इज्जत छैन उपको, तैपनि महिला मौन

इज्जत छैन उपको, तैपनि महिला मौन

प्रतिनिधिसभा, राष्ट्रिय सभालगायत विभिन्न संवैधानिक निकायमा महत्वपूर्ण मानिएको उपसभामुख, उपाध्यक्षको पद खाली भएको वर्षौं बित्दा पनि पदपूर्ति हुन सकेको छैन ।

डा. शिवमाया तुम्बाहाङ्फेले करिब दुई वर्षअघि उपसभामुखबाट राजीनामा दिएर मन्त्री बन्न गएपछि रिक्त उपसभामुख पद अहिलेसम्म खाली छ । त्यसैगरी फागुनदेखि राष्ट्रिय सभा उपाध्यक्षमा कोही छैनन् ।

यस्ता पदमा फरक लिंगलाई प्रतिनिधित्व गराउनु पर्ने संवैधानिक प्रावधान छ । यस्तो बेला एक्कासि कुनै संकट आइलागेमा प्रतिनिधि सभा र राष्ट्रिय सभालाई कसरी सञ्चालन गर्ने भन्ने अन्योल देखिएको छ ।

‘उप’ जोडिएका पदहरू नै बेकामे वा अधिकारविहिन भएकोले पदपूर्ति गर्नेतर्फ कसैले पनि चासो नदिएको हुनुपर्छ । जानकारहरूका अनुसार उपराष्ट्रपतिदेखि उप प्रधानमन्त्रीसम्म, उपाध्यक्षदेखि उपसभापतिसम्म फस्र्टम्यानको अनुपस्थितिमा मात्रै काम गर्ने व्यवस्था भएको र अन्य कुनै हैसियत नभएकोले गर्दा ‘मानका खातिर पद’ ओगटिएजस्तो अवस्था छ ।

शक्तिशाली मानिएको उपप्रधानमन्त्रीको अध्यक्षतामा आजसम्म मन्त्रिपरिषद्को बैठक बसेको इतिहास छैन । ‘अड्कोपड्को तेलको धुप’ भनेजस्तै उपराष्ट्रपति र राष्ट्रिय सभाका उपाध्यक्षहरूलाई पनि अनुपस्थिति वा अन्यथा हुन गएको अवस्थामा बाहेक विशेष जिम्मेवारी दिइएको छैन । तर, महिला सांसदले पनि यसबारे अहिलेसम्म दुवै सदनमा कुरा उठाएका छैनन् ।

वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि गठबन्धनका कारण महिलाहरूको संवैधानिक प्रावधानमा त्रुटि देखिएको थियो । सोही त्रुटिलाई टेकेर महिलाहरूको उपस्थितिमा निश्चितता मानिएको पद उपप्रमुख र उपाध्यक्षमा पुरुषहरूले कब्जा जमाए ।

वर्षौंसम्म पदपूर्ति नहुँदा पनि चलिरहने प्रतिनिधि सभा र राष्ट्रिय सभाको उपसभामुख र उपाध्यक्ष पद नै खारेज किन नगर्ने भन्ने प्रश्न पनि उठाउन शुरु भएको छ । किनभने यी नभए पनि संसद् चल्ने रहेछ ।

टिप्पणीहरू