अमेरिकी जर्नेलले देखाइदिएको चपाउने दाँत

अमेरिकी जर्नेलले देखाइदिएको चपाउने दाँत

महाभारतमा हस्तिनापुरमाथि कब्जा जमाएका कौरवका सामुन्ने दुई वटा विकल्प थिए । पहिलो : विनाश र दोस्रो पनि विनाश । कृष्णको कुरा सुने कौरवको क्षय निश्चित थियो र नसुने पनि विनाश निश्चितै थियो । महाभारतमा दुर्योधन र उनले नेतृत्व गरेको कौरवगण त्यस्ता कठपुतली थिए जो शकुनीको औंलाको चालमा नाच्थे । दुर्योधन शकुनीको पासामा नाच्दा पतन निश्चित थियो र शकुनीको इच्छाबाहिर जाँदा पनि पतन निश्चितै थियो । यसरी हेर्दा महाभारतमा कृष्ण र शकुनी दुबैले अलग–अलग भूमिकाबाट कौरवहरूको विपक्षमा सुदृढ पर्खाल बनाइरहेका थिए ।

शिविर एउटै भए पनि महाभारतमा भीष्म, द्रोण, विदुरहरूलाई थाहा थियो कसको भविष्य कसको हातमा छ भनेर । यसो भनौं, फर्सीमा खुकुरी गाडिए पनि, खुकुरीमा फर्सी गाडिए पनि काटिने त फर्सी नै हो । फर्सीको नियति र प्रारब्ध खुकरीसँग काटिनु लेखिएको हुन्छ भने त्यो कहिले र कहाँ काटिन्छ भनेर खोजी गर्नुको महत्व गौण रहन्छ । किनकि ढिलो–चाँडो त्यो काटिन्छ र खुकुरीको धारबाटै त्यो काटिन्छ भन्ने लिखत जन्मजात तयार भइसकेको छ ।

मिलेनियम च्यालेञ्ज कर्पोरेशनको नाममा यो वा त्यो रूपबाट सामाजिक तहमा मतभेद उत्पन्न भए पनि उक्त परियोजना निश्चित उद्देश्यअनुरूप तयार भएको हो भन्ने थाहा भएकालाई नेपालको राजनीतिक रोइलो नखरा र नौटंकी थियो । झलनाथ खनालहरूले सर्प पालेर विषको खेती शुरु नगरे पनि तथाकथित समितिको नाममा उनले पञ्चायतकालीन विष ओकलेको कुरा बुझ्नेहरूका लागि अनौठो थिएन । खैर, हामीले केही समयअघि मात्र व्याख्यात्मक टिप्पणीको नाममा एमसीसीको महाभारतलाई पार लगायौं । ‘हुँदै हुन्न, छुनै हुन्न’ भन्ने गणहरूको लचकता निहुरिँदै निहुरिँदै धनुष्टंकारावस्थामा पुगेपछि एमसीसी फत्ते भयो । अफसोच, बदमासहरूले उक्त परियोजना केही होइन भनिदिएको भए सहज हुने थियो तर एमसीसीको नाममा अनेक स्वैरकल्पना बुनेर उनीहरूले ‘महाकाली सन्धिको नयाँ संस्करण’ बनाई पिलन्धरेपन देखाए ।

बाहिर हुँदै हुन्न, छुँदै छुन्न भने पनि तामसको लतमा परेपछि दुव्र्यसनीले नशा छाड्न सक्दैन । कुनै बेला अरुले नसुन्ने गरी आफ्ना कार्यकर्तालाई ‘एमसीसी मूर्दावाद !’ नभन्न निर्देशन दिने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लुसुलुसु सहमतिको कुम हल्लाउन पुगेकै हुन् । संसदमा देव गुरुङ कराउनु र नकराउनुको अर्थ हिजो थिएन र आज पनि त्यो अर्थ प्रधान हुने वा नहुने विषयमा बहसको औचित्य छैन ।

एमालेतर्फबाट भीम रावलले प्रतिनिधित्व गर्ने राष्ट्रवाद र माओवादी केन्द्रबाट देव गुरुङले मुखर गर्ने राष्ट्रवादको स्वर समवेत देखिए पनि नाभीको नशा भेटिएपछि सबै राष्ट्रवादको मूल जरो ‘आखिर श्रीकृष्ण रहेछ एक’ भन्नेमा पुगेर विसर्जन हुन्छ । यो कित्ताभन्दा एक बित्ता माथि छन् नेपाली कांग्रेसका गगन थापा र विश्वप्रकाश शर्माहरू जसले आफ्नो भूमिका पब्लिक सेन्टिमेन्ट रिजर्भमा राख्न भरसक यत्न गरिरहेका भेटिन्छन् । र, उनीहरू आफ्नो मिसनमा भनेजसरी नै सफल देखिएका छन् ।

