समाजमा डरलाग्दोसँग फैलँदो छ सम्बन्धविच्छेद

समाजमा डरलाग्दोसँग फैलँदो छ सम्बन्धविच्छेद

पूर्वीय समाजमा विवाहलाई दुई परिवारबीचको पवित्र सम्बन्ध भनेर व्याख्या गरिन्छ । तर, सात जन्मको साथ मानिने पतिपत्नीको सम्बन्धकै पूर्वपरिभाषा फेर्ने बेला आएको छ । सात जन्मको त कुरै छोडौं एक जन्म र ७ वर्ष पनि टिक्न नसक्ने अवस्थामा नेपाली जोडीहरू पुगेका छन् ।

पश्चिमा संस्कृतिको देखासिकी र सानातिना मनमुटावमै सम्बन्ध छुट्ने गरेको पाइएको छ । लागुऔषध सेवन, गरिबी, असीमित आकांक्षा र मानसिक अक्षमता पनि सम्बन्धविच्छेदको कारण हो ।

वैदेशिक रोजगारीले पनि सम्बन्धविच्छेदलाई बढाउँदै लगेको पाइन्छ । अंग्रेजीमा ‘डिभोर्स’ भनिने सामान्य शब्दको नकारात्मक र सकारात्मक पाटा भए पनि हाम्रो समाजलाई यसले विकृतितिर उन्मुख गराइरहेको छ ।

बाटो हिँड्दाहिँड्दै प्रेम बस्ने र छिनमै सारा मर्यादा तोडेर शरीर सुम्पने प्रवृत्तिले पनि सम्बन्धविच्छेदलाई बल दिइरहेको छ । परिवार र जीवनको अर्थ नबुझी विवाह बन्धनमा बाँधिनु सम्बन्धविच्छेदको अर्को कारण हो । हतारमा विवाह गर्नु र पछि पछुताउनुको परिणाम हो, सम्बन्धविच्छेद ।

पहिले घरपरिवारले नै केटाकेटी खोजेर विवाह गरिदिने चलन थियो र अभिभावकको इज्जतका खातिर पीडा दबाएर बसिन्थ्यो । अहिले शहरिया युवायुवती स्वयं आत्मनिर्भर बनेको स्थिति छ । छुट्नलाई अहिले त कानुन पनि सजिलो छ । मुलुकी देवानी संहिताको परिच्छेद ३, दफा ९३ मा पति पत्नीले चाहेमा जहिलेसुकै सम्बन्धविच्छेद गर्नसक्ने उल्लेख छ ।

तेस्रो व्यक्तिसँग यौनसम्बन्ध राखेको ठहरिएमा पनि सम्बन्धविच्छेद हुनसक्छ । अंगभंग हुने गरी कुटेमा वा अरु कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको काम वा जाल प्रपञ्च गरेमा सम्बन्धविच्छेद गर्न पाइन्छ । पतिले जबरजस्ती करणी गरेमा समेत पत्नीले सम्बन्धविच्छेदको बाटो रोज्न सक्छिन् ।

कानुनले दिएको सम्बन्धविच्छेद गर्ने हकअधिकारको दुरुपयोगसमेत हुने गरेको पाइन्छ । वैदेशिक रोजगारीमा गएका श्रीमान्को आँखा छलेर अर्कैसँग लागी छोडपत्र भएका घटना पनि उल्लेखनीय छन् । यता, श्रीमान्ले पैसा हिनामिना गरेको आरोप लगाएपछि पनि खान–लाउन दिएन भन्दै सम्बन्धविच्छेद गर्न खोजिएको पाइन्छ ।

पुरुषहरू श्रीमती हुँदाहुँदै अर्की खोजेर हिँड्नाले सम्बन्ध तहसनहस बनेको छ । अल्लारेपन र उत्ताउलोपनले समेत छोडपत्र गर्न बाध्य बनाउने जानकारहरूको भनाइ छ । सामाजिक सञ्जालले पनि दाम्यत्य जीवनमा पहिरो ल्याएको छ । नचिनेकोसँग फेसबुकमा मित्रता गाँस्दा, जथाभावी लाइक र कमेण्ट गर्नाले पतिपत्नीमा शंका पैदा गरिदिएको छ ।

सम्बन्ध जोड्नका लागि बनेको हो तोड्नका निम्ति होइन भन्ने कुरा बिर्सिइएको छ । लिभिङ टुगेदरको चलन आम छ । दोलखा जिल्ला अदालत मात्रैको तथ्यांक हेर्ने हो भने पनि सम्बन्धविच्छेदको पारो उक्लिँदो छ । त्यहाँ २०७५ भदौ ६ गतेदेखि २०७८ चैत २४ गतेबीच ७० वटा सम्बन्धविच्छेदका मुद्दाको छिनोफानो भएको छ ।

२०७५ मा नौ वटा मुद्दा फैसला भएको थियो । त्यसैगरी, ०७६ मा १८, ०७७ मा २७ र ०७८ मा १६ जनाको सम्बन्धविच्छेद भएको छ । घरायसी झैझगडा र सामान्य मनमुटावले गर्दा सम्बन्धविच्छेदको क्रम बढेको जिल्ला अदालतकी शाखा अधिकृत राधा भुसाल बताउँछिन् । खान, लाउन नदिएको भन्दै सम्बन्धविच्छेद गर्ने क्रम बढ्दो रहेको उनको भनाइ छ ।

उनका अनुसार सम्बन्धविच्छेद गर्न चाहनेमा पुरुषभन्दा महिलाको संख्या धेरै छ । हिजोको दिनमा शोषण र दमन खेपिरहेको भएर पनि महिलाले स्वतन्त्रता खोजेको अधिवक्ता विष्णुप्रसाद तिमिल्सनाको बुझाइ छ ।

महिलामा आफैं केही गरेर खान सक्छु भन्ने क्षमताको विकास भएकाले पनि सम्बन्धविच्छेद बढेको उनी बताउँछन् । श्रीमान् टाढा रहेको बेला जसले माया दियो उसैतिर लाग्ने भएकाले पनि दाम्पत्य जीवनमा समस्या आएको उनको बुझाइ छ ।

उनका अनुसार पैसा, सामाजिक सञ्जाल, वैदेशिक रोजगारी, मायाको अभाव, विश्वसनीयतामा कमीलगायत छोडपत्रका कारण हुन् । छोडपत्र बाबुआमासँग मात्र नभई छोराछोरीसँग पनि प्रत्यक्ष रुपमा जोडिएको हुन्छ । सम्बन्धविच्छेद गरेपछि बाबुआमाले त सुखको सास फेर्न पाउलान् तर बालबच्चाको भने बिचल्ली हुन्छ ।

जन्मदाताकै बाटो भिन्नभिन्न भएपछि बालबच्चाले निकै दुःख र हैरानीको सामना गर्नुपर्ने हुन्छ । कानुनमा १८ वर्षसम्म बालबच्चा आमासँग रहने व्यवस्था छ । त्यसपछि ऊ जोसँग बस्न चाहन्छ, त्यो छुट्याउने उसको अधिकारभित्र पर्छ । तर, जुनै पनि बालबच्चालाई पढाइ पूरा हुनका निम्ति बाबुआमा दुवैको माया सराबरी नै चाहिन्छ ।

टिप्पणीहरू