सडकमा कराउनी, सरकारमा पुगेपछि हराउनी

सडकमा कराउनी, सरकारमा पुगेपछि हराउनी

नेपालका राजनीतिक दल सडकमा हुँदा राजनीतिक आन्दोलनमा जसरी सफल हुन्छन्, सरकारमा गएपछि त्यसरी सफल हुन सक्दैनन् । आन्दोलनको सफलतापछाडि जनताको साथ र सहयोग हुन्छ । सडक आन्दोलनमा हुँदा जनतासँग भिजिने र सँगसँगै जोडिने भएकाले जनताले सरकारको चाबी दिन्छन् । उनीहरूले राम्रो काम गर्लान् भन्ने आशा र विश्वासमा समर्थन पनि गर्छन् । तर जत्रो जनादेश हुँदा पनि राजनीतिक पार्टी र तिनका मन्त्रीले सडकमा नारा लगाएजस्तो र जनतालाई आश्वासन दिएजस्तो काम गर्न सक्दैनन् । हाम्रा राजनीतिक दल र तिनका अधिकांश मन्त्रीको समस्या नै यही छ ।

जनसम्बन्धबाट टाढा टाढा ः पार्टीहरू सरकारमा गएपछि विस्तारै जनसम्बन्धबाट टाढा टाढा हुन्छन् । यिनीहरू तस्कर, माफिया, कमिसनखोर, विभिन्न खालका विचौलिया र दलालको घेराबन्दीमा पर्छन् । त्यो घेराबन्दी तोड्न नसक्दा जनताका प्रमुख प्राथमिकताका सवाल, जनजीविकाका प्रश्नहरू र आफैँले भट्याएका जनताका सपना बिर्सन थाल्दछन् । अर्काेतिर सडकमा हुँदा प्रतिबद्धता गरेजस्तो काम गर्न नसक्नाका कारणहरू जनतामाझ खुलाउँदैनन् । काम गर्न नसकेकोमा प्रायश्चित गर्दैनन् । जसले गर्दा जनता र यी पार्टीहरूबीचको सम्बन्ध शासक र शासितको जस्तो बनेर विस्तारै यी दल र मन्त्रीहरूको जनसम्बन्ध टुट्दै जान्छ ।

अन्तरविरोध : पार्टीका प्रतिनिधि सडकबाट सदन र सरकारमा पुगेपछि अन्तरविरोध शुरु हुन थाल्दछ । सरकारको प्रतिनिधित्व, कार्यशैली, भागबण्डा आदि जस्तो विषयलाई लिएर अनेक गुट, उपगुट सल्बलाउन थाल्दछन् । सरकारको नेतृत्व गर्नेले पार्टी र सरकारलाई सन्तुलनमा राख्न नसक्दा अन्तरविरोध झन् चर्कंदै जान्छ । यसपछि अन्तरविरोध आरोपप्रत्यारोप र झैझगडामा परिणत हुन्छ । सरकारमा रहेको समूहले पार्टीले काम गर्न नदिएको र पार्टीमा रहेको समूहले सरकारले जनपक्षीय काम गर्न नसकेको भन्दै एकअर्कालाई सराप्न थाल्दछन् । चाहे नेपालमा राणाशासन ढालेर संयुक्त सरकार बन्दा होस्, चाहे नेपाली कांग्रेसको एकमना सरकार छँदा होस्, खुट्टा तानातानले आन्दोलनअघि सोचेअनुसार जनपक्षीय कार्य हुनसकेन ।

०४८ को आम निर्वाचनपछि बनेको नेपाली कांग्रेसकै एकमना सरकारले पार्टी अन्तरविरोधका कारण पञ्चायतभन्दा भन्न र गर्नलायक गतिला काम गर्न सकेन, अल्पायुमा नै सरकार ढल्यो, उल्टै पार्टी विभाजित भयो । नेकपा (एमाले) को पनि त्यही हालत भयो । तत्कालीन नेकपा (माओवादी) ले त पार्टीको आन्तरिक दन्तबजानका कारण संविधानसभाको पहिलो निर्वाचनपछि बनेको आफ्नै सरकार नौ महिनामा नै छोड्नप¥यो । पछिल्लो चरणमा नेपाल कम्युनिष्ट पार्टीको सरकार दुई तिहाइ नजिक पुगेर पनि टिक्न सकेन । नेतृत्वले पार्टी र सरकारलाई मिलाएर लान नसक्दा भनेअनुसार काम हुन सकेन ।

