मेयरको अधिकार नघटेसम्म एमालेद्वारा नगरसभा बहिष्कार

मेयरको अधिकार नघटेसम्म एमालेद्वारा नगरसभा बहिष्कार

एमालेको असहयोगका कारण स्थगित हेटौंडा उपमहानगरपालिकाको नगरसभा आज बस्दैछ । आवश्यक गणपुरक संख्या नपुगेपछि शुक्रबार स्थगित बैठक आज दिउँसो आज एक बजेका लागि तोकिएको छ ।

नगरसभामा बहुमत रहेको नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगरेपछि शुक्रबारको लागि तोकिएको नगरसभा आइतबार गर्ने गरी स्थगित भएको थियो ।

एमालेले मेयरको अधिकार कटौती गर्नुपर्ने माग राख्दै हेटौंडाको पहिलो कार्यपालिका बैठकदेखि नै सत्तारुढ गठबन्धनबाट निर्वाचित नेकपा (एकीकृत समाजवादी) की नेतृ मेयर मीनाकुमारी लामालाई असहयोग गर्दै आएको छ । बैठक सञ्चालन कार्यविधि–२०७४ को १५ (२) र १५ (३) मा रहेको व्यवस्थालाई संशोधन गर्नुपर्ने उसको माग छ ।

एमाले प्रतिनिधिले उठाउँदै आएको माग सम्बोधन गर्न मेयर लचिलो भएपछि बैठक बस्ने वातावरण बनेको उपमहानगरका प्रवक्ता सबिन न्यौपानेले बताए ।

एमालेले बैठक सन्चालन कार्यविधि संशोधन बहुमतले पारित हुनु पर्ने अडान राख्दै आएको छ । कूल ९७ नगरसभा सदस्यमध्ये नेकपा एमालेको मात्रै ५४ जना रहेका छन् । नगरसभामा बहुमत रहेको दलसँग समन्वय नै नगरी नीति तथा कार्यक्रम र बजेट तयार पारेको भन्दै एमालेले विरोध गरेको हो ।

मेयर लामाले भने जनताको हितमा भन्दा पनि मेयरको अधिकार कटौतीमै एमाले केन्द्रित भएको भन्दै आजको नगरसभामा सहभागी हुन सबैलाई अनुरोध गरेकी छन् । आफूहरु हेटौंडालाई समृद्ध बनाउन आएको भन्दै उनले हेटौंडाको विकास र हितका लागि सोही अनुसारको निर्णयसहित नीति र कार्यक्रम पास गरेर अघि बढ्न अनुरोध गरेकी छन् ।

बाग्मती प्रदेशको एक मात्रै उपमहानगरपालिका हेटौंडाले आर्थिक वर्ष ०७९/८०को लागि नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न करिब २ अर्ब ७१ करोड ७९ लाख बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।

टिप्पणीहरू