सेनाको ह्याङ्गरमा कसरी छिर्यो अन्नपूर्ण ?

सेनाको ह्याङ्गरमा कसरी छिर्यो अन्नपूर्ण ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ छेउमा नेपाली सेनाका हवाइजहाज र हेलिकप्टरहरु छुट्टै राखिन्छ । सँगै सेनाका जहाज मर्मत गर्न र राख्नको लागि ह्याङगर पनि छ । विशेष अवस्थामा बाहेक सामान्य अवस्थामा सेनाको ह्याङगरमा निजी क्षेत्रका कुनै पनि विमान राखिँदैन ।

सेनाका विमान पनि निजी कम्पनीका ह्याङगरमा लगिन्न । उदाहरणकै लागि विमानस्थलको पूर्वतर्फ रहेको बुध्द एअरको ह्याङगरमा सेनाका जहाजहरुलाई लगेर राखिएको पाईंदैन ।

तर अहिले भने सेनाको ह्याङगरमा निजी क्षेत्रको एउटा सुन्तला रंगको हेलिकप्टर १५ दिनभन्दा बढी समयदेखि राखिएको छ । सँगै सेनाको हेलिकप्टर पनि देख्न सकिन्छ । त्यसरी सेनाको ह्याङगरमा निजी कम्पनीको हेलिकप्टर हप्तौंसम्म राख्न दियो कसले ? भन्ने विषयले कौतुहल जन्माइदिएको छ ।

उक्त हेलिकप्टर अन्नपूर्ण हेलिकप्टर कम्पनीको हो । भर्खरै स्थापित उक्त हेलिकप्टर कम्पनीमा रामेछाप काँग्रेस सभापति कान्छाराम तामाङ र सेनाका पूर्वपाइलट लेफ्टिनेन्ट कर्णेल प्रमोद लामालगायतको मुख्य लगानी भएको उड्डयन क्षेत्रका हर्ताकर्ताले बताएका छन् ।

त्यसमा रविन्द्र बस्नेतहरुको सेयर लगानी पनि रहेको चर्चा छ । दिपक कार्की,नागरिक उड्डयन प्राधिकरणका देवेन्द्र केसीको पनि संलग्नता रहेको आशंका गरिएको छ । उनीहरु उक्त कम्पनीमा यदाकदा आउने तर लामो समयसम्म नदेखिने गरेकाले पनि लगानीकर्ता भन्दा कर्मचारीको भूमिकामा रहेको स्रोतको दाबी छ । ‘तलबले नपुग्ने भएपछि तीन चार महिना बिराएर यताउता भौंतारिने गरेका हुन्,’ नागरिक उड्डयन प्राधिकरणको उच्च स्रोतले जनआस्थालाई बतायो ।

कम्पनीले यसबीच इञ्जिनियर भनेर विभिन्न व्यक्तिलाई झुलाएको पाइन्छ । लक्ष्मीदास मानन्धर र ध्रुव भण्डारी दुवै जनालाई लामा र तामाङले छुट्टाछुट्टै भेट्ने गरेका छन् । दुवै जनासँग कुरो ‘क्लियर’ नगरेपछि उनीहरु पनि भरङ्ग भएको बुझिन्छ ।

उक्त समूहमा तीन तारे पूर्व जर्नेल सीबी गुरुङका छोरासमेत स्वयमसेवकको रुपमा छिरेको चर्चा छ । प्रमुख लगानीकर्ताहरु आफैं गाडी चलाएर मान्छे भेट्न जाने र ओसार्ने गरेकाले पनि उनीहरुको कार्यालय र काम पारदर्शी नभएकोतर्फ धेरैले शंका गरेका छन् ।

स्रोत भन्छ,‘के दाउ खेल्नको लागि उनीहरुले हेलिकप्टर खोलेका हुन् बुझ्न सकिएको छैन । हात्तीको देखाउने दाँत भनेझैँ हेलिकप्टर पनि देखाउनैको निम्ति मात्र हो कि भन्ने छ ।’

सुन्तला रंगको हेलिकप्टर एअरबस ३५० सिरिजको हो ।

निजी कम्पनीको हेलिकप्टर वा विमानलाई सेनाको ह्याङगरमा लगेर राखिँदा नागरिक उड्डयन प्राधिकरणको अनुगमन फितलो भयो कि भन्नेहरु पनि भेटिएका छन् ।

उनीहरुले भने,‘नागरिक उड्डयन प्राधिकरणले नागरिकले प्रयोग गर्ने विमान,त्यसको मर्मत र प्रयोगको बारेमा सुक्ष्म अध्ययन तथा विश्लेषण गर्नुपर्नेमा त्यसो गरेको पाइएन ।’
अर्कोतर्फ आर्मीको ह्याङगरमा निजी कम्पनीको हेलिकप्टर राखिएकोतर्फ स्वयम् सेना पनि बेखबर हुनु अर्को रहस्यमय विषय भएको बताइन्छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले पनि सोबारे अनभिज्ञता प्रकट गरेको छ ।

नाम नबताउने शर्तमा सैन्य स्रोतले भन्यो, ‘पहिले पनि त्यसरी ल्याउने गरिन्थ्यो । यो पटक लामै समयसम्म राखिएको छ । सम्भवत: हावा नलाग्ने ठाउँमा राख्नुपर्ने भएकाले त्यसो गरिएको हुनुपर्छ ।’

पहिले बिदाको दिन वा अन्य समयमा निजी क्षेत्रका विमान वा हेलिकप्टर मर्मतको लागि त्यसरी राख्ने गरिएको पनि स्रोतले दाबी गरेको छ । उनले भने, ‘बाकसमा हालेर ल्याइएको हेलिकप्टर यहाँ जोड्ने काम भएको हो । कलकत्तासम्म उक्त बाकस पानी जहाजमा आयो । त्यहाँबाट वीरगञ्जसम्म रेलमा र त्यसपछि गाडी चढेर काठमाडौं आएको हो । त्यहि हेलिकप्टरलाई अहिले जोडजाड गरिएको हो । सायद अझै टाइम लाग्छ ।’

टिप्पणीहरू