रवि लामिछानेसङ्ग मागियो हिसाब

रवि लामिछानेसङ्ग मागियो हिसाब

टेलिभिजन प्रस्तोताको रुपमा चर्चा बटुलेका रवि लामिछाने अस्तिदेखि नयाँ पार्टीको अध्यक्ष बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर सोही दलको उम्मेदवार हुँदै आगामी संसदीय निर्वाचनबाट प्रधानमन्त्री हुने लक्ष्यका साथ उनी राजनीतिमा होमिएका हुन् ।

भाइले ‘पार्टीमा परिवारवाद बात्’ भन्दै घोषणा गरेको पार्टी कार्यक्रमपछि रेडियो नेपालको कर्मचारीबाट अवकास लिएका दाजु हरिशरणले भने भाइको उक्त निर्णयको तत्काल विरोध गरेका थिए । हिजो दिनभर स्वतन्त्र शव्द झुण्डाएर पार्टी दर्ता गर्न नपाइने भन्दै निर्वाचन आयोगमा समेत विरोधमा लेखिएका निवेदनको चाङ लागेको छ ।

हालै आदित्य न्यौपाने नामक व्यक्तिले सामाजिक सञ्जालमा एउटा स्टाटस लेखेर लामिछानेसङ्ग हिसाब मागेका छन् । निकै भाइरल भएको उनको त्यो स्टाटसले सर्वसाधारणसमेत लामिछानेको विगत कोट्याउन अघि सरेको प्रतित हुन्छ ।

न्यौपानेका अनुसार दुई वर्षअघि लामिछानेले ग्यालेक्सी टिभीमा ‘द लिडर’ नामक रियालिटी सो सञ्चालन गर्ने उद्घोष गरेका थिए । न्यूज २४ मा छँदै सो कार्यक्रम सञ्चालनमा ल्याउने उनको दाबी थियो ।

रविको त्यतिबेलाको भनाइ उद्धृत गर्दै न्यौपानेले भनेका छन्, ‘समाज र वर्तमान पुस्ताले सोचेको अनि खोजेको नेतृत्व ल्याउन यसले महत्वपूर्ण भूमिका खेल्ने भनेर लामिछानेले सार्वजनिक रुपमा भनेका थिए ।’

घोषित कार्यक्रमअनुसार सात वटै प्रदेश र विदेशका विभिन्न स्थानमा अडिसन खुलाइएको थियो भने ‘एसआरबिएन’ मिडियाले उक्त कार्यक्रमको पहिलो अडिसन चितवनमा हुने सार्वजनिक सूचनासमेत जारी गरेको थियो ।

न्यौपाने लेख्छन्, ‘लामिछानेले नयाँ कार्यक्रम ल्याउने सुनेपछि फाराम भर्नेको भीड थामिनसक्नु भयो ।’ आदित्य न्यौपाने पनि त्यही भीडमा थिए ।

नियमानुसार भन्दै नाम दर्ताको निम्ति एक हजार रुपैयाँ तिरेर उनलाई फारम भर्न लगाइएको दाबी छ । ‘तर, अहिलेसम्म न कार्यक्रम सञ्चालनमा आयो, न हजार रुपैयाँ नै फिर्ता पाएँ,’ उनले दुःखेसो पोख्दै लेखेका छन् ।

तर अहिले लामिछाने आफैँ ग्यालेक्सी टिभीबाट समेत बिदा भइसकेका छन् । न्युज २४ छाडेर ग्यालेक्सीमा गएपछि फोन सम्पर्क गरेको न्यौपानेले बकाइदा लेखेका छन् । आफूले पटक पटकको फोन सम्पर्कमा ‘हामीलाई थाहा छैन’ भन्ने जवाफ पाएको बताए ।

न्यौपाने भन्छन्, ‘मेरो मात्र होइन, त्यो भीडमा बस्ने हरेक व्यक्तिको पैसा चुर्लुम्मै डुबेको छ । ३०४७१ नम्बरमा परेका मभन्दा अघि कतिको रकम डुब्यो होला ?’ यसरी पनि लामिछानेको नामको पछाडि करौडौं रकम हिनामिना भएको हुनसक्ने उनले आशंका गरेका हुन् ।

रवि लामिछाने र उनको समूहले चलाखीपूर्ण तरिकाले पैसा बुझेको रसिदसमेत नदिएको उनको आरोप छ । नामको पछाडि लाग्दा पैसा डुबेकोमा उनले अहिले आएर दुःख मनाउ गरेका हुन् । ‘अब त्यो पैसाको जिम्मा कसले लिने ?,’ न्यौपानेले सरोकारवाला सबैसँग सोधेका छन् ।

यता, टिम लिडरले भने यसको खण्डन गरेको छ । रजिष्ट्रेसनबाट जम्मा भएको रकम ब्याजसहित फिर्ता गरेको उसको दाबी छ । कोरोनाका कारण अडिसन लिन असमर्थ भएको उल्लेख गर्दै टिम पन्छिएको जानकारी उसले दिएको हो ।

टिप्पणीहरू