पालिकामा मनपरी बिदा : कतै शोकमा, कतै खुशीयालीमा

पालिकामा मनपरी बिदा : कतै शोकमा, कतै खुशीयालीमा

केही दिनअघि एउटा गाउँपालिकामा उपप्रमुखको देवरको निधन भएकोमा पालिकाभर सार्वजनिक बिदा दिइएको थियो । एउटा नगरपालिकाले नगरसभा सकिएको र बजेट पारित भएको खुशीयालीमा भोलि सार्वजनिक बिदा घोषणा गरेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको हो । ११ औं नगरसभा सफलतापूर्वक सम्पन्न भएको खुशीयालीमा नगरपालिकाले सार्वजनिक बिदाको घोषणा गरेको छ ।नगरपालिकाले भोलि असार १० गते नगरभित्रका सम्पूर्ण कार्यालय बन्द रहने जानकारी दिएको छ । प्रमुख प्रशासकीय अधिकृत अमरप्रसाद भट्टले जारी गरेको सूचनामा भनिएको छ, ‘यस बाह्रबिसे नगरपालिकाको मिति २०७९–०३–०९ गते ११ औँ नगरसभा सफलतापूर्वक सम्पन्न भएकोमा मिति २०७९–०३–१० गते शुक्रबारको दिन नगरपालिका एवं नगरअन्तर्गत रहेका सम्पूर्ण कार्यालयमा सार्वजनिक बिदा दिने व्यहोरा आदेशानुसार अनुरोध छ ।’

बाह्रबिसे नगरपालिकामा मेयर र उपमेयर दुवै नेपाली काँग्रेसले जितेको छ । गत साता रुपन्देहीको रायपुरस्थित मर्चवारी गाउँपालिकाले उपाध्यक्ष आशा सिंहको देवर नाता पर्ने व्यक्तिको निधनमा पालिकाभर सार्वजनिक बिदा दिएको थियो । दुर्घटनामा परेर निधन भएको देवरको शोक मनाउन असार ५ गते आइतबार बिदा दिइएको हो ।

टिप्पणीहरू