फरक जिम्मेवारी : सडक र सरकार फरक फरक मोर्चा हो । सडकमा एकोहोरो रटान लगाए हुन्छ । जे भन्दिए पनि, जे गर्दिए पनि पुग्छ । सरकारमा जस्तो जिम्मेवार बन्नुपर्दैन । गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएर जनतालाई आफ्नो पक्षमा तान्ने प्रपञ्च गरिराखे पुग्छ । तर सरकारमा गएपछि सबै कुराको सर्वप्रथम जिम्मेवारी आफूमा हुन्छ । अरुलाई गाली, आलोचना गरेर, दोष लगाएर सुख पाइँदैन । भन्न पो सजिलो हो त गरेर देखाउन गाह्रो हुन्छ । त्यसै गाएका हुन् त रामकृष्ण ढकालले :

हिरा काट्ने हिरैमा राखेर
दुःख काट्ने दुःखैमा हाँसेर
भन्न सजिलो, धेरै सजिलो
कसले पो बुझ्छ र मनको पहिरो ?

सडकमा छँदा झण्डा बोकेर हाजिर भइदिए भयो, सरकार र सरकारी निकायलाई गाली गर्दिए पुग्यो । सरकारमा गएपछि त तिनै गाली गरेकाको ताली चाहिन्छ । तिनलाई खुशी पारेर काम गर्न नसके असफलता शुरु हुन्छ । आफैँ अभिभावक भएर चल्नुपर्छ । सबैलाई मनाएर काम गर्न गाह्रै छ जेलिएको नेपाली समाजमा । त्यसैले फरक जिम्मेवारी सम्हाल्नुपरेकाले दल र तिनका प्रतिनिधि अलमलमा पर्छन् र भनेजसरी काम गरेर देखाउन अक्षम देखिन्छन् ।

अनुभवको अभाव, अध्ययनको कमी ः सडक र आन्दोलनमा अनुभव भए पनि पहिलोचोटी सरकारमा गएकाहरूसँग सरकार चलाउने, कर्मचारीलाई कजाउने र कानुनअनुसार काम गर्ने अनुभव हुँदैन । अनुभवमय प्राज्ञबिना पहिलोचोटीमा नै कार्यमा सफलता वा भनेजस्तो उपलव्धी पाउन गाह्रो हुन्छ । जसरी गाडी चलाउन नसिकेको वा आफैँले स्टेयरिङ नचलाएको मान्छेलाई भनेको सुनेर मात्रै गाडी हाँक्न गाह्रो हुन्छ अर्थात् पौडी खेल्न नजानेको मान्छेलाई पानी र पौडीको व्याख्या गरेर मात्रै पौडी खेल्न आउँदैन त्यसरी नै पहिलोचोटी कुर्सीमा बस्नेहरूलाई सरकार चलाउन गाह्रो हुन्छ । अर्काे विडम्बना, हाम्रो देशमा सबैलाई मन्त्री चाहिने भएकाले लामो अनुभव नलिँदै सरकारबाट बाहिरिनुपर्ने अवस्था आउँछ । अलि अलि अनुभव लिँदा लिँदै सरकार छोड्ने अवस्था आएपछि उनीहरूले फरक उपलव्धी, प्रगति देखाउन सक्दैनन् ।

