लण्डनमा पोलियो भाइरस भेटियो

लण्डनमा पोलियो भाइरस भेटियो

उत्तरी बेलायत र पूर्वी लण्डनको ढलमा पोलियो भाइरस भेटिएको छ । लण्डनका ढलको फेब्रुअरी र मे महिनामा लिइएका नमूनामा पोलियो देखिएको हो ।

लण्डन बेकटन सिवेज ट्रीटमेन्ट वक्र्सको ढलको नमूनामा पोलियो भाइरस फेला परेको बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सीले बताएको छ । उक्त भाइरस समुदायमा फैलिन सक्ने आशंका गर्दै स्वास्थ्य अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

तर, उनीहरुले हाल फेला परेको भाइरस मानिसको निम्ति कम जोखिम रहेको दाबी गरेका छन् । पछिल्लो भाइरस विकास हुने क्रममा रहेकाले यसलाई ‘भ्याक्सिनबाट व्युत्पन्न‘ पोलियो भाइरस टाइप २ को रूपमा वर्गीकृत गरिएको एजेन्सीले जनाएको छ ।

‘खोपबाट व्युत्पन्न पोलियोभाइरस दुर्लभ देखिन्छ । समग्रमा सर्वसाधारणको निम्ति जोखिम अत्यन्तै कम छ । यो भाइरस विशेष गरी खोप कम लगाएका समुदायहरूमा फैलिन सक्छ,’ एजेन्सीको विज्ञप्तिमा उल्लेख छ ।

लण्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनको संक्रामक रोग इपिडिमियोलोजीका प्रोफेसर डेभिड हेम्यानले भने, ‘भ्याक्सिनबाट व्युत्पन्न पोलियो भाइरस अहिले संसारका धेरै देशमा छ । यो जीवित भाइरस नै हो ।’

बेलायतमा वाइल्ड पोलियोको अन्तिम बिरामी सन् १९८४ मा फेला परेका थिए । बेलायतले आफूलाई सन् २००३ मा पोलियोमुक्त मुलुक घोषणा गरेको हो ।

स्रोतः सिन्ह्वा

टिप्पणीहरू