लवेदामा कैद नेपाली राष्ट्रियता

लवेदामा कैद नेपाली राष्ट्रियता

– रामकुमार एलन

एक दशकअघि नै राष्ट्रियता रसातलमा भासिँदै गएको लेखिएको हो । राष्ट्रियता त्यतिखेरको परिवर्तनमा पनि भारतीय राजदूत राकेश सुद, अमेरिकी राजदूत जेम्स एफ. मोरियार्टीहरूले कब्जामा लिइसकेको अनुभूत नभएको होइन, जतिखेर नेपालमा गणतन्त्रको रापताप थियो । हाम्रा नेताहरूसँग राष्ट्रियताका नाममा कार्यकर्ताले उपहार दिएको र टेलरले ननापी सिलाइदिएको दौरासुरुवाल–लवेदाबाहेक अरु केही छ भने एक थान नेपाली नागरिकता छ, त्यो पनि राहदानीले काटिसकेकाले खोस्टा हो भन्ने नेताहरूलाई परिसकेको छ ।

अर्कातिर सबैको परिवारका सन्तानका नाममा कसै न कसैको परमानेन्ट रेसिडेन्टल कार्ड भएकाले नेपालमा असुरक्षा भए वा बस्ने वातावरण नबने अख्तियारका पूर्वप्रमुख लोकमान सिंह कार्की, पूर्व प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा अझ भनौँ हाम्रै कति लेखक, पत्रकार, कलाकारजसरी राष्ट्रियता खतरामा भन्दै विदेश भासिन कुनै आइतबार छैन । देशको माया भन्ने कुरा न हुन् भन्दै हामी राष्ट्रवादी हुने होडमा उस्तै परे माइतीघर पुगेर पेटीकोटमा पनि देखिन तयारै छौँ ।

सबै यो देश चुसेर खोक्रो पार्दै विदेशिइरहेका बेला हाम्रा तीन ठूला छिमेकीलाई नेपालजस्तो सानो देश छिर्ने भोक र झाेंक चलिरहेको छ । यो भोक पूरा गर्न बेलाबखत अनेक झोंक निकालेर नेपाल छिर्र्दै उनीहरूले नेपाली अस्मिता, स्वाधीनतालाई कोक ठानेर घ्वाटघ्वाट पिइरहेका छन् । त्यसैको पछिल्लो उदाहरण हो, अमेरिकी सेनाको नेपाल प्रवेश । नेपाली सेनालाई पिँढीमा झारेर मझेरीमा आसिन तस्बिरले यसको गतिलो प्रक्षेपणसँगै राष्ट्रियताको पटाक्षेप पनि गरेको छ । यद्यपि अहिले नै अमेरिकाको विरोध गर्ने र भन्ने जमात पनि हुँदैछ मुलुकमा ।

हामी चाँडै बिर्सने र दक्षिण एसियामै धेरै खुशी हुने मनुवाको देश भनेर परिचित छौँ । जनताले चुनावमा के भन्छन्, एमसिसी पास गर्न हुँदैन भन्ने हामी हौँ । त्यतिखेर पनि भनेका थियौँ, ‘चुनाव आउन थुप्रै महिना बाँकी छ, त्यतिखेर जनताले बिर्सन्छन्, अरु त अरु नेकपा एकीकृत समाजवादीले पनि एमसिसी पास गर्न सहमति दियो भनेर एक हप्ता भाइरल हुने हो, त्यसपछि केही हुन्न ।’ नभन्दै कसैले स्थानीय तह निर्वाचनमा सोधेनन्, एमसिसी पास गर्ने राष्ट्रघातीहरूलाई भोट किन दिने भनेनन् । नेपाली जनताको उत्साहले बिर्सने शक्तिमा अरु सिमेन्ट प्लास्टर गरेको छ ।

यति मात्र होइन, स्थानीय तह निर्वाचनमा समाजवादीको एउटै मन्त्र थियो, ‘देशभर एमाले हराऊ अभियान ।’ यति हुँदाहुँदै पनि पश्चिमतिर एउटा पालिकामा एमाले र समाजवादी मिलेर जिते । चुनाव भएको १५ दिन कटेपछि जिल्ला समन्वय समितिमा धमाधम एमालेलाई साथ दिने र साथ लिने काम भइरहेको देखिन्छ । हामी चाँडै चोट, अपमान सहेर गम्लंग अंगालो हाल्न, खुशी हुन हतारिन्छौँ, यो आदिमकालदेखि अन्तरजातीय बुहारी विवाह गरेर बसेको छोरालाई लखेटेर नाति जन्मेपछि ‘ब्याजको माया’ भन्दै बुहारीलाई भान्सामा छिराउने आमाकी बहादुर छोरा जो प¥यौँ ।