कतिपयलाई सन्देह हुन सक्छ एशिया–प्रशान्त क्षेत्रभित्र दुई धुरीका गैरसरकारी संस्था आर्थिक, सामाजिक, साँस्कृतिक, राजनीतिक, सैनिक, मनोवैज्ञानिक, विकास, पूर्वाधारका नाममा समानान्तर संघर्ष चलाइरहेका छन् । एउटा धुरीको नेतृत्व अमेरिकाले गर्छ जसले शीतयुद्धताकादेखि नै त्यसका लागि गठबन्धन बनाएर एशिया–प्रशान्त क्षेत्रमा आफ्नो प्रभुत्व स्थापित गर्न मरिमेटेर लागिरहेको छ । अर्को धुरीमा चीन छ जो विश्वको नयाँ महाशक्ति बन्ने दौडमा छ जसका लागि एशिया–प्रशान्त क्षेत्र आधार र ट्रान्जिट दुबै बनाउनु उत्तिकै आवश्यक छ । अमेरिकाले यही भूगोललाई एशियाबाट हिन्द–प्रशान्त बनाए पनि यो भूराजनीतिको तहमा शान्त र स्थिर छैन ।

अमेरिकाले नेतृत्व गर्ने एशिया–प्रशान्त आर्थिक परिषद् वा एशिया प्रशान्त आर्थिक कोअपरेशन भनियोस् वा चीनले नेतृत्व गर्ने एशिया प्यासिफिक एक्सचेञ्ज एण्ड कोअपरेशन फाउण्डेशन भन्नुस् दुबैको स्वार्थ एउटै हो आफूअनुकूल राष्ट्रहरूमा ध्रुवीकरण ल्याउनु र स्वार्थअनुकूल परिस्थति निर्माण गर्नु । १२ वर्षअगाडि यही एपेक फाउण्डेशनको झोलामा सहअध्यक्षको प्रमाणपत्र बोकेर फर्केका पुष्पकमल दाहाल प्रचण्ड झण्डैझण्डै राजनीतिको दर्शकदीर्घामा बसेर खेल हेर्नुपर्ने अवस्थामा पुगेका थिए । त्यसैले व्याख्यात्मक टिप्पणीको सहारामा उनलाई भालुको कम्पट पार लगाउनपर्ने परिस्थति तयार भयो ।

तीन खर्बको परियोजनाबाट ५५ अर्बको परियोजनामा कुम र मुन्टो हल्लाउनुको अर्थ र औचित्य १२ वर्षअघिको मलेसिया र ११ वर्षअघिको सिंगापुर भ्रमणबाट पुष्पकमल दाहाल प्रचण्डले प्राप्त गरेको उपलब्धिसँग तौल गर्न खोजियो भने हिजोआज बहसको केन्द्रमा आइपुगेको स्टेट पार्टनरसिप प्रोग्रामको पनि नाडी नाप्न सकिन्छ ।

स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को विषयमा नेपाली सेनाको नाममा आएको विज्ञप्ति पनि चर्चामा छ । तर, धेरैलाई विपद् व्यवस्थापन तथा मानवीय सहायता र ‘जोइन्ट इन्टेलिजेन्स अपरेशन’ अलगअलग लाग्छ भने त्यो भ्रमबाट मुक्त हुनपर्छ । किनकि, यी दुवै इण्डो प्यासिफिक कमाण्डभित्रकै अंग हुन् । ढाँटेको कुरा काटे पनि मिल्दैन भन्ने नेपाली लोकोक्ति छ ।

नेपाली सेनाले मानवीय सहायताको रागभित्र आफ्नै चुल्होमा खुर्सानी खन्याइरहेको दृश्य बाहिरबाट पनि देख्न सकिने भइसकेको छ । त्यसलाई जनरल फ्लेनको भ्रमणले नंग्याइदिएको मात्र हो । यही महिनाको पहिलो हप्ता थाइल्याण्डको बैंककमा इण्डो प्यासिफिक कमाण्डको नेतृत्वअन्तर्गत जोइन्ट भिजन स्टेटमेन्टमा हस्ताक्षर भयो ।

त्यही हप्ता सिंगापुरमा सांग्रिला डाइलग आयोजना भयो । मलेसियामा स्थलसेनाको संयुक्त सैन्य अभ्यास भयो र त्यहाँका सांसद तथा मन्त्री हिसामुद्दिन हुसेनले नेपालका प्रदीप ज्ञवाली, गगन थापा र प्रचण्डहरूले जसरी हर्षबढाइँका सूचना एक सय बीस शब्दमा छरिरहे । अमेरिकाको हवाईमा मुख्यालय रहेको उक्त कमाण्डका प्रमुख जोन एक्विलिनो जसरी फिलिपिन्सदेखि बैंककसम्म छाइरहेका थिए भारत, नेपाललगायतका देशमा जनरल फ्लेन छाइरहे । बहसका कोण अनेक होलान् तर यी दुबै दौडको लक्ष्य एउटै हो, उद्देश्य एउटै हो अर्थात् मिसन एउटै हो। र, एसपीपी त्यही दौडको नयाँ निशाना हो ।

के भन्छन् फ्लेन ?

