ठूला दरका नोटबारे राष्ट्र बैंकका हाकिमहरुबीच चर्को मतभिन्नता

ठूला दरका नोटबारे राष्ट्र बैंकका हाकिमहरुबीच चर्को मतभिन्नता

विश्वका ठूला र विकसित मुलुकमा कागजी मुद्रा र धातु सिक्काको प्रचलन ठप्प हुन थालेको छ । डिजिटल करेन्सी र डिजिटल कारोबारले ती मुद्रा र सिक्काको प्रयोगमा ह्रास आएको हो । तर हाम्रोजस्तो मुलुकमा सोही क्षेत्रका विज्ञ भनिएका व्यक्तिहरुबीच अझै पनि कति र कुन दरका नोट छाप्ने वा नछाप्ने विषयमा दन्तबजान भइरहेको पाइन्छ ।

मुलुकमा मुद्रा निश्कासन गर्ने अधिकार नेपाल राष्ट्र बैंकलाई मात्रै छ । २०१३ सालमा स्थापना भएको उक्त बैंकको प्रारम्भिक चरण मुलुकभर नेपाली मुद्राको प्रचलनलाई बढाउनु रहेको थियो । बैंक स्थापना गर्दा ताकाका थोरै विभागमध्ये अहिले पनि मुद्रा व्यवस्थापन विभाग छ । सोही मातहत टक्सार महाशाखा छ । जसले सिक्काको जोहो गर्छ ।

पहिले उक्त विभागलाई नोट विभाग भनिन्थ्यो । त्यहि विभागको प्रमुख भएर हालै अवकाश भएका भुवन कँडेलले ठूला दरका नोट छाप्नुपर्ने धारणासहितको लेख प्रकाशित गरेपछि बैंकका अवकाशप्राप्त अधिकारीहरुले विरोध गरेका छन् । उनीहरुले उदाहरणसहित ठूला दरका नोट मुलुकको निम्ति घाँडो हुने तर्क गरेका छन् ।

गभर्नर कार्यालयमा रहेको सञ्चालक समितिमा लामो समय सचिवको जिम्मेवारीमा रहेका र पछि कार्यकारी निर्देशकबाट अवकाश लिएका भोलाराम श्रेष्ठले कँडेलको तर्कमा विमति जनाएका हुन् । उनले भारत र युरोपको उदाहरण दिँदै उक्त धारणा सामाजिक सञ्जालमा लेखेका छन् ।

श्रेष्ठ लेख्छन्, ‘हालै भारतकै झारखण्ड राज्यमा एक उच्च सरकारी अधिकृतबाट अवैध रूपमा राखिएको १८ करोड रुपैयाँभन्दा बढी नगद जफत गरिएको छ । त्यसमा सबै बैंकनोट भारु ५ सय र २ हजार दरका रहेको समाचारले ठूला दरका बैंकनोटहरू प्रचलनमा रहँदाको औचित्यमाथि पुनः प्रश्न तेर्स्याएको छ ।’

उनैले विगतमा ठूला दरका बैंकनोट जारी गर्ने गरेका विश्वका अन्य देशले पनि क्रमशः त्यस्ता नोटहरूको छपाइ बन्द गर्ने वा चलनचल्तीमा नपठाउने काम थालेको जानकारी दिएका छन् । यसअघि भारतीय केन्द्रीय बैंकले सन् २०१९ देखि नै भारु २ हजार दरका नोटहरू बजारमा पठाउन छाडिसकेको छ ।

युरोपमा सन् २००२ देखि प्रचलनमा रहेका ५ सय दरका युरोको छपाइ सन् २०१६ देखि बन्द गरिसेको उनले जानकारी दिएका छन् । तर कँडेलले बोक्न, अन्यत्र लैजान र कारोबारको निम्ति सजिलोको तर्क दिँदै लेख लेखेका थिए । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेका नोटहरुमध्ये अहिले ५, १०, २०, ५०, १००, ५०० र १००० दरका नोट प्रचलनमा छन् । १ र २ नोट छाप्न छाडिएको दुई दशक नाघिसकेको छ ।

बीच बीचमा विशेष प्रयोजनको निम्ति २५ र २५० दरको नोट छापिएको थियो । ती नोट प्रचलनमा आए पनि नयाँ छपाई हुँदैन । राष्ट्र बैंकले अधिकांश नोट चीन, भारत, बेलायत, फ्रान्स र इण्डोनेसियाका कम्पनीमा छापेर कलकत्ता हुँदै मुलुक भित्र्याउने गरेको छ । सिक्का पनि विदेशमा नै टकमरी गर्ने गरिएको छ ।

टिप्पणीहरू