युवराजले ज्वाईं पोस्न बनाएको मापदण्ड महाप्रसादले उल्टाउँदै

युवराजले ज्वाईं पोस्न बनाएको मापदण्ड महाप्रसादले उल्टाउँदै

नेपाल राष्ट्र बैंकको तर्फबाट यो वर्ष पनि एक जना कर्मचारी अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) मुख्यालयमा प्रतिनिधिको रुपमा जाने छन् । दुई वर्ष अमेरिकाको राजधानी वासिङटन डिसीमा बस्ने, परिवार लैजान पाइने र डलरमा आकर्षक तलब भत्ता आउने भएकाले त्यहाँ जान धेरै जसोले भ्याएसम्मको शक्ति प्रयोग गर्छन् ।

साढे दुइ दशक अघिसम्म कोषमा बैंकको अनुसन्धान विभागसँग सम्बन्धित वरिष्ठ अधिकृतलाई पठाउने गरिएको थियो । तर उक्त परम्परालाई लत्याउँदै १२ वर्ष अगाडी युवराज खतिवडा गभर्नर बनेपछि दुई पटक नै फरक मापदण्ड अपनाइयो । एक पटक छोरी ज्वाईं रामशरण खरेल तत्कालीन कनिष्ठ उपनिर्देशक हुँदा उनलाई पठाउन खेल खेलियो ।

राष्ट्र बैंकका एक जना कार्यकारी निर्देशकले भने, ‘यो वर्ष हाम्रो बैंकको पालो हो त्यहाँ पठाउने । तर, अहिलेसम्म साईंसुईं छैन ।’ हुन तः उक्त स्थानमा कर्मचारी पठाउने र छान्ने अधिकार पूर्णरुपमा गभर्नरको नै हुन्छ । तर कहिले कार्यकारी निर्देशक,यदाकदा निर्देशक र उपनिर्देशक तहका कर्मचारी पठाउँदा बैंकको साख गिरेको ती कार्यकारीले बताए ।

उनी भन्छन्,‘आइएमएफले प्रतिनिधि पठाऊ मात्र भन्छ,कस्तो कर्मचारी पठाउँदा बैंक र मुलुकको हैसियत रहन्छ भन्ने कुराको हेक्का गभर्नरले राख्ने हो तर पछिल्ला दिनमा कर्मचारीभन्दा पनि अर्कै कुरामा बढी हेक्का राखेको अर्थ लाग्न थालेको छ । व्यवहारले पनि त्यस्तै पुष्टि गर्दै गएको छ ।’

बैंकबाट पठाइने जुनसुकै तहका कर्मचारी कोषका कार्यकारी निर्देशकको वरिष्ठ सल्लाहकार वा सल्लाहकारको भूमिकामा रहन्छन् । उनीहरुले मूलतः कार्यकारी निर्देशकको सहयोगीको रुपमा काम गर्छन् । ती कर्मचारीले अमेरिकामा बसेर राष्ट्र बैंकसँग समन्वय गर्ने भएकाले त्यो कार्यकारी पद नभएको अनुसन्धान विभागमा विगतमा बसेका एक जना निर्देशकले बताए ।

उनका अनुसार हामी दक्षिणपूर्वी र दक्षिण एसियाली राष्ट्रहरुको समूहमा पर्छौं । नेपालले अहिलेसम्म कार्यकारी निर्देशक पाएको छैन । प्रायः मलेसिया,सिंगापुरलगायतका देशले उक्त जिम्मेवारी पाउने गरेका छन् । तिनै कार्यकारी मातहत रहने गरी यस पटक नेपाललाई एक जना सल्लाहकार पठाउन गत मार्च महिनामा पत्र पठाइएको थियो । उक्त पत्र सोझै गभर्नरको इमेलमा आउने भएकाले अन्य कर्मचारीले भेउ नै पाउँदैनन् । गभर्नरले सम्बन्धित कर्मचारीलाई मात्र गोप्य तवरले जानकारी गराएर नाम उता पठाउने गरेको पाइन्छ ।

पहिले कार्यकारी निर्देशक,त्यसपछि बीचमा निर्देशक तहका कर्मचारी पठाउँदै आएकोमा खतिवडाले आफ्नै ज्वाईंलाई पठाउन उपनिर्देशक तहको कर्मचारी पठाइदिएका थिए । अहिलेका गभर्नर महाप्रसाद अधिकारीले भने कार्यकारी निर्देशकको नाम सिफारिस गरेर पठाइसकेको स्रोतको दाबी छ ।

यतिखेर बैंकको जनशक्ति व्यवस्थापन विभागमा रहेका कार्यकारी निर्देशक तुलसी घिमिरेको नाम अमेरिका पठाइएको चर्चा सुनिन थालेको छ । आर्थिक अनुसन्धान विभागका एक जना हाकिमले भने, ‘जुन तहको पठाए पनि यसअघि अनुसन्धान विभागबाटै पठाउने गरिएको थियो । नेपालमा जसले जे गरे पनि हुन्छ ।’ घिमिरे आफैँ कर्मचारीको अवकास उमेर ५८ वर्षबाट बढाएर ६० बनाउन कम्मर कसेर लागेका कर्मचारी हुन् । उनलाई उता जाँदा यता अवकास उमेरको ‘इस्यु’ मा अरुले खेल्ने डर पनि उत्तिकै छ ।

