आफूखुशी औषधि बेच्नेहरु समातिए

आफूखुशी औषधि बेच्नेहरु समातिए

चिकित्सकको सिफारिसबिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालकसहित चार जना समातिएका छन् । लागूऔषध दुर्व्यसनमा परेकालाई चिकित्सकको सिफारिसबिना औषधि बेचबिखन गरेको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा गंगाजमुना फार्मेसीका सञ्चालक डिलबहादुर कार्की, राजकुमार तामाङ, सानु तामाङ र सञ्जय पुतुवार हुन् । धादिङका ४२ वर्षीय कार्की काठमाडौँको तारकेश्वर नगरपालिका ५ लोलाङमा फार्मेसी सञ्चालन गर्दै आएका थिए ।

इजाजतबिना नै उनले अवैध रूपमा औषधिहरु बेचबिखन गर्ने गरेको प्रहरीको प्रराम्भिक अनुसन्धानबाट पुष्टी भएको छ । सञ्चालक कार्कीले अवैध रुपमा औषधिहरु बेचबिखन गर्ने गरेको सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले सो कुराको पुष्टी गरेको हो ।

उनको फार्मेसीबाट स्पास्पेन चार सय ५० ट्याब्लेट, ट्रमा दुई सय ४० ट्याब्लेट र ट्रमाडोल पाँच सय क्याप्सुल प्रहरीले बरामद गरेको छ । ती सबैलाई कारबाहीको लागि औषधि व्यवस्था विभाग बिजुलीबजार काठमाडौंमा पठाइएको छ ।

टिप्पणीहरू