प्रसंग अमेरिकी सेनाको नजोडौँ । यतिखेर अमेरिका हामीसँग राष्ट्र साझेदार कार्यक्रम (एसपीपी) लिएर आएको छ । अमेरिकालाई नेपालसँग यो ‘स्टेट पार्टनरसिप प्रोग्राम’ किन जरुरी परेछ ? यो भनेको के हो ? सर्सती पढियो । अमेरिकाले चाहेको बेला हाम्रा स्थानीय तहका जग्गा, ब्यारेक, हिमाली बस्ती जताततैै ‘चरिचरण’मा अवरोध नगर्न भनेको रहेछ । नेपाललाई पनि अमेरिकामा यही हैसियत दिने भनेर कतै भनिएको रहेनछ ।

९० भन्दा बढी देशमा यसरी नै छिरेको अमेरिकाले कतै पनि त्यहाँको नागरिकलाई फुत्त लगेर अमेरिकाको ब्यारेकमा ‘गणपति’ या राजनीतिक दलमा ‘मिस्टर प्रेसिडेन्ट’ र सिनेटमा सिनेटर अथवा कुनै चर्चामा ‘फादर’ बनाएको पढ्न पाइएको छैन । बस, ऊ मनलाग्दी छिरेर अरुको देशमा ‘साझेदार कार्यक्रम’ गरेर फर्कँदासम्म प्रश्न गर्न नपाइने सम्झौताहरूको नेपाली संस्करणमा उल्लेख छ ।

यसअघि एमसिसी नेपालका लागि ‘हितकर’ भन्दै राष्ट्रियताको बिगुल फुक्ने ठूला मिडियाले पनि टिभिसी बजाएर आफ्नो व्यापारिक करियर ‘स्वस्थकर’ बनाएकै हो । अब फेरि केही मिडिया र मिडियापर्सनले यो एसपीपीलाई गजबको भनेर लेख्ने, भन्ने, भनाउने, सुनाउनेछन् । केहीलाई यो फलिफापकै विषय हुनेछ । हाम्रा हिमाली बस्ती, ब्यारेक, गाउँशहर, सडक, विद्युत प्रसारण लाइनहरूमा अमेरिकाको कब्जालाई हामीले टुलुटुलु हेरेर ‘सयौँ थुंगा फूलका हामी एउटै माला नेपाली’ केही दशक गाइरहनेछौँ ।

उ हाम्रो हिमाली भेगमा चौँरी चराउन आएको पनि होइन, त्यहाँबाट परसम्म हाम्रो उत्तरी छिमेकी चीनको ‘कासन’ हेर्न उदत छ भन्ने कुरा केपी ओली प्रधानमन्त्री हुँदाताका भारतीय जासुस संयन्त्र प्रमुख सामन्त गोयल राष्ट्रपतिको हेलिकोप्टरमा सिमानाकामा हवाई निरीक्षणमा गएकोबाट प्रष्टै छ । यति नबुझ्ने नेपाली कमै होलान्, भला नबोल्लान् ।

चीन हाम्रो मार्ग हुँदै युरोप जान बेल्ट एण्ड रोड इनिसियटिभबाट लाभ खोज्दैछ । भारत आफ्ना करोडौँ काकाकुल जनतालाई नेपाली नदीको पानी लगेर प्यास मेटाउन बहाना गरिरहेको छ । रह्यो हिमाली नाका, त्यहाँ पनि अमेरिका आएर चीनसँग पौँठेजोरीका लागि अभ्यास गर्न तयार छ । युरोपेली मुलुकहरू र मुस्लिम मुलुकहरूको अभाव र गरिबीलाई नियन्त्रणमा लिएर शक्ति आर्जन गरेको अमेरिका अब नेपालको सम्पदा, निधि, स्वाधिनतामा आफ्नो उपस्थिति जनाउन चाहन्छ ।

यतिखेर हिमाल यसकारण पनि रोजाइमा परेको छ कि, त्यहाँका जनता हत्पत्ति विरोध जाउँदैनन् । त्यसैले त्यहीँबाट छिरेर उ स्वार्थ पूरा गर्न लागेको देखिन्छ । तराईमा भारतले खेलिसकेको छ । पहाडमा युरोयियन एजेन्सीहरूले जातको आगो झोसिसकेका छन् । शान्त रहेको हिमालमा अमेरिका नै प्रवेश गर्न ‘राष्ट्र साझेदार कार्यक्रम’ उसले ललिपप बनाएको छ ।

अब पनि नबोल्ने, नलेख्ने हो भने फेरि पालो आउने छैन । यो एउटा राष्ट्रघातमा सबैको साथ छ कि भन्ने देखिन्छ । कम्तीमा देशमै भविष्य खोज्दाखोज्दै कुम खस्लान्, गोली खाइएला, घाइते भइएला । तर बोल्ने, लेख्ने बेला आयो । दलहरू, गर्न खोजेको के हो ? घोषणापत्रमा कतै नभएको कामकुरा किन हुँदैछ ? लाजघिन पचाएर दौरासुरुवालमा मात्र राष्ट्रवादी देखिएर किन देशको अस्मिता अरुलाई सुम्पने प्रयास भइरहेको छ ?

                                                                                                                                                                        [email protected]

टिप्पणीहरू