि प्रत्येक व्यक्तिमा फरक फरक रक्त समूह हुने भएकाले फरक–फरक ध्वनिको प्रयोग गर्नुपर्ने बताइन्छ । अधिकांश नारीमा ए पोजिटिभ र बि पोजिटिभ रक्त समूह हुने र यस्ता नारीको उपचार गर्ने ध्वनिलाई ‘सिटोन’ भनिन्छ, सो ध्वनिले बढी लाभदायी र चाँडै असर गर्ने भएकाले यसलाई नारी ध्वनि पनि भन्न थालिएको छ ।

यसका अलावा मुख्यतः यो विधिले नशा र मानसिक रोगका बिरामीको साथै कान कराउने समस्यामा पनि उपचार गर्न सकिन्छ । औषधि खाएर वा शल्यक्रिया गरेर उपचार नहुने रोगलाई पनि निको पारिन्छ । पहिले यो उपचार विधि नेवार समुदायको पनि शाक्य, बुद्धाचार्यमा मात्र सीमित थियो ।

कतिपयले यस्तो बल विदेश (इण्डिया)बाट ल्याउन र शान्तरत्नको लोगो हालेर विदेश निर्यात गर्न थालेका छन् । यस्तो काममा हिमालयन सिंगिङ बलका सञ्चालक मंगलमान महर्जन, जुजुकाजी महर्जनहरू लागिपरेका छन् । उनीहरू दाजुभाइ हुन् ।

पाटन औद्योगिक क्षेत्रभित्र कटेज क्राफ्ट चलाएर बस्ने कल्याणकृष्ण ताम्राकार, नरदेवीका रेशम थापा मगरहरू पनि यस्तो काम गर्छन् भनिन्छ । मेसिनबाट निर्माण गरिएका यस्ता सामग्री शुद्ध धातुका हुँदैनन् । मेसिनबाट बन्ने काँसको बाटामा ध्वनि आए पनि त्यसमा कम्पन हुँदैन । उपचारका लागि कम्पन आत्यावश्यक हुुन्छ । शान्तरत्नहरूको चिन्ताचाहिँ एकातिर आफ्नो लोगो र अर्काेतिर प्राकृतिक चिकित्सा पद्धतिको बेइज्जत हुने हो कि भन्नेमा छ । यसरी अर्काेको पेटेन्ट राइटमा कब्जा गरेर जसले मन लाग्यो र जसरी मन लगायो उसरी बउल बिक्री–वितवरण हुन थालेसँगै कतै यो व्यवसाय पनि कार्पेट उद्योगजस्तै बन्ने त होइन ? भन्ने चिन्ता छ ।

नेपालमा बनाइएका यस्ता बल विश्वका विभिन्न मुलुकमा निर्यात हुन्छ, प्रतिकिलो १२ हजारदेखि २० हजारसम्ममा । विशेष गरी अध्यात्ममा चिन्तन गर्न चाहने, हाडजोर्नी, माइग्रेनजस्ता बिरामी भएका व्यक्तिले खरिद गर्छन् ‘कसाः’ ब्राण्डको फुल मुन बल । नेपालमा साउण्ड थेरापी विकासकै क्रममा रहेका कारण पनि शान्तरत्नको ८० प्रतिशत उत्पादन विदेश जान्छ ।

उनले बर्सेनि ५० लाखभन्दा माथिको कारोबार मात्र गर्दै आएका छैनन् स्वदेशमै आठ जनालाई रोजगारीसमेत दिएका छन् । तर नक्कलीहरूको भीडमा सक्कलीवालालाई टिक्न र बिक्न गाह्रो हुने अवस्था छ । भन्छन्– सत्य डग्दैन, झुट टिक्दैन । पेटेन्ट राइट नै आफैंसँग रहेका कारण बदमासी गर्नेहरूसँग मुद्दा लड्ने तयारीसमेत गर्दै छन् शाक्य ।

– प्रेम नेपाल

टिप्पणीहरू