सहकारी, किन गर्छौ मनपरी ?

सहकारी, किन गर्छौ मनपरी ?

बनेपामा मीटर ब्याजले संस्थागत रुप लिएको छ । सहकारीका सञ्चालक स्वयंले सस्तो ब्याजमा ऋण लिएर सर्वसाधारणलाई मीटर ब्याजमा लगाउने गरेको तथ्य बाहिरिएको छ ।

बनेपाको चारदोबाटो चोकस्थित शोभा साडी पसलका सञ्जय चौधरीले कारोबार गरेका मिटरब्याजीको नामावली उनैले सार्वजनिक गरेका छन् । उनी ब्याज तिर्न नसकेका कारण विस्थापित भएका छन् । ऋण तिर्न भारतमा भएको घर आईसी १ करोड २५ लाखमा बिक्री गर्दासमेत पुगेन ।

पछिल्लो समय कोरोना महामारीका कारण ब्यापार भएन । पैसा तिर्न नसकेका कारण सहकारीका सञ्चालकले पटक–पटक धम्की दिने, पसलमा ताल्चा लगाउने गरेका थिए । देशका विभिन्न स्थानमा मीटर ब्याजीलाई कारबाही गर्न शुरु गरिए पनि काभ्रेमा त्यसविरुद्ध उजुर गर्न कोही अगाडि सरेको छैन । मीटर ब्याजसँगै बनेपा र आसपासक्षेत्रमा ढुकुटी नामको लुटतन्त्र सहकारी र ब्यक्तिमा फैलिएको छ ।

शोभा साडी बुटिक कलेक्सन उनका ज्वाइँको थियो । ज्वाइँमार्फत पसल सञ्चालन गरिरहेका उनले अर्काे पसल सोही स्थान नजिकै सञ्चालनमा ल्याए । उक्त पसल चलाउन घरबेटीसँग ३० लाख लिए । २ रुपैयाँँका दरले मासिक ७० हजार ब्याज दिने सहमति थियो ।

त्यस्तै, उदय जुत्ता पसलबाट १३ रुपैयाँ ब्याजमा ३ लाख, सँगैको अर्काे जुत्ता पसलबाट १३ रुपैयाँकै दरले २ लाख, महेश कस्मेटिकबाट २ रुपैयाँका दरले ५ लाख, हरित प्रधानबाट ६ रुपैयाँमा ४ लाख, जीवन श्रेष्ठबाट ५ रुपैयाँमा ३ लाख, इच्छा साडी कलेक्सनबाट ६ रुपैयाँमा ६ लाख, अजय लामाबाट १० रुपैयाँमा १० लाख, आयाम सहकारीका सुनिल चौलागाईंबाट १४ लाख ५ रुपैयाँमा, शिशिरबाट ५ रुपैयाँमा २ लाख, बाजेको लस्सी पसलबाट ६ रुपैयाँमा ४ लाख, सुमेरु फाइनान्सबाट ५ रुपैयाँमा ५ लाख, नाम थाहा नभएका तीन जनाबाट क्रमशः २ लाख ३५ रुपैयाँ, ५ लाख ५ रुपैयाँ र २ लाख ५ रुपैयाँ मिटर ब्याजमा चार वर्षअघि लिएका थिए । कूल ऋण ९८ लाख थियो । मासिक ४ लाख ब्याज बुझाउँदा पनि सुख पाएका थिएनन् ।

केही वर्ष ब्याज तिरे । कोरोना महामारीका कारण व्यवसायमा आएको मन्दीले नियमित पैसा बुझाउन नसकेपछि सहकारी र व्यक्तिले ज्यान मार्ने धम्की दिए । केही सीप नलागेपछि तिर्न बाँकी ऋण, लिएको ऋण र ब्याजको हिसाब लेखेर फरार भए ।

उनले लेखेको पत्रमा भनिएको छ–‘पसलको घरबेटी साहुजी नमस्कार, शोभा साडी पसल सञ्जय चौधरी, मैले पसल छाड्नुको कारण यही हो । शोभा साडी बुटिक कलेक्सनका साहुजी घरबेटीको जिम्मा तपार्इंको । यो पसल बेचेर आएको पैसा लिनुस् ।’

बनेपा तथा शहरी क्षेत्रतिर सहकारीका नाममा भित्रिएको विकृति रोक्नुभन्दा पनि अगुवाहरू नै ऋण मिलाउने नाममा कमिसन लिने, एउटा सहकारीको अनियमिततामा मुछिएका व्यवस्थापकलाई अर्काे संस्था जिम्मा दिई संस्थागत अनियमिततामा लिप्त रहने गरेका छन् । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघमा सफ्टवेयरबाट अनियमितता गरेको आरोप लागेर निलम्बित भएका प्रबन्धक ज्ञानेन्द्र दाहाललाई जिल्ला सहकारी संघको प्रबन्धक बनाइएको छ ।

उनले ६९ लाख रुपैयाँ अनियमितता गरेको पुष्टि भएसँगै कारबाही गरिएको थियो । दाहाल एक्लैले तिरेको ६९ लाखलाई गुपचुप राखियो । उनै सञ्चालक अभियन्ताको रुपमा अगुवा बनिरहेका छन् । त्यस्तै युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ५ लाख रुपैयाँ अनियमितता गरेको अभियोग लागेर कारबाहीमा परेका ज्ञानमणि न्यौपानेलाई पनि जिल्ला सहकारी संघमा नियुक्त गरिएको छ ।

जिल्ला सहकारी संघ जस्तैः काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका सञ्चालकले अन्य सहकारीमार्फत ऋण मिलाएबापत १० प्रतिशत कमिसन लिन थालेका छन् । केही महिनाअघि बनेपाकै एक सहकारीबाट २ करोड ऋण उपलब्ध गराइदिएबापत सञ्चालकद्वयले १० प्रतिशत कमिसन लिएका हुन् । सहकारी नियमविपरीत बाबु अध्यक्ष, छोरा प्रबन्धक, श्रीमती सञ्चालक सदस्य छन् भने सहकारीको सचिव र प्रबन्धक पनि एउटै व्यक्ति छन् ।

टिप्पणीहरू