एन्फा अध्यक्षमा नेम्वाङ विजयी, प्रशिक्षक अल्मुताइरी दुःखी « Jana Aastha News Online
Logo
१३ असार २०७९, सोमबार
|  Mon Jun 27 2022
Logo
१३ असार २०७९, सोमबार
|  Mon Jun 27 2022

एन्फा अध्यक्षमा नेम्वाङ विजयी, प्रशिक्षक अल्मुताइरी दुःखी

प्रकाशित मिति :  ७ असार २०७९, मंगलवार ११:४५


अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन् । तर मुलुकको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने नेम्वाङको चयनप्रति खुशी छैनन् ।

हाल कुवेतमा रहेका उनले नयाँ अध्यक्षको चयनलगत्तै नेपाल नफर्कने संकेत गरेका छन् । हिजो भएको एन्फा निर्वाचनमा नेम्वाङ ४५ मत प्राप्त गरेर विजयी बनेका हुन् । निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले ३९ मत मात्र पाएका थिए ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा स्टोरी राख्दै नेपाली फुटबलको सुखद् भविश्यको कामना गरेका थिए । तर अहिले हटाइएको पोष्टमा उनले आफू पछिल्लो अवस्थामा नेपाल नफर्कने आशय व्यक्त गरेका हुन् । नेम्वाङ एन्फाको वरिष्ठ उपाध्यक्ष रहँदै उनले राजीनामा दिने बताएका थिए ।

अब प्रशिक्षक र एन्फा पदाधिकारीबीचको विवाद छताछुल्ल भएर खेलाडीसम्म आइपुगेको छ । विवादको मुख्य कारण एएफसी एसियन कप छनोट खेलमा कप्तान किरण चेम्जोङ्गलगायत ११ जना मुख्य खेलाडीलाई बाहिर राख्नु भएको बताइन्छ ।

हालै भएको एसियाली कप छनोट खेल सकेर नेपाली टोली स्वदेश फर्किए पनि प्रशिक्षक भने आफ्नै देश कुवेतमा छन् । त्यसबेला उनले एन्फाको निर्वाचनको परिणाम हेरेर मात्रै आफू फर्कने या नफर्कने विषय तय हुने बताएका थिए । उनी तीन महिनाको छुट्टीमा घर बसेका हुन् ।


प्रतिक्रिया दिनुहोस !