यस्तै नारा लगाउन, झण्डा बोक्न, अरुको आलोचना वा गालीगलौज गर्न जति सजिलो छ, दिमाग केन्द्रित गरेर अध्ययन गर्न गाह्रो छ । हाम्रो देशमा बढी विषयको ज्ञानै नभएको व्यक्ति मन्त्री वा कुनै संस्थाको प्रमुख बन्छ । ज्ञान नै नभएपछि योजना, जुक्ति फुर्दैन । योजना, जुक्ति नफुरेपछि काम गर्न सकिँदैन । कर्मचारी संयन्त्रलाई कमाण्ड दिन सकिदैँन । अनि यस्तो भएपछि कि कर्मचारीले जे भन्यो त्यसैलाई विश्वास गरेर, त्यसैमा हस्ताक्षर धस्काएर अघि बढ्नुपर्छ कि सबैसित जुधेर जागिर मात्रै पकाउँदै टिकटक बनाएर दिन कटाउनुपर्छ ।

घुमाउँछ, घुमाउँछ कर्मचारीतन्त्रले घुमाउँछ ः राजनीतिले प्रशासन र प्रशासनले राजनीतिलाई सन्तुलनमा राख्न सकेन र यी दुवै मिले भने भ्रष्टाचार बढ्छ भनिन्छ । हाम्रो देशमा भने राजनीतिले प्रशासनलाई दवाउन खोज्ने र प्रशासनले राजनीतिलाई नटेर्ने, असहयोग गर्ने अवस्था पनि छ ।

कर्मचारीतन्त्रमा समेत राजनीतिक आस्थाका आधारमा संगठन खोल्न पाउने हुँदा उल्टै कर्मचारीतन्त्रले राजनीति र दललाई हल्लाएको पाइन्छ । सुब्बासरहको कर्मचारी संगठनको नेता रहेछ भने उसले सचिव, सहसचिव, मन्त्री, प्रधानमन्त्रीलाई नै हल्लाइदिन्छ । आफ्नो इच्छाअनुसार काम नभए सरकारकै काममा अवरोध उत्पन्न गरिदिन्छ । विभिन्न योजना, ठेक्कापट्टा, सरुवा, बढुवामा उसको प्रभाव हुन्छ । उही हावी हुन्छ । अर्काेतिर राजनीतिक संगठनमा संलग्न नभएको उच्च स्तरको कर्मचारी समूह पनि मिलेर प्रशासनलाई घेराबन्दीमा पार्दछ । खाने कुरामा साना ठूला सबै कर्मचारीको मुख मिल्छ ।

ठूला कर्मचारीले आफ्नो भागलाई वैधानिक वा सुरक्षित बनाउन साना कर्मचारी वा सूचना पाउन नजिककालाई भागबण्डामा सहभागी गराउँछन् । यदि मन्त्री वा संस्था चलाउनेले आँट गरेन र ठाँट देखाएन भने संगठित, असंगठित सबै कर्मचारी मिलेर उनीहरूलाई हेप्छन् । असहयोग गर्छन् । खानेबानी परेको मन्त्री, सचिव, सहसचिव, उपसचिव, कर्मचारीको नेता रहेछ भने टन्टै खलास । त्यहाँ जति वैधानिक रुपमा नीतिगत र रकमगत भ्रष्टाचार अन्त कहीँ हुँदैन ।
लोभको ओइरो, भ्रष्ट मानसिकता ः सडक वा बाहिर राम्रो छवि भएको व्यक्तिमा पनि मन्त्री वा संस्था प्रमुख भएपछि लोभ, पाप, भ्रष्ट मानसिकता पलाउन सक्छ किनकि हिजो राम्रो छ भन्दैमा त्यही व्यक्ति भोलि पनि राम्रै हुन्छ भन्न सकिँदैन । शक्तिमा गएपछि उसमा गलत आचरण, प्रवृत्ति नपलाउला भन्न सकिँदैन ।

लाल फित्ताशाही तन्त्र ः हाम्रो कर्मचारीतन्त्रको जगको संरचना नै सामन्ती चरित्रमा आधारित छ । पदसोपान प्रणाली सामन्ती शैलीको छ । काम भए पनि नभए पनि मन्त्री, हाकिम, सचिव, सहसचिव भ्रष्ट, काम नगर्ने भए पनि तलकाले सोपानअनुसार सम्मान, व्यवहार गर्नैपर्ने, आलोचना गर्न नपाउने, गलत कार्यलाई कहीँकतै उजागर गर्न नपाउने प्रकारको छ । कामभन्दा चाकडी, चाप्लुसी, चुक्ली लगाउनेलाई नै अवसर पाउँछ अहिले पनि । अर्काेतिर हाम्रो ऐन, कानुन, नियम कामयावी भन्दा प्रक्रियागत रुपमा चल्नुपर्ने खालको छ ।

