साथीकी आमा बलात्कार गर्नेलाई अदालतले छाड्यो « Jana Aastha News Online
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022

साथीकी आमा बलात्कार गर्नेलाई अदालतले छाड्यो

प्रकाशित मिति :  १० असार २०७९, शुक्रबार २०:३०


संकेतिक तस्विर

साथी नहुने मान्छे संसारमा कोही हुँदैन । हरेक मान्छेले सुख र दुःखको हरेक क्षणलाई नजिकको साथीसँग साटासाट गर्दछन् ।

विभिन्न परिस्थिति,समय र कार्यको दौरान साथीहरू बन्छन् । साथीहरू कोही अस्थायी हुन्छन् भने कोही स्थायी । साथीहरू जीवन यात्रामा बन्छन्,छुट्छन् । साथीसँग दुःख बाँड्दा आधा हुन्छ भने आनन्द दोब्बर हुन्छ । साथी अमूल्य र महत्वपूर्ण हुन्छ । तर साथी शत्रु बन्यो भने त्योभन्दा डरलाग्दो कोही हुँदैन ।

साझेदारीको व्यवसाय गर्दै गर्दा बनेको साथी व्यवसायमा खटपटको अवस्था सिर्जना भएपछि दुबै जना अलग अलग हुन्छन् । ती दुई जनाबीच विवादको निशानामा पर्छिन्,६६ वर्षीया बृध्दा आमा । ती बृध्दालाई के थाहा आफ्नै छोराको साथी जसले आफूमाथि बलात्कार गर्लान् भनेर । उनलाई थाहा हुनु त परको कुरा उनले त्यस्तो गर्लान् भनेर कहिल्यै कल्पना पनि गरेकी थिइनन् । जो आफ्नै छोरासँग साझेदारीमा व्यवसाय गर्थे । उनलाई बृध्दाले राम्रोसँग चिन्थिन् ।

साथीको नाममा कलंक भएर निस्किएका राजुले आफ्नै आमा सरहकी महिलालाई बलात्कार गरे । यो घटना रामेछाप जिल्ला, लिखु तामाकोशी गाउँपालिका वडा नम्बर १ (साबिकको दुरागाउँ गाविस– ४) सानापानीको हो ।

२०७८ जेठ २८ गते ३१ वर्षीय राजु कार्कीले ६६ वर्षीया वृद्धालाई बलात्कार गरे । साँझको समयमा वृद्धा कोठाभित्र सुतेकी थिइन् । उनी त्यो घरमा एक्लै बस्थिन् । वृद्धा सदा झैँ साँझको खाना खाएर रेडियो सुन्दै थिइन् । रेडियो सुन्दा सुन्दै कतिखेर निदाइन्,उनी आँफैले समेत पत्तो पाइनन् । ढोकामा राम्रोसँग चुुकुल लगाएकी थिइनन् । जब ढोका खुलेको आवाज आयो वृद्ध ब्युझिँइन् । उनी ब्युझिँदा राजु कार्की घरभित्र छिरिसकेका थिए ।

घरभित्र छिर्नेबित्तिकै राजुले आफूले लगाएको कालो रंगको पाइन्ट हतार–हतार खोले । त्यसपछि वृद्धाको माथि चढेर स्तन समाते । वृद्धा कराइन्, हारगुहार मागिन्, तर उनको आवाज कसैले सुनेनन् ।

उनले प्रतिवाद गर्न थालेपछि राजुले वृद्धाको छातीमा घुँडाले थिचेर चल्न दिएनन् । उनले बलात्कार गर्दै गर्दा जब बाहिर गाडीको आवाज आयो । त्यसपछि ‘अब केही भनेर कराइस् र कसैलाई केही भनिस् भने तँलाई मारिदिन्छु’ भन्दै कार्की त्यहाँबाट भागे । कसैलाई घटनाबारे सुनाए आफूलाई मारिदिने डरका कारण वृद्धाले छरछिमेक कसैलाई आफूमाथि भएको घटना बाहिर ल्याउन सकिनन् ।

घटना भएको तीन दिनपछि ती वृद्धालाई उनको छोराहरुले फोन गरे । बल्ल वृद्धाले घटनाबारे आफ्ना छोरालाई सुनाइन् । त्यसपछि उनका छोराहरुले आमा बलात्कृत भएको, त्यो पनि छोराकै साथीबाट भन्ने घटना थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय, रामेछापमा जाहेरी दिए । परिवर्तित नाम ‘लिखु तामाकोशी ए २२’ मा जाहेरी दर्ता भयो । प्रहरीले राजुलाई पक्राउ गर्यो ।

स्वाभाविक हो, बलात्कार मुद्दामा पक्राउ परेको व्यक्ति थुनामा जान्छ, सजाय पाउँछ । तर, त्यो घटनामा त्यस्ता न्यायाधीश निस्किए, जसले बलात्कारलाई यौन दुर्व्यवहार भनिदिए र बलात्कारीलाई जेलबाट मुक्त गरिदिएका छन् । जाहेरी दरखास्त, स्वास्थ्य जाँच रिपोर्ट, बुझिएका व्यक्तिहरुको कागजसहितका प्रमाणबाट राजु निर्दोष हुन् भन्ने अवस्था देखिन नआएको भन्दै जिल्ला अदालतले २०७८ असार १७ गते मुलुकी अपराधसंहिता २०७४ को ६७ अनुसार पुर्पक्षका लागि थुनामा पठायो ।

प्रहरीका अनुसार, बलात्कार अभियोगी राजु र बलात्कृत वृद्धाको छोराले केही समय गाउँमै बाख्रा पालन व्यवसायमा साझेदारी गरेका थिए । व्यवसायका क्रममा दुईजनाबीच विवाद भएपछि उनीहरु उक्त व्यवसायबाट छुट्टिएका थिए । त्यसपछि बलात्कृत वृद्धाको छोरासँगको रिसका क्रममा राजुले उनकी आमामाथि बलात्कार गरेका थिए ।

जिल्ला अदालतले पुर्पक्षका लागि जेल पठाएको छ महिनापछि न्यायाधीश बद्रीप्रसाद ओलीको इजलासले राजुलाई थुनाबाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्ने सुविधा दियो । त्यसक्रममा अदालतले उक्त मुद्दालाई यौन दुर्व्यवहारको कसुर अनुसूची १ तथा २ भित्र पर्ने नदेखिएको भन्दै व्यक्तिवादी हुने फौजदारी मुद्दा (देवानी प्रकृतिको) ठहर गर्यो । त्यसअनुसार, मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को दफा ४२ बमोजिम उक्त मुद्दालाई यौन दुर्व्यवहारको मुद्दामा परिणत गर्ने आदेश दियो ।

यसरी बलात्कार मुद्दामा बलात्कारीले मुक्ति पाउने र बलात्कृत वृद्धा पीडित नै रहने स्थिति भएपछि पीडित पक्ष मुद्दाको पुनरावेदनमा गएको छ । उच्च अदालत पाटनमा उक्त पुनरावेदन दर्ता भएको अधिवक्ता रमेश कोइरालाले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !