मलाई किन फोन गरेको ? : सैनिक प्रवक्ता सिलवाल

मलाई किन फोन गरेको ? : सैनिक प्रवक्ता सिलवाल

नेपाली सेनाले आफ्नो संस्थामा भए गरेका गतिविधि र जोडिएका विषयमा स्पष्ट पार्न जनसम्पर्क तथा सूचना निर्देशनालय खडा गरेको छ । लडाइँ भिडन्त,निकुन्ज,तालिम,बजेट निर्माण,ब्यारेकको पेरिमीटर सँरक्षणजस्ता जिम्मेवारीबाट पृथक राखेर मिडियासङ्ग २४ घण्टा सम्पर्कमा रहने गरी ठूलो दलबलसहित निर्देशनालय प्रमुखको जिम्मेवारी एक तारे जर्नेललाई दिने व्यवस्था छ । अहिले सैनिक प्रवक्ताको जिम्मेवारीमा नारायण सिलवाल छन् । यसअघि उक्त भूमिकामा राजेन्द्र थापा,दिपक गुरुङ्ग, सुरेश शर्मा, ताराबहादुर कार्की,नयनराज दाहाल, बिज्ञानदेव पाण्डे र सन्तोषवल्लभ पौडेलजस्ता मिडियामैत्री जर्नेलहरु थिए ।

तर शुरुदेखि नै सञ्चारमाध्यमसँग सम्पर्क र सञ्चारकर्मीसँग कुराकानीमा ठाडो मिजासले प्रस्तुत हुँदै आएका सिलवालले भने जनआस्थालाई प्राप्त यौटा अत्यन्त सँवेदनशील पछिल्लो समाचार पुष्टिको क्रममा राखिएको जिज्ञासाउपर दिएको प्रतिक्रियाले सिङ्गो सैनिक संगठन र उसको नेतृत्वप्रतिको जनधारणालाई थप नकारात्मक बनाउनमा बल पुर्याएको पाइएको छ ।

काठमाडौं विमानस्थलस्थित सेनाको ह्याङगरमा हप्तौंदेखि राखिएको निजी क्षेत्रको एउटा हेलिकप्टरबारे जनआस्थाले हिजो बुधवार बेलुका राखेको जिज्ञासामा सिलवालले ‘किन मलाई फोन गरेको ?’ भनेर ठाडो जवाफ दिएका थिए । हिजो साँझ ८ बजेर १५ मीनेटमा जनआस्था डटकमका सम्पादकसँग भएको करिब ३ मीनेटको सम्वादलाई केलाउँदा उनी कुन हदसम्म गैरजिम्मेवार भाषा बोल्न सक्षम छन् र उनको कार्यकालमा सेना र सन्चारक्षेत्रवीच कस्तो सम्बन्ध अघि बढ्ला भन्ने पनि प्रष्ट हुन्छ ।

“सेनासम्बन्धी समाचारमा प्रवक्तालाई नसाेधे सञ्चारकर्मीले सीधै सेनापतिलाई सम्पर्क राख्ने कि कसलाई फोन गर्ने ? निजामती कर्मचारीझैँ सेनाका जिम्मेवार अधिकारीहरु पनि बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको जागिरे रुटिनमा हिँड्ने हो र अफिसको खबर बुझ्न कार्यालय समयमै फोन गर भन्दै झर्किफर्की गर्ने हो भने ९८५१०८३२८८ वाला आधिकारिक नम्बरको मोबाइल,फोन,इमेल र सञ्चारका विभिन्न माध्यमलाई १०-५ बाहेकका समयमा किन अफ मोडमा नराखेको ?”

सेनाबाट अवकाशप्राप्त पूर्व पाइलट लेफ्टिनेण्ट कर्णेल प्रमोद लामा,रामेछाप काँग्रेसका सभापति कान्छाराम तामाङको लगानी रहेको र दिपक कार्की,रविन्द्र बस्नेत,समुन्द्र गुरुङ्गसमेत जोडिएको अन्नपूर्ण हेलिकप्टर कम्पनीको सुन्तला रंगको हेलिकप्टरलाई सेनाको ह्याङगरमा राख्न अनुमति दिइएको विषयबारे उनले शुरुमै आफूलाई कुनै जानकारी नभएको बताएका थिए । सेनाजस्तो संवेदनशील निकायको ह्याङगरमा जोडजाम गर्ने उध्देश्यसहित निजी क्षेत्रको हेलिकप्टर हप्तौंसम्म राखिएको विषयबारे प्रवक्ता अनभिज्ञ हुनु नै अर्को रहस्यमय विषय हो । जुम्ल्याहा सन्तानजसरी दायाँ सेनाको र बायाँ निजी कम्पनीको हेलिकप्टर राखेर पार्टपुर्जा जोड्दै बनाउँदा  आगलागी, सामान हेरफेर या यस्तै केही तलमाथि भयो भने जवाफदेही हुने को ?

यसअघि पनि सिलवालले जनआस्थाले विभिन्न समाचार पुष्टिको निम्ति सम्पर्क गर्दा शुरुमै आफूलाई थाहा नभएको ठाडो जवाफ दिएर पन्छिने गरेका थिए । हिजोको सम्वादमा उनले ह्याङगरका कर्मचारीहरु कार्यालय समयपछि घर हिँडेकाले आज दिउँसोमात्र सम्पर्क गरेर हेलिकप्टरबारे बताउनसक्ने जानकारी दिएका हुन् । काठमाण्डाैं विमानस्थलमा मध्य एयरबेस, एघार बाहिनी, इन्जिनियरिङजस्ता अनेकाैं तालुक अड्डाहरू छन् । वास्तविकता बुझ्न ह्याङगरकै कर्मचारीहरु खाेजि रहनुपर्दैन ।  जनआस्था प्रतिनिधिले घटना,प्रकृति र विषयवस्तु संवेदनशील भएकोतर्फ संकेत गरे पनि उनले टेलिफोन सम्वादमा त्यसको न वास्ता गरे न पर्वाह नै ।

उनले भने, ‘कुनै भवितव्य र संवेदनशील हो र यो विषय ? भोलि दिउँसो कार्यालयमा बोलाएर कर्मचारीलाई सोध्छु । तपार्ईं मलाई भोलि फोन गर्नुहुन्छ ?’ तर सिलवालको यहि भनाइ नै सबैभन्दा खतरापूर्ण रहेको जनआस्थाको ठहर छ । सेनाको ब्यारेकमा कुनै असम्बन्धित व्यक्ति छिरेमा त्यसलाई कसरी उपचार गरिन्छ ? अनेकौं हेलिकप्टर र प्लेन राखिने ह्याङगरजस्तो अत्यन्त संवेदनशील ठाउँमा १५ दिनदेखि निजी क्षेत्रको हेलिकप्टर आफ्नो हेलिकप्टरसङ्ग सटाएर राख्नु,निजी क्षेत्रका मानिस र प्राविधिकलाई निर्वाध आवतजावत गर्न दिनुजस्ता विषयलाई उनले सामान्य ठान्नु नै सुरक्षाको दृष्टिकोणले गम्भीर लापरवाही हुनु हो भन्ने जनआस्थाको ठम्याई छ ।

” सेनाको ब्यारेकमा कुनै असम्बन्धित व्यक्ति छिरेमा त्यसलाई कसरी उपचार गरिन्छ ? अनेकौं हेलिकप्टर र प्लेन राखिने ह्याङगरजस्तो अत्यन्त संवेदनशील ठाउँमा १५ दिनदेखि निजी क्षेत्रको हेलिकप्टर आफ्नो हेलिकप्टरसङ्ग सटाएर राख्नु,निजी क्षेत्रका मानिस र प्राविधिकलाई निर्वाध आवतजावत गर्न दिनुजस्ता विषयलाई उनले सामान्य ठान्नु नै सुरक्षाको दृष्टिकोणले गम्भीर लापरवाही हुनु हो भन्ने जनआस्थाको ठम्याई छ ।”

हिजो साँझ सूचना लिन हैन,प्राप्त समाचारको पुस्ट्याईका निम्ति सम्पर्क गर्दा उनले न्युज होल्डमा राखेर आज दिउँसो फेरि फोन गर्न जनआस्थालाई अह्राएको सन्दर्भमा जनआस्थाको भनाइ थियो, ‘ह्याङ्गरमा हेलिकप्टरसहित देखिएको फोटोसहित प्राप्त यो समाचार आजै रातिसम्म फाइनल भएर प्रकाशनको लागि तयार हुने भएकाले भोलि दिउँसोसम्म ढिलो होला । वास्तविकता साँचो,झूठो के हो बुझेर खबर पाऊँ न,’जवाफमा सिलवालले काँठे लवज मिसाएर भनेका थिए, ‘त्यसोभए किन मलाई फोन गरेको ?’