यसअघि खतिवडाले ज्वाईं खरेललाई पठाउँदा त्यसबेला अहिलेकी डेपुटी गभर्नर निलम ढुंगानाले सशक्त दाबी गरेकी थिइन् । उनी अनुसन्धान विभागमा निर्देशक भएकीले चर्को दाबी गर्ने सुईंको पाएलगत्तै रातारात बैंक सुपरीवेक्षण विभागतिर ठेलिएको थियो । ज्वाईंको नाम कोषमा सिफारिस भएको पत्तो पाएपछि निलम खतिवडालाई भेट्न एकाएक गभर्नर कार्यालय गएकी थिइन् ।

तर, आफूले कोषमा जान किन नपाउने ? भनेर ढुंगानाले जिज्ञासा राख्नेबित्तिक्कै खतिवडाले ‘गेट आउट’ भनेको उनले एमालेनिकट कर्मचारी संघका नेताहरुलाई तत्काल फोनमै बिलौना गरेर सुनाएकी थिइन् । ढुंगानाको प्रश्नको जवाफ दिँदै खतिडाले भनेका थिए, ‘आइएमएफको दर्ता चलानीको काम गर्न केन्द्रीय बैंकका निर्देशक जाने ? त्यहाँ उपनिर्देशक पनि बढी हुन्छ ।’ खतिवडाको भनाइ र गराइमा बैंकको कर्मचारी संघका त्यतिबेलाका अध्यक्ष वसन्तराज पाण्डेले मलजल गरेको कुरो थाहा पाएपछि निलम खिस्स पर्न बाध्य भएकी थिइन् । पाण्डेले निलम र खतिवडा दुवैलाई दुवैतिरबाट उकासेका थिए ।

तर गभर्नर अधिकारीले अहिले त्यही दर्ता चलानीको काम गर्न बैंकको कार्यकारी निर्देशक तहको कर्मचारी पठाउने तयारी गरेपछि सबै अचम्भित भएका छन् । खतिवडाले उपनिर्देशक पठाएपछि पहिलेका गभर्नर चिरञ्जीवी नेपालले पनि सोही तहकी महिला कर्मचारी पठाएका थिए ।

गभर्नर डा. तिलक रावलले त्यतिबेला पठाएका कार्यकारी निर्देशक माधव भट्टले पदीय मर्यादा कायम नराखेको भन्दै रावलले पछि बैंकद्वारा प्रकाशित स्वर्णजयन्ती स्मारिकामा भट्टलाई नाङ्गेझार पारेका छन् । रावलले एउटा सामान्य नेपालीको छोरोलाई आफूले करोडपति बनाइदिएको समेत लेखेका छन् ।

अहिले त्यहाँ जान चाहना राख्नेमा गभर्नरको ढोका बाहिर रहेका उपनिर्देशक टिकाराम खतिवडा पनि प्रवल दावेदार हुन् । तर, कोषले अर्थशास्त्री र अनुसन्धान क्षेत्रका बाहेक चार्टर्ड एकाउण्टेण्टलाई कुनै पनि विषयमा ‘इन्टरटेन’ नगर्ने बैंकका अधिकारीहरु नै बताउँछन् ।

यसपटक अमेरिका जानलाई विगतमा सञ्चालक समितिको सचिव रहेका निर्देशक रोशन सिग्देल र अर्थमन्त्रालयमा सल्लाहकार भएर बसेका उपनिर्देशक शालिकराम पोखरेल पनि इच्छुक थिए । अर्का एक जना गभर्नरको नातेदार भनिएका उपनिर्देशकलाई पनि कर्मचारीहरुले सम्भावितको सूचीमा राखेका थिए ।

सिग्देल बैंक सुपरीवेक्षण विभागमा छन् भने पोखरेल साँढेको जुधाई, बाच्छाको मिचाईमा परेका छन् । उनी आफैँ सुर्खेत कार्यालयमा छँदाको लफडा मिलाउन अर्थ मन्त्रालय गए पनि यसबीच गभर्नर र अर्थमन्त्रीबीच देखिएको ‘टसल’ ले केन्द्रीय बैंकको संस्थापन पक्षको ‘ब्ल्याक लिष्ट’ मा सूचीकृत भएको बताइन्छ ।

झण्डै दुई करोड रुपैयाँ खुद बचत हुने, खासै काम गर्न नपर्ने भएकाले पनि त्यहाँ जान धेरैले रहर गर्नुलाई अन्यथा भन्न मिल्दैन । डा. रावलले संस्मरणमा लेखेझैँ यसअघि खतिवडाले पठाएका एक जना निर्देशक र ज्वाईँसँग रकम उठाएर पार्टीको संस्थापन पक्षलाई बुझाएको आरोप भने अहिलेसम्म पखालिइसकेको छैन ।

टिप्पणीहरू