जसले गर्दा काम सुस्त हुन्छ । यसले एक्सन ओरिन्टेड शासक, प्रशासकलाई विस्तारै थकाउँछ, गलाउँछ । खुशी, जोश, जाँगरभन्दा नैराश्यता उत्पन्न गराउँछ । आपूmले सोचेको एजेण्डाअनुसार काम गर्न र विद्यमान कानुनी सांगोलाई छिँदाएर नयाँ दाम्लो बाँध्न नसकेपछि मन्त्री वा संस्था हाँक्ने व्यक्तिको त्यो पदीय जीवन रिबन काटेर बित्न बाध्य हुन्छ । उत्कृष्ट काम गरेर देखाउन नसकेपछि भाषण र मिडियामा बढी हल्ला गरेर दिन बित्छ ।

पत्रकार, मिडियाको घेराबन्दी : आजको विभाजित संसार र त्यसको प्रभावमा बहकिने हाम्रोजस्तो देशका कुनै पनि पत्रकार र मिडिया स्वतन्त्र, निष्पक्ष छैनन् । पदमा रहेकालाई वाच गरिरहनु स्वतन्त्र र निष्पक्ष पत्रकार र मिडियाको अहम् धर्म हो तर पनि कुनै पार्टी, व्यक्ति पदमा पुग्नासाथ पत्रकार र मिडियाको घेराबन्दीमा परिहाल्छ । अधिकांश पत्रकार र मिडियाले स्वार्थ, विचार नमिलेसम्म सरकार वा संस्था हाँक्नेका राम्रा कदमको समेत समर्थनमा समाचार सम्प्रेषण गर्न सक्दैनन् । फरक स्वार्थ र विचारकालाई त राम्रै काम गरे पनि खेदै खनेर छाड्छन् । उनीहरूको राक्षसीकरण गर्न पछि हट्दैनन् भने आफूलाई फाइदा हुने भएमा वा विचार मिलेमा गलत शासक, प्रशासकको ढाकछोप गरेर उनीहरूको देवत्वकरण गर्न पछि पर्दैनन् । यसरी पत्रकार र मिडिया इमान्दार बन्न नसक्दा राम्रा शासक, प्रशासकले समेत काम गरेर देखाउन पाउँदैनन्, सक्दैनन् ।

निश्कर्ष : राजनीतिक पार्टी र तिनका मन्त्रीहरूले पदमा गएपछि पनि जनसम्बन्ध कायम राखिरहने, सरकारमा गएपछि पनि जनजीविकाका मुद्दालाई संबोधन गर्न हरप्रयास गरिरहने, लोभ, पाप र भ्रष्ट मानसिकता त्याग्ने, पार्टी र सरकारलाई सन्तुलित बनाएर चलाउने, सम्बन्धित विषयमा अग्रीम र जिम्मेवारीमा पुगेपछि पनि अध्ययन गरिरहने, आफ्ना विषयमा अपडेट भइरहने, कर्मचारीतन्त्रको मनोविज्ञान बुझेर सबै कर्मचारीलाई समान व्यवहार गरी चेन अफ कमाण्डमा राख्न सक्ने, पुराना ऐन, कानुनलाई समायानुकूल परिमार्जन, संशोधन गर्न र आवश्यकताअनुसार नयाँ बनाउन हरप्रयास गर्ने, पत्रकार र मिडियासँग सन्तुलित सम्बन्ध कायम राखेर अगाडि बढ्ने र सोचेजस्तो कार्य गर्न नसकेमा त्यसका कारणहरू जनतामा प्रष्ट राखिदिएमा सडकमा आक्रामक बन्ने पार्टी र तिनका नेताहरूले सरकारमा गएर रक्षात्मक बन्नुपर्थेन ! सडकमा कराए झैँ सरकारमा गएर हराउन पर्थेन !

टिप्पणीहरू