उनको यो भनाइले अरु थप प्रश्न तेर्स्याएको छ । सेनासम्बन्धी समाचारमा प्रवक्तालाई फोन नगरे सञ्चारकर्मीले सीधै सेनापतिलाई सम्पर्क राख्ने कि कसलाई फोन गर्ने ? निजामती कर्मचारीझैँ सेनाका जिम्मेवार अधिकारीहरु पनि बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको जागिरे रुटिनमा हिँड्ने हो र अफिसको खबर बुझ्न कार्यालय समयमै फोन गर भन्दै झर्किफर्की गर्ने हो भने ९८५१०८३२८८ वाला आधिकारिक नम्बरको मोबाइल,फोन,इमेल र सञ्चारका विभिन्न माध्यमलाई १०-५ बाहेकका समयमा किन अफ मोडमा नराखेको ?

प्रवक्ता सिलवाललाई तत्काल ह्याङगर र हेलिकप्टरसँग सम्बन्धित सैनिक कर्मचारीलाई यसवारे तत्काल सोधनी गर्दा  ए हो र,म बुझेर खबर गर्छु नि भन्न केले छेक्यो ? आज दिउँसोसम्मको भाखा राखेर किन टाँग अड्याइयो ? के सैन्य अधिकृत तथा कर्मचारीलाई मोबाइल वा फोन प्रयोगको सुविधा दिइएको हुँदैन ? त्यसो हो भने स्वयम् प्रवक्ता सिलवालले पनि सञ्चारकर्मीसँग बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्र औपचारिक कुराकानी गरे पुगिहाल्यो ।

यसअघि झैँ हिजो पनि सेनासँग जोडिएको संवेदनशील क्षेत्र र विषयको कुरा उठाउँदासमेत सिलवालमा समाचार पुष्टि र यथार्थको निम्ति तदारुकता देखिएको पाइएन । केही समयअघि जनआस्थाले एक जना सैनिकले पुतलीसडकमा देखाएको उद्धण्डताबारे सोधनी गर्दा सिलवाल गैरजिम्मेवार ढंगले प्रस्तुत भएका थिए । सूचना पुष्टिको निम्ति उनले कुनै सहयोग नगरेपछि जनआस्था आफैँले ती बदमास सैनिकको नाम,थर र अन्य विवरण संकलन गरेर समाचार प्रकाशित गरेको थियो ।

हाल अमेरिका भ्रमणको क्रममा जानुभएका तर बाटैमा लेबनानपछि सिरियामा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्माले पौडेलपछि सिलवाललाई दिनुभएको प्रवक्ताको जिम्मेवारी ‘बोकाको मुखमा कुभिण्डो’ भएको छ । सूचना र जानकारीको सटिक सम्बोधन गर्न नजान्ने र नचाहने व्यक्तिलाई जनसम्पर्कको भारी बोकाउनु पनि नेतृत्वको कमजोरी नै हो भन्नेमा कुनै शंका बाँकी रहन्न ।

मुलुकको सबैभन्दा जिम्मेवार र संवेदनशील संस्थाको भलो चिताउँदै उसलाई थप जिम्मेवार बनाउन प्रेस जगतले देखाएको सदाशयतालाई प्रवक्ताले नै गलत ठान्ने हो भने नेपाली सेनाको निम्ति त्यस्तो प्रवृत्ति आत्मघाती हुनसक्छ । सञ्चारजगतको सकारात्मक सहयोगले नेपाली सेना र उसको नेतृत्वलाई अघि बढ्न ठूलो योगदान पुर्याएको सबैले देखिरहेका छन् । अन्यथा यस्तै खालका पात्रहरुलाई गलत जिम्मेवारी दिँदै जाने हो भने साँच्चिकै प्रभु प्रकट भए पनि प्रभूरामलाई कसैले  बचाउन नसक्नेमा दुई मत हुन नसक्ला ।

सेनाको ह्याङ्गरमा हरियो रंगको सैनिक हेलिकप्टरसँगै राखिएको सुन्तला रंगको हेलिकप्टर अन्नपूर्ण कम्पनीले ल्याएको एअरबस ३५० सिरिजको हो । आपतकालीन अवस्थामा बाहेक निजी कम्पनीको ह्याङगरमा सैनिक विमान र सैन्य ह्याङगरमा निजी क्षेत्रको विमानको प्रवेश नै आपत्तिजनक हो । सुरक्षाको दृष्टिकोणले पनि त्यसलाई नागरिक उड्डयनको क्षेत्रमा संसारभर गम्भीर खतरा मानिन्छ ।

टिप्पणीहरू