नेताहरुको निवासमा बढ्दो भेटघाटसँगै लैनचौरमा पनि उत्तिकै जाम

नेताहरुको निवासमा बढ्दो भेटघाटसँगै लैनचौरमा पनि उत्तिकै जाम

समसामयिक राजनीतिक घटनाक्रममा सामान्य उतारचढावको संकेतसँगै प्रमुख दलका शीर्ष नेताहरुको निवासमा भेटघाट बाक्लिनु नियमित प्रक्रिया नै भएको छ ।

सोही क्रममा अस्ति एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित निवासमा उपमहासचिव प्रदिप ज्ञवालीसङ्ग झण्डै दुई घण्टा कुराकानी भएको छ ।

पछिल्लो समय सभामुख अग्निप्रसाद सापकोटा र उपराष्ट्रपति नन्दबहादुर पुनसँग दलका नेता तथा कार्यकर्ताले भेट्ने क्रम पनि बढेको छ । उहाँहरु दुवै जनाको लैनचौरस्थित उपराष्ट्रपति र सभामुख निवासमा गत साता धेरैवटा राजनीतिक भेटघाट भए ।

सभामुख सापकोटासँग बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले भेट गर्नुभयो । उहाँहरुबीच बिहान चिया खाने समयमा एक घण्टा कुराकानी भएको बुझिएको छ ।

सोही दिन बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहान आधा घण्टा छुट्टै भेटवार्ता भएको थियो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पुग्नुभयो । उहाँहरुबीच अस्ति मध्यान्हको समयमा भेटवार्ता भएको मन्त्री कार्की निकट स्रोतले बताएको छ ।

हिजो खुमलटारस्थित दाहाल निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र अर्थमन्त्री जनार्दन शर्माबीच बिहान चिया समयमा भेटवार्ता भएको छ । त्यसपछि अध्यक्ष दाहालसँग राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काको पनि हिजो बिहान एक घण्टा कुराकानी भएको थियो ।

दाहाल निवासमा नेता नारायणकाजी श्रेष्ठले अध्यक्षसँग हिजो बिहान आधा घण्टा भेटवार्ता गरेको अध्यक्ष दाहालको सचिवालयले बताएको छ ।

राजनीतिक घटनाक्रममा आएको उतारचढावसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा नेता सोमप्रसाद पाण्डेले हिजो बिहान आधा घण्टा कुराकानी गर्नुभएको थियो ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच हिजो अपरान्ह १५ मीनेट संक्षिप्त भेटवार्ता भएको छ । लगत्तै गृहमन्त्री बालकृष्ण खाँणले आधा घण्टा कुराकानी गर्नुभएको थियो ।

हिजाे बेलुकी बालकाेटमा एमाले अध्यक्षसँग पार्टी उपाध्यक्ष विष्णु  पाैडेलले डेढ घण्टा भेटवार्ता गर्नुभएकाे छ ।

टिप्पणीहरू