आज पनि संसदमा चोलेन्द्र समशेरको कुरो उठ्यो

आज पनि संसदमा चोलेन्द्र समशेरको कुरो उठ्यो

प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसद लालबाबु पण्डितले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्ताव अघि बढ्न नसक्नुको कारण माग गर्नुभएको छ । आज प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले महाअभियोग प्रस्ताव अघि नबढ्नुको कारणबारे सभामुखसँग सोधनी गर्नुभएको हो ।

उहाँले उक्त महाअभियोग प्रस्ताव छानबिनका लागि समितिमा रहेका सदस्यहरुको नामावली सभामुख आफैंले घोषणा गरेको उल्लेख गर्दै भन्नुभयो,‘उनीहरुलाई जिम्मेवारविहीन अवस्थामा राख्न मिल्छ कि मिल्दैन ?’

‘यही संसदबाट महाअभियोग प्रस्ताव छलफल गर्न समिति बन्यो । सभामुख महोदयबाटै नाम घोषणा भएर महाअभियोग प्रस्ताव छानबिन गर्न जुन समिति बनेको थियो त्यसले अहिले काम पाएको छैन, कहिले काम पाउने हो ?,’ उहाँको सोधनी थियो ।

सांसद पण्डितले आफ्नो पार्टी एमालेसँग छलफल नै नगरी ल्याइएको उक्त प्रस्ताव संसदबाट पारित नहुने डरले अघि नबढाइएको आरोप पनि लगाउनुभयो । प्रधानन्यायाधी विरुद्धको महाअभियोग प्रस्तावमाथि छानबिन गर्ने कुरामा कोही तयार नभएकोतर्फ उहाँको आपत्ति छ ।

टिप्पणीहरू