पर्यटनमन्त्री आलेविरुध्दको मुध्दा अनिल श्रीमानले हेर्दै

पर्यटनमन्त्री आलेविरुध्दको मुध्दा अनिल श्रीमानले हेर्दै

संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेविरुध्द सर्वोच्च अदालतमा दायर भएको रिटउपर आज सुनुवाई हुने भएको छ । अस्ति शुक्रवार न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलाशमा पेशी चढेर हेर्न नभ्याइएका कारण पेशी सरेको उक्त मुध्दा आज अनिलकुमार सिन्हा श्रीमानले हेर्न लाग्नु भएको हो । अधिवक्ताद्वय किशोर पौडेल र अनुपम भट्टराईले गत असार ९ गते मन्त्री आलेविरुध्द रिट दायर गर्दै परमादेशलगायत आवश्यक उपयुक्त आदेशको माग गरेका थिए । सो रिटको सुनुवाईका लागि ६ नम्बर बेञ्चमा अनिल कुमार सिन्हाको इजलाशले सुनुवाई गर्ने भएको हो ।

मन्त्री प्रेम आलेले केही दिनअघि नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीमाथि अश्लील शब्दमा गालीगलौज गरेको रेकर्ड सार्वजनिक भएको थियो । उक्त रेकर्डमा सुनिएको कुराकानीमा प्रयोग भएका शव्दले सामाजिक मूल्य,मान्यताका साथै सामाजिक वितृष्णालाई समेत प्रोत्साहन गर्ने निश्चित रहेकाले उनको अश्लील अभिव्यक्तिले पुर्याएको क्षतिको “सोसल अडिट’ गर्न परमादेशको माग गरिएको छ । रिटमा मन्त्री आलेलाई मन्त्रीको रुपमा कामकारवाही गर्न रोक लगाउन आदेश मागिएको छ ।

टिप्पणीहरू