हाकिमले सिपाहीको गोजीमा हात हाल्दा

हाकिमले सिपाहीको गोजीमा हात हाल्दा

‘चोरका हजार दाउ’ भनेजस्तै विदेश गएर रगत–पसिना बगाउनुको साँटो स्वदेशकै सेवामा रमाउने आकर्षणसहित नौ महिने कडा तालिम लिएका गरिबको खल्ती रित्याउने हाकिममाथि छानबिन शुरु भएको छ ।

यसनिम्ति सशस्त्र प्रहरी हेडक्वार्टरले प्रशासन शाखामा कार्यरत कामु एसएसपी नरेन्द्र सेन र कानुन शाखाका डिएसपी भुवन भण्डारीको नेतृत्वमा एउटा टोली नेपालगञ्जको नौबस्ता तालिम शिक्षालयमा पठाएको छ ।

स्रोतका अनुसार सो तालिम केन्द्रका २ सय ५७ जवानसँग पाहुना खर्च भन्दै जनही ६ देखि ७ हजारसम्म खर्च बटुलिएको उजुरी परेको थियो । सामान्यतया यस्तो समारोहमा दुई हजारदेखि २५ सय रुपैयाँँसम्म सहभागी हुन आएका प्रत्येक रिक्रुटका आफन्तको स्वागत र सत्कार (खाना) मा खर्च हुन्छ ।

तर, नौबस्ताका अधिकृतहरूले भने आवश्यकताभन्दा निकै बढी रकम असुलेको उजुरी परेको थियो । उजुरीलाई आधार मान्दा जवानहरूबाट हाकिमले १५ लाख ४२ हजार रुपैयाँ उठाएको देखिन्छ । र, बर्दघाट तालिम केन्द्रमा पनि यस्तै तवरले जवानहरूबाट पास आउट खर्च उठाएको गुनासो सुनिएको छ ।

बर्दघाटबाट एक सय ५५ जना पास आउट भएका छन् । एउटै तालिम केन्द्रबाट पास आउटको बेला लाखौं असुल्ने गरेको देखिन्छ । जबकि इन्स्पेक्टरको पास आउट तालिममा समेत यति धेरै खर्च हुने गरेको पाइँदैन । यसैगरी, देशभरमा सोमबार पास आउट हुनेको संख्या २ हजार रहेको छ ।

यी सबैबाट यही दरले एक करोड २० लाख रुपैयाँ उठ्ने देखिन्छ । यी ठाउँमा सशस्त्र प्रहरी आधारभूत तालिम सञ्चालन हुँदै आएको छ । जहाँ दाउरा, राशनपानी र अन्य बन्दोबस्तीका सामग्री खरिद बिक्रीमा पनि गडबड भएको उजुरी परेको स्रोतले बताएको छ ।

नौबस्ता तालिम केन्द्रका प्रमुखको रूपमा एक नम्बरका एसएसपी कृष्णराज पाठक छन् । उनी एक नम्बरकैं डिआईजी हुने लाइनमा समेत छन् । गत वर्ष कोभिड १९ को बेला सिपाहीबाट कुनै खर्च नउठाइकन पनि पासआउट गरेको उदाहरण छ । तर, पुनः शुरु गरिएपछि घोटाला पनि दह्रैसँग गर्न खोजिएजस्तो देखिएको छ ।

स्रोतका अनुसार नौबस्ता बाँके र बर्दघाट नवलपरासीको तालिम केन्द्रमा बिहीवार आउट छोड्ने, शुक्रवार तालिम नगराउने, शनिबार बिदा मनाउने र आइतबार मात्रै हाजिर गराउने चलन छ । बाहिर छुट्टी छोडेवापत बचत हुने खाना खर्चको रकमसमेत हाकिमहरूले ‘भागशान्ति जय नेपाल’ गरेको दाबी स्रोतको छ । बर्दघाटमा एसएसपी पुरुषोत्तम थापा कार्यरत छन् ।

टिप्पणीहरू