‘बलात्कारी’ माननीयलाई एकमुष्ट तलब

‘बलात्कारी’ माननीयलाई एकमुष्ट तलब

एकातिर कोही बोलेकै कारण कारवाहीको फन्दामा पारिँदै छन्, अर्कातिर बलात्कारजस्तो गम्भीर कसुरको मुद्दा विचाराधीन रहेका माननीयलाई एकमुष्ट तलब दिने चटारो छ ।

घनश्याम भुसालले स्थानीय निर्वाचनमा एमाले पराजयको कारक अध्यक्ष केपी ओली नै हुन् भन्ने अभिव्यक्ति दिएबापत उनलाई पार्टीबाट कत्लेआम गर्न खोजिएकै बेला बलात्कार अभियोगी मुगुका सांसद मोहन बानियाँलाई भने निलम्बन अवधिको तलब एकमुष्ट भुक्तानी दिनका लागि ओलीकै सचिवालय सक्रिय भएको छ । थुनामा रहेका अरू माननीयका हकमा मुद्दा किनारा नलागुञ्जेल संसदबाट कुनै प्रकारको भत्ता नदिनु भन्ने व्यवस्था छ ।

तर, नियमावलीमा तलब नलेखिएको भन्दै थुनामा बसेको र धरौटीमा छुटेपछिको अवधिको तलब एकमुष्ट माग गर्दै सांसद बानियाँले संसद सचिवालयमा निवेदन दिएका छन् । पारिश्रमिकसम्बन्धी विषय संसदका महासचिवले निर्णय गर्नुपर्ने हो ।

तर, निवेदन दिएको लामो समयसम्म निर्णय नलिइएपछि ओलीकै सचिवालयले ‘छिटो टुंग्याउन’ आग्रह गरेको संसद् सचिवालय स्रोतले जनाएको छ । र, आज–भोलिमै तलब निकासाको प्रक्रिया शुरु हुँदै छ ।

सांसद पार्वत गुरुङ र प्रमोद साह पनि अदालतको तारेखमा छन् । बानियाँविरुद्ध अहिले फेरि जुम्लाकी उनै पीडित शिक्षिकाले ठगी र कीर्तेमा मुद्दा हालेकी छन् । प्रहरी बृत्त, नयाँ बानेश्वर (तीनकुने) मा उजुर छ । त्यही कार्यालयको क्षेत्राधिकारमा पर्ने अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद चल्छ ।

मोहन बानियाँ त्यहाँ दिनहुँ जान्छन् र चर्काचर्का कुरा गर्छन् । तर, प्रहरीचाहिँ मान्छे फेला परेन भनेर पन्छिरहेको छ । यस्तो भएपछि संसदका केही कर्मचारीले बानियाँलाई सुझाव दिएका छन्, ‘संसदमा यसरी उफ्री–उफ्री नबोल्नुस्, झन् बदनाम हुन्छ !’ बानियाँले जवाफ दिने गरेका छन्, ‘अहिले त धेरै कम गरेँ नि !’

उता, सभामुख अग्नीप्रसाद सापकोटा १४ गते अजरबैजान जाने कार्यक्रम तय भएको छ । यसअघि कृष्णबहादुर महरा कजाकस्तान गएर फर्किएपछि काण्डमा पर्नुभएको थियो । सापकोटाचाहिँ चार दिनका लागि त्यतै जान लाग्नुभएको छ । त्यसअवधीमा संसदको कारवाही स्थगन हुने पक्का छ ।

अब संसदमा नागरिकता विधेयक अगाडि बढाइएपछि प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाविरुद्धको महाभियोग प्रस्ताव अगाडि बढाउने चटारो छ । त्यसबारे एमाले सांसदहरूले अनौपचारिक रूपमा कुरा ल्याउँदै छन् । सत्तापक्ष भने त्यसलाई लन्ठ्याएर चुनावमा जाने सोचमा देखिन्छ ।

टिप्पणीहरू