६ महिने तालिम केन्द्र

६ महिने तालिम केन्द्र

शेरबहादुर देउवाको वर्तमान सरकार वास्तवमा सरकार होइन, यो त सांसदहरूलाई मन्त्री कसरी बन्ने भनेर तालिम दिने तालिम केन्द्र पो हो त । हाउ टु बी अ गुड मिनिष्टर भनेर छ महिना तालिम दिने काम यो सरकारले गर्छ ।

भर्खरै मात्र ६ महिने कोर्शको एउटा ब्याच सकियो । अब छिट्टै अर्को ब्याचलाई तालिम दिने तयारी भइरहेको छ । यहाँ तालिम दिने भनेकै छ महिनाको लागि हो । ६ महिना मन्त्री बनेर सबै कुरा सिक्ने, बुझ्ने, अनुभवी भन्ने ।

अनि जम्मै कुरा जानिसकेपछि पदबाट हट्ने । केही पनि थाहा नहुञ्जेल मन्त्री बन्ने, थाहा भइसकेपछि निस्कने । तालिम भनेकै त्यही त हो नि । केही थाहा नभएको मान्छेलाई ल्याएर तालिम कक्षमा राख्ने । त्यहाँ राखेर सबै कुरा सिकाउने । सिकिसकेपछि फर्कने । सिकिसकेपछि फेरि तालिममा बस्नै परेन नि ।

अहिले सरकारको अवस्था पनि त्यही हो । प्रधानमन्त्री शेरबहादुर देउवा सरकार चलाइरहनुभएको छैन । उहाँ त तालिम केन्द्र चलाइरहनुभएको छ । आखिर उहाँ एक अनुभवी प्रशिक्षक पनि हुनुहुन्छ ।

यस्तो तालिम उहाँले धेरै पटक चलाइसक्नुभएको छ । अतः यो सरकारलाई नेपाल सरकारभन्दा पनि ‘सरकार सञ्चालनसम्बन्धी ६ महिने तालिम केन्द्र’ भन्ने नाम राखिदिए कसो होला ?

टिप्पणीहरू