गोली हान्ने,गर्धन छिनाल्ने र मासु पोल्ने कविता

गोली हान्ने,गर्धन छिनाल्ने र मासु पोल्ने कविता

नेपाल प्रज्ञा–प्रतिष्ठानको ६५ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार प्रतिष्ठानमा आयोजित ‘कविता महोत्सव’को आकर्षक क्षण थियो कवि जसराज किराँतीको कविता, जुन कुनै मिडिया पनि आएन । अतिथि कविका रूपमा बोलाइएका किराँतीले ‘सङ्कल्प’ कविता पढ्दै धेरै थरीका अपराधीलाई गोली हान्ने, खुकुरी अर्चापेर गर्धन छिनाल्ने र तिनका मासु पोल्ने बताएर वाहवाही पाए । उमेरले ७७ कटेका पुड्कापुड्का यी कविको ‘अतिथि कविता वाचन’मा रोक्न सक्ने ताकत कसैको थिएन । धन्न प्रधानमन्त्री र संस्कृतिमन्त्री त्यहाँ थिएनन्, नत्र ककसको जागिर जान्थ्यो, जान्थ्यो ।

खोटाङ, बुइपाका यी कवि भन्दै थिए–

मैले यो जीवनको निम्ति
आगोमा पनि हाम्फालेको छु
बाढीभित्र पनि दगुरेको छ

कति चोटि त रुनसम्म पनि पाइन
जति सहनु थियो, सहेकै थिएँ
अब म सहन्न–जे होला होला
बन्दुकमा गोली भर्न अब थाल्छु म
हेरी मात्र राख,
ककसको छातीमा गोली हान्छु म

मञ्चमा कविता सुनिरहेका सबै कालानीला भइसकेका थिए भने दर्शकदीर्घाबाट वाहवाह र ताली आइरहेको थियो । एकेडेमीकै स्वर्णाेत्सवका अवसरमा रु एक लाख पुरस्कार पाइसकेका यी कम्युनिष्ट कवि किन रोकिन्थे–
सपनाका मसिना भुवादार मेरा पालुवाहरू
टिप्दै चरम चरम खानेहरू
सबैलाई चिन्छु म
…मेरो आकाश तानेर
आगोमा सल्काउने ती मान्छेहरु र ती हातहरू
सबैलाई चिन्छु म
चिन्छु म–एक एकलाई चिन्छु म
अब आरनमा राखेर खुकुरी अर्जाप्न थाल्छु म
हेरी मात्र राख,
ककसको गर्दन छिनाल्छु म
स्रोताहरु उत्तेजित हुँदै थिए, ताली बजाउँदै थिए र वाहवाह गर्दै थिए, बूढा कवि भूकम्पको कम्प उचाल्ने कुरा गर्र्दै थिए र देशद्रोहीका मासु पोल्ने कुरा गर्दै थिए–

मान्छेको चोखो छातीभित्र
प्यासको सागर कति गहिरो छ अब किनारा खोज्दै छु
साँच्चि भनेको
अब छातीभित्रदेखि ज्वालामुखीको आगो ओकल्न थाल्छु म
ककसको मासु
काँचो छ
पोल्न थाल्छु म
हेरी मात्र राख
ककसको मासु छिनाल्छु म ।

अतिथि कवि वैरागी काइँलाले ‘मान्छेले मान्छे मारेर कसले युद्ध जितेको छ सधैँका लागि…’ सुनाउँदै गर्दा स्रोताबाट एकै छिनमा झिनो स्वरमा ‘राम्रो राम्रो’ आएको थियो भने नन्दकृष्ण जोशीले ‘आमा म कहाँनेर छु’ कविता वाचन गर्दा ‘हुरुक्क मेरी माला छमक्क, वन जल्यो ताराले, ए रात प¥यो झमक्क’ गीत पनि गाएर एक छिन माहोलमा झङ्कार ल्याएका थिए । पहिले पहिले प्रेक्षालय पूरा भरिएर बस्ने ठाउँ नहुने महोत्सवमा अचेल मुश्किलले आधा भरिन्छ । एकेडेमीले लिङ्ग, जात, विचार, भूगोल सबैलाई मिलाएर पुरस्कृत पनि ग¥यो । उद्घाटनपछि खाजा खाएर शुरु भएको कविता वाचनमा आधा स्रोता खाजाले अघाएर हो कि क्या हो, हलभित्र नछिरी टाप कसिसकेका थिए ।

टिप्पणीहरू