भ्रुणहत्याको बात लागेपछि सेक्युरिटी प्रेसका कार्यकारी निर्देशक अमेरिका उडे

भ्रुणहत्याको बात लागेपछि सेक्युरिटी प्रेसका कार्यकारी निर्देशक अमेरिका उडे

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा दोस्रो कार्यकालका लागि तोकिएका विवादास्पद विकल पौडेलमाथि भ्रुण हत्याको आरोप लागेको छ । विवादका बीच प्रभाव र पहुँचका आधारमा पुन: कार्यकारी निर्देशक बनेका उनीमाथि भ्रुण हत्याको बात लागेपछि नियुक्ति पाएको दुई महिना नपुग्दै अमेरिका पुगेका छन् ।

आफूभन्दा झण्डै आधा उमेरकी एक महिलासँग सहमतिमै राखेको सम्बन्ध बाहिरिने डरले सहमतिमै भ्रुण हत्या गराएको तर, अहिले महिलाले त्यसविरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिएपछि विकल रातारात अमेरिका भागेको यसबारे जानकार स्रोतले दाबी गरेको छ । साथै,विकललाई मुद्रण केन्द्रमा लैजाने सरकारको निर्णयका विरुद्ध रहेका उनका पूर्वहितैषीहरुले योजनावद्ध फसाएको पनि त्यहि स्रोतले दाबी गर्यो ।

अहिले २५ वर्ष पुगेकी ती महिलासँग ४० वर्षका विकलको सम्बन्ध दुई वर्षअघि नै टुटेको हो । तर,अहिले एकाएक भ्रुणहत्याको कुरा जोडतोडले उठ्नुमा उनका व्यावसायिक प्रतिष्पर्धीहरुले फसाएको आशंका भैरहेको स्रोत बताउँछ । ‘उनीहरुबीचको सम्बन्ध दुई वर्षअघि नै टुटेको भन्ने सुनिएको हो,तर अहिले एकाएक यो घटना बाहिर आउनुमा सायद ‘बिजनेश डिल’ हुनसक्छ’,स्रोत भन्छ, ‘यदि केटी अन्यायमा परेको भए उसले कानुनी उपचार खोज्न कसले रोकेको होला र ! ‘

दुई वर्ष पुरानो घटना बाहिर आउनुमा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीका भाइ लोकेन्द्र कार्कीको हात रहेको दुबैलाई चिन्नेहरु दाबी गर्छन् । सेनाको हतियार खरिदमा एकलौटी हालीमुहाली गर्दै आएका लोकेन्द्र र बिकलबीच उनै महिलाको कुराले सम्बन्ध बिग्रिएको र त्यसको रिस फेर्न पुरानो घटना उछालिएको पनि भनिन्छ । अझ यतिबेलै आफ्ना दाजुले उनै विकललाई कार्यकारी निर्देशक बनाएपछि ‘अपमान’ महसुस गरेका लोकेन्द्रले घटना ‘एक्स्पोज’ गरिदिएको पनि बताइन्छ । भ्रुण हत्याको आरोप लगाउने बिकलकी प्रेमिका भनिएकी ती महिलाको अहिले लोकेन्द्रसँग सघन सम्बन्ध रहेको चर्चा छ ।

आफूलाई आइटी क्षेत्रको ‘डन’ मान्ने बिकललाई सुरक्षण मुद्रण विकास समिति गठन आदेश संशोधन गरेर सञ्चार मन्त्री कार्कीले विना प्रतिस्पर्धा सिधै नियुक्ति दिलाएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाका अति विश्वासपात्र मानिने कार्कीले सुरक्षण मुन्द्रणसम्बन्धी नियम नै संशोधन गरेर विकललाई नियुक्ति दिनु र पुरानो सम्बन्ध त्यागेर बसेकी महिलाको लोकेन्द्रसँग सम्बन्ध गाँसिनुले यो घटनाले राजनीतिक रंग लिने सम्भावना पनि छ ।

विकल सुरक्षण मुद्रण खरिदसम्बन्धी अनियमितता प्रकरणमा मुछिएका विवादित पात्र हुन् । संसदको सार्वजनिक लेखा समितिले अपारदर्शी ढंगले खरीद प्रक्रिया अघि बढाएको भन्दै तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटासँगै उनीमाथि पनि छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको थियो । लेखा समितिले गरेको छानबिनपछि विकलले सुरक्षण मुद्रण खरिदमा विचौलियाको भूमिका निर्वाह गरेको तथ्य बाहिरिएको थियो ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद गर्नका स्वीस कम्पनी ‘केबीए नोटासिस’का बिचौलियासँग ७० करोडको कमिसन डिलको अडियो सार्वजनिक भएपछि बाँस्कोटा पद छोड्न बाध्य भएका थिए । बाँस्कोटाकै पालामा बिकललाई सेक्युरिटी प्रेसको कार्यकारी निर्देशक बनाइएको हो । अहिले ज्ञानेन्द्र कार्कीले उनलाई पुनर्नियुक्ति दिए । तर,यो काण्डमा मुछिएपछि नियुक्ति पाएको दुई महिनामै विकल अमेरिका पुगे । उनी अमेरिका पुगेको दुई दिनमै घटना र बिचार साप्ताहिकले यो काण्ड बाहिर ल्याएको हो ।

टिप्पणीहरू