खुमलटार, बालुवाटार, बालकोट र बानेश्वर सबैतिर भेट्नेको लर्को

खुमलटार, बालुवाटार, बालकोट र बानेश्वर सबैतिर भेट्नेको लर्को

हिजो पनि प्रधानमन्त्री निवास बालुवाटार, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार, एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवास कोटेश्वरमा भेटघाटको निम्ति पुग्ने नेताहरु थुप्रै देखिए ।

खुमलटारस्थित दाहाल निवासमा अध्यक्षसँग भेट्न नेता नारायण दाहाल र वाईसिएलका पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दिपशिखा ) त्यहाँ पुगेका थिए । हिजो बिहान सापकोटा र दाहालले अध्यक्ष दाहालसँग पौने एक घण्टा कुराकानी गरेको बताइन्छ ।

दाहाल र सापकोटा निस्केपछि खुमलटारमा ऊर्जामन्त्री पम्फा भुसाल पुग्नुभएको थियो । भुसाल पनि करिब आधा घण्टा भेटवार्ता गरेर त्यहाँबाट बाहिरिनुभएको थियो ।

उता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग भेट गर्न पुग्नुभएको हो । दुवै महामन्त्रीले बिहान ४५ मीनेट कुराकानी गरेको काँग्रेस स्रोतको दाबी छ । भेटमा नितान्त पार्टीको आन्तरिक विषयमा छलफल भएको स्रोतले बतायो ।

त्यसैगरि हिजै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि पार्टीका नेताहरुले भेट गरेका थिए । उहाँहरुबीच नयाँ बानेश्वरस्थित अर्याल होटलमा भेटघाट र कुराकानी भएको हो ।

महासचिव बेदुराम भुसाल, उपमहासचिव गङ्गालाल तुलाधरसहित हिजो बिहान देखि दिउँसोसम्म भएको चार घण्टा लामो छलफलमा समसामयिक राजनैतिक परिस्थितिबारे कुराकानी भएको पार्टी केन्द्रीय कार्यालय स्रोतले बतायो ।

उता भक्तपुरको बालकोटस्थित निवासमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पूर्वमाओवादी नेता तथा एमाले सचिव टोपबहादुर रायमाझीले पनि हिजौ कुराकानी गर्नुभएको हो । नेता रायमाझीले मध्यान्हको समयमा अध्यक्षसँग एक घण्टा भलाकुसारी गर्नुभएको बुझिएको छ ।

टिप्पणीहरू