राष्ट्र बैंकका सुरक्षा कमाण्डर दुर्घटनामा दिवङ्गत

राष्ट्र बैंकका सुरक्षा कमाण्डर दुर्घटनामा दिवङ्गत

नेपाल राष्ट्र बैंक थापाथलीमा कार्यरत सेनाका पूर्वमेजर ध्रुव सापकोटाको सडक दुर्घटनामा निधन भएको छ । शुक्रबार काठमाडौंबाट दोलखाको कालिञ्चोक भगवती दर्शन गर्न गएका सापकोटाको घटनास्थलमै निधन भएको हो ।

सापकोटासहित अन्य तीन जना सवार उक्त सवारी साधन दुर्घटनामा उनको मात्र निधन भएको हो । गाडी चालक पूर्व लप्टन ओमबहादुर रायमाझी थिए । उनको अवस्था सामान्य भएको रहेको सर्भेलेन्स समूहका एक जना कर्मचारीले बताए ।

मन्दिर दर्शन गर्न गएको टोलीमा सापकोटाकी श्रीमती र रायमाझीकी श्रीमती पनि थिइन् । दुर्घटनामा मृतक सापकोटाकी श्रीमतीको दुवै हात भाँचिएको छ ।

दुर्घटनापछि मृतकको शव र घाइतेलाई शुक्रबार साँझ सोझै काठमाडौंस्थित त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको थियो ।

त्यसपछि शवलाई वीरेन्द्र सैनिक अस्पताल छाउनी लगेर पोष्टमार्टम गरेपछि हिजो पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । मृतक सापकोटाका तिन छोरामध्ये एक जना सेनामै क्याप्टेन छन् भने अर्को छोरा डाक्टर हुन् ।

सापकोटा र रायमाझी पल्टनमा छँदादेखि नै जोडीको रुपमा प्रख्यात थिए । उनीहरु निकै मिल्ने जोडी भएकाले अस्ति परिवारसहित मन्दिर दर्शनमा गएको बताइन्छ ।

सापकोटा पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीका काकाको छोरा हुन् । उनी पाँँच वर्षदेखि नेपाल राष्ट्र बैंकको थापाथलीस्थित कार्यालयको सुरक्षा हेर्ने टोली प्रमुख थिए । राष्ट्र बैंकमा आन्तरिक सुरक्षाको निम्ति सेनाबाट अवकाशप्राप्त कर्मचारीलाई करारमा भर्ना गरिन्छ । उक्त समूहलाई सर्भिलेन्स ग्रुप भन्ने गरिएको छ ।

यसको प्रमुखमा अवकाशप्राप्त कर्णेल हुन्छन् । उनी बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा बस्छन् । थापाथलीको भवन तीन वर्षदेखि निर्माणाधीन अवस्थामा रहेकाले सापकोटाको नेतृत्वमा थोरै संख्यामा पूर्वसैनिकहरु कार्यरत छन् । बैंकको वाह्य सुरक्षा सेनाको बहालरत हतियारधारी सैनिकहरुले गर्ने व्यवस्था छ ।

टिप्पणीहरू