बजेटवारे गण्डकीको सत्तापक्षमै गलफत्ती,बालुवाटारमा सघन वार्ता

बजेटवारे गण्डकीको सत्तापक्षमै गलफत्ती,बालुवाटारमा सघन वार्ता

गण्डकी प्रदेशमा बजेटको विषयलाई लिएर सत्तापक्षमै विवाद चर्किएको छ । सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेस र सत्ता साझेदार दोस्रो ठूलो दल माओवादी केन्द्रका मन्त्रीहरु नै बजेट निर्माणमा एकलौटी गरेको भन्दै आपसी आरोप-प्रत्यारोपमा उत्रिएपछि विवाद बढेको हो ।

गण्डकी सरकारको मुख्यमन्त्री कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल छन् भने अर्थमन्त्री रामजी बराल नेकपा माओवादी केन्द्रका हुन् । माओवादीले बजेट निर्माणमा कांग्रेसले अनावश्यक हस्तक्षेप गरेको आरोप लगाइरहेको छ । काँग्रेसले भने अर्थमन्त्रीले बजेटमा एकलौटी गरेको गुनासो पोखेको छ ।

गठबन्धनको अर्को दल जनता समाजवादी पार्टी (जसपा) ले भने मुख्यमन्त्री र अर्थमन्त्री मिलेर आफूहरुलाई कर्नरमा पारेको आरोप लगाएको छ । कांग्रेस र माओवादीले सम्हालेका मन्त्रालयलाई बढी बजेट दिएर अरुलाई कम दिएको जसपाका सांसदहरुले बताएका छन् । चालू आर्थिक वर्षभन्दा करिब ६ अर्ब बढी बजेट ल्याए पनि कतिपय मन्त्रालयलाई रकम घटाएको गुनासो उनीहरुको छ ।

गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि असार १ गते ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याएको थियो । अर्थमन्त्री बरालले चालुतर्फ १३ अर्व २६ करोेड र पुँजीगततर्फ २२ अर्व १४ करोेड बजेट सार्वजनिक गरेका थिए । तर, मन्त्रीहरु नै विवादमा लागेपछि प्रदेशसभामा पेश भएको बजेटमाथिको छलफल प्रभावित भएको छ ।

यसैबीच गण्डकीका माओवादी नेतासहित अर्थमन्त्री बराल र केही प्रदेश सांसदसहितको टोलीले काठमाडौँ आएर बजेटको विवादबारे पार्टी नेतृत्वसँग कुराकानी गरेको छ । यसवारे हिजो दिउँसो बालुवाटारमा प्रधानमन्त्री,प्रचण्ड,नारायणकाजी श्रेष्ठलगायतवीच छलफल भई मिलाएर बजेट पास गर्न निर्देशन पठाइएको छ ।

टिप्पणीहरू