‘यो अद्वितीय योजनाको लक्ष्य प्राप्त गर्न हामी दुई समानान्तर प्रयासमा सफल भइरहेका छौं जसको तेस्रो कार्यक्रम भर्खरै सम्पन्न भइसकेको छ । पहिलो, यो आफैंमा युद्ध खेल हो जहाँ इकाई, संरचना र अपरेशन लागू गर्ने क्षमताको विषय छ । यहाँ क्रिया, प्रतिक्रियाहरू, वाद र प्रतिवादहरूपछि मात्र गम्भीर प्रतिफल प्राप्त हुन्छ । र, यो विशिष्ट युद्ध खेलको प्रयासमा हामी सही दिशामा गइरहेका छौं । दोस्रो, सैन्य उपकरण एवम् सूचनाको आदानप्रदानका लागि आधुनिक क्षमताको संयुक्त प्रयास सान्दर्भिक देखिएका छन् ।

यो दोस्रो समानान्तर प्रयासमा विज्ञ, प्राज्ञ, अनुसन्धानकर्मी र विशिष्ट नेताहरूसँगको गोष्ठी, संगोष्ठीहरूबाट अपरेशन सञ्चालनमा आउन सक्ने वाधा, अवरोध र तिनको हलबारे गम्भीर छलफल भएको छ । माथिका दुई समानान्तर उपायको प्रयोगको तरिका आफैंमा युद्धको एउटा तत्व हो र यो वार गेमको नवीन र सिर्जनात्मक प्रयोग र परीक्षण दुबै हो । भित्रबाट सोच्ने र बाहिरबाट लागू गर्ने यो उपाय अन्ततः उपलब्धिमा गएर टुंगिन्छ भन्ने लाग्छ ।’

माथिको भनाइ भर्खरै भारत र नेपालको भ्रमण गरेका एकजना अमेरिकी जनरल चाल्र्स फ्लेनले गत महिना भएको खुल्ला र स्वतन्त्र इण्डो प्यासिफिक क्षेत्रका लागि आयोजित एउटा कार्यक्रममा अभिव्यक्त गरेको विचारको भावानुवाद हो । सैन्य क्षेत्रमा अमेरिकी सहयोगी र साझेदारहरूको संयुक्त बल सुदृढ गराउने अभ्यासमा दृढ रहेको भन्दै फ्लेनले हिन्द प्रशान्त क्षेत्रलाई अमेरिकी योजनाको परीक्षा र परीक्षण दुबै रहेको उल्लेख गरेका थिए ।

फ्लेन तिनै जनरल हुन् जसले नेपालअघि भएको भारत भ्रमणमा भारत–चीन सम्बन्धबारे उत्तेजक टिप्पणी गरेका थिए । उनले भारत–चीन सीमामा चिनियाँ सैनिकको गतिविधि ‘आँखा सामुन्ने’ भएको र त्यो ‘खतराको घण्टी’ रहेको बताएका थिए । हिन्दुस्तान टाइम्सको जुन ८ को संस्करण र द वायरको जुन १० को संस्करणमा जनरल फ्लेनको भारत भ्रमणका सामाग्रीले भन्छ– ओहोदा सम्हालेको एक वर्षमा फ्लेनले इण्डो प्यासिफिक मुद्दालाई बाजले जसरी बेगमा कुदाइरहेका छन् ।

फ्लेनको टिप्पणीबारे चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिझियानको प्रतिक्रिया र भारतस्थित चिनियाँ दूतावासका प्रवक्ता वांग सियानोजियानको कूटनीतिक आपत्ति फ्लेनको अभिव्यक्तिका साइडइफेक्टहरू थिए । जनरल फ्लेनको नेपाल भ्रमणले एसपीपीको मुद्दामा नेपाली सेनालाई समेत विवाद र सन्देहको खाडलको डिलमा उभ्याइदिएको छ । तर, नेपाली सेनाको नेतृत्व परिवर्तनसँगै एमसीसी पनि पारित हुन्छ भनेर दावी गर्नेहरूका लागि एसपीपीमा नेपाली सेनाले स्वाभिमानको वीणा बजाइरहनु पनि उत्तिकै नाजायज छ ।

खाडलमा पर्न लागेपछि अनैतिक नेताहरूको थाप्लोमा मुद्दा फालिदिनुको औचित्य पनि सेनाको हितमा रहन्न । बहुराष्ट्रिय सेनाको अन्तर्राष्ट्रिय सञ्जालमा प्रवेश गर्ने नेपाली सेनाको रहर आजको होइन, हिजैदेखिको हो । कम्तीमा दुई वर्षभित्र एकीकृत सैन्य सञ्जाल निर्माणको द्वार खोल्ने आधार तयार गर्न पनि एसपीपी त चाहिन्छ चाहिन्छ भन्ने कुरा बालुवाटार, खुमलटार, बालकोट, भद्रकाली सबैलाई थाहा छ । किनकि, को कति पानीमा छन् भन्ने कुरा पनि हिजै देखिएको हो र कस–कसको देखाउने दाँत र चपाउने दाँत छन् भनेर पनि हिजै देखिइसकेको छ । महाभारतमा जस्तै शिविर भिन्न भएर केही हुने होइन भीष्म, शकुनी, द्रोण, बिदुरहरूलाई थाहा थियो – हतियार बिसाएर पनि कृष्णले युद्ध जित्छन् ।

टिप्पणीहरू