एसिया कप खेल्ने नेपालको सपनामा वर्षा बाधक

एसिया कप खेल्ने नेपालको सपनामा वर्षा बाधक

नेपाल एसीसी महिला टी- २० च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । वर्षाका कारण खेल रद्द हुँदा नेपाल अभागी सावित हुँदै सेमिफाइनलबाट बाहिरिएको हो ।

मलेसियाको किनरारा एकेडेमी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले १९ ओभर ५ बलमा सबै विकेट गुमाउदै ८१ रन बनाएको थियो । तर वर्षाका कारण नेपालले ब्याटिङ गर्न पाएन । यससँगै समूह विजेताको रूपमा यूएई फाइनल पुग्दै एसिया कपमा छनोट भएको हो ।

यसअघि युवा बलर अस्मिना कर्माचार्यले उत्कृष्ट बलिङ गरेपछि युएई कमजोर बनेको थियो । युएईका लागि वैष्णवी महेशले १६, एसा रोहितले १५, छाया मुगलले १४ र खुसी शर्माले १२ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

कर्माचार्यले तीन ओभर पाँच बलमा १० रन खर्चेर सर्वाधिक पाँच विकेट लिइन् । यस्तै उपकप्तान इन्दु वर्माले चार ओभरमा तीन तथा सीता राना मगरले पनि चार ओभरमा दुई विकेट लिइन् ।

८ः१५ मा सुरु हुने तालिका रहे पनि वर्षाका कारण खेल आधा घण्टा ढिलो सुरु भएको थियो । नेपालसामु एसिया कपमा स्थान बनाउने सुनौलो अवसर थियो । प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट प्रावधान छ । यद्यपि नेपाल वर्षा बाधक हुँदा सेमिफाइनलबाट अगाडि बढ्न असफल भयो ।

समूह ‘बी’ मा रहेको नेपाल उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको थियो । समूह ‘बी’ बाट हङकङ विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । युएई भने समूह ‘ए’ को विजेता हो । यस समूहबाट मलेसिया उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको थियो ।

टिप्पणीहरू