राजनीतिको साँचो माओवादीको हातमा रहेको प्रचण्डको दाबी

राजनीतिको साँचो माओवादीको हातमा रहेको प्रचण्डको दाबी

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनले आफ्नो पार्टीलाई देशको राजनीति कता लैजाने भन्ने निर्णायक भूमिकामा पुर्याएको दाबी गर्नुभएको छ ।

आज स्थानीय तहको निर्वाचनमा माओवादीबाट विजयी ललितपुरका जनप्रतिनिधिको प्रशिक्षण भेलामा बोल्दै उहाँले अहिलेको अवस्थामा पार्टीले एक सय २२ पालिका जित्नु ठूलो कुरा भएको बताउनुभयो । यही जनमत नै देशको राजनीतिको बागडोरलाई दिशा दिने साँचो भएको अध्यक्ष प्रचण्डको भनाइ छ ।

‘हाम्रो पार्टीले सोचेजस्तो परिणाम आएन । कम्तीमा पनि ठीक ढंगले जाँदा एक सय ७० र एक सय ७५ आउँछ भन्ने थियो । एमाले एक सय ६० देखि ७० मा झर्छ भन्ने सोचेका थियौं । हामीले आकलन गरेको जति आएन । त्यही भएर ठूलो कम्युनिष्ट पार्टी बन्न सफल भएनौं । एक सय २२ पालिका जित्यौं । यो भनेको पनि धेरै हो’, उहाँले भन्नुभयो ।

केही परिवर्तन विरोधी र बुर्जुवाहरूले माओवादीले धेरै तह जितेको ठाने पनि आफूहरुको स्थिति निर्णायक रहेको अध्यक्षको भनाइ छ । उहाँले भन्नुभयो, ‘देशको राजनीतिको बागडोरलाई कता लैजाने भन्ने चाबी माओवादी केन्द्रलाई नै जनताले दिएका छन् ।’

गोरखा, कालीकोट, रोल्पा, रुकुममा सबै दल हुँदा पनि माओवादीले आफ्नै बुताले जितेको प्रचण्डको भनाइ छ । ‘तर, ललितपुरमा भने सोचेजस्तो परिणाम आएन,’ उहाँले भन्नुभयो, ‘गठबन्धन छ भनेर रिल्याक्स ढंगले पार्टीका नेता कार्यकर्ता लागे । त्यसले मार खायो ।’

प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन संघारमा रहेको भन्दै कार्यकर्तालाई अहिलेदेखि नै त्यसमा लाग्न निर्देशन दिनुभएको छ ।

टिप्पणीहरू