पुरुषलाई पनि मागेर बिहे गर्न पाइन्न र ! « Jana Aastha News Online
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022

पुरुषलाई पनि मागेर बिहे गर्न पाइन्न र !

प्रकाशित मिति :  ७ असार २०७९, मंगलवार १७:३०


यता जान्छु ठक्कर, उता जान्छु ठक्कर । जता गए पनि ठक्करै ठक्कर मात्र पाइरहेको जिन्दगीदेखि अब म दिक्क भइसकेकी छु । न मर्न सक्छु न त खुशीको सास फेरेर बाँच्न सक्छु । काल नआई नमरिनेरहेछ । म पनि सायद त्यही कालको पर्खाइमा बसिरहेकी छु । भोजपुरमा हुँदा सानैमा परिवारले विवाह गर्न खोजे, मानिनँ । नमानेपछि परिवारदेखि टाढिएँ । कैयौँपटक काल खोज्न गएँ तर कालले लगेन । बाँचें ।

धेरै पढ्ने मन थियो तर पढ्न सकिन । सानैमा आमा बिते पनि बुवाले कान्छी भित्र्याउनुभएन । ६ जना सन्तानलाई पाल्नुभयो । तर, आमाबिनाको परिवार चमकबिनाको दियोजस्तै रहेछ । आमाको माया सानैमा दैवले खोसेर लगेपछि टुहुरा भएका हामीलाई बुवाले जसोतसो हुर्काउनुभयो । पढाउनु पनि भयो । एसएलसी उत्तिर्ण गरेपछि म गाउँकै उच्च माध्यमिक विद्यालयमा भर्ना भएँ । १२ कक्षा पढेपछि इटहरी झरेर थप कक्षा पढ्न चाहन्थें । तर, आर्थिक स्रोतबिना कसरी पढूँ ? पढ्न बन्द गरेर विवाह गर्न परिवारबाट दबाब आयो । बुवा, दाइ सबैले बिहे गर भनेर कचकच गर्न थाले । सायद आमा भइदिनुभएको भए मेरो व्यथा बुझ्नुहुन्थ्यो । आमाबिनाको घर सैतानको घरजस्तो लाग्न थाल्यो ।

मैले विवाह गर्न मानिनँ । धरानबाट लाहुरे नै गाडी लिएर घरमै माग्न आयो । ‘अहिले बिहे गर्दिनँ, पढ्छु’ भनेँ । मलाई माग्न लाहुरे आउँदा बुवाले म बिहेपछि पढाइदिन्छु भने । यसरी माग्न त कैयौँ आएका थिए । केटी माग्ने र लैजाने उनीहरूको बहाना मात्र थियो । दुलही बनाएर भिœयाएपछि घरभित्रै धन्दामा दलाउने यो नेपाली समाजदेखि म धेरै पर बस्न चाहन्छु । र, त्यसैले लाहुरे परिवारबाटै माग्न आउँदा पनि मान्दै मानिनँ । यति राम्रो कुटुम्ब पाउँदा पनि नमानेपछि बुवाले ‘घर छाडेर जा’ भन्दै सधैँलाई पुग्ने बचन दिनुभयो । अब म यति भएपछि कसरी बसूँ ?

काेठामा ब्वाइफ्रेन्डसँग बस्छिन । बिहेचाहिँ अहिले तत्काल नगर्ने केही पैसा कमाएर गर्ने  रे ! याे पाे हाे त प्रेम र विवाह । महिलाकाे ठाउँमा  परूषलाई मागेर बिहे गर्ने प्रचलन भए कस्ताे हुन्थ्याे हाेला ?

घर छाडेर इटहरी झरँे । इटहरीमा फुपू हुनुहुन्थ्यो । त्यहाँ पुगेपछि गाउँघरबारे सोधपुछ हुने नै भयोे । मैले सबै ठीकै छ भनेँ । परीक्षा सकिएपछि केही दिन घुम्न भनेर इटहरी झरेको भनी ढाँटें । फुपूको घरमा केही दिन नबस्दै फेरि मेरो हात माग्न मान्छे आए । छक्क परें, ‘जता गए पनि यी पिचासहरूले साथ नछाड्ने भए ।’ फुपूले ‘लाहुरे परिवारको हो, खान्दानी छन्, जीवनभर सुखसँग बस्न पाउँछेस् । अब त तेरो उमेर पनि हो’ भन्दै सम्झाउन थाल्नुभयो । तर, मैले पढेर केही गर्नु छ, अहिले बिहे गर्दिनँ भनँे । फुपूले बिहे गरेपछि पनि तैंले जे भन्छस् त्यही पढाइदिन्छन् रे भन्दै फकाउन थाल्नुभयो । मलाई थाहा थियो, ‘यो त भैँसीको आङमाथि चढेर मुखतिर घाँस देखाई हिँडाउने उपाय हो ।’ फुपूले पनि निकै बचन लगाउनुभयो ।

इटहरी नबस्ने निधो गरेँ । इटहरीमा फुपूलाई केही नभनी बेलुकीको बस चढेर काठमाडौं आएँ । काठमाडौं जान्छु, सामान्य काम गर्छु तर पढाइ छाड्दिनँ । काठमाडौंमा कान्छा बुवाकी छोरी बस्थिन् । सबै कुरा भनेपछि उनैले काठमाडौं आउन बोलाएकी हुन् । काठमाडौं आएपछि उनकैमा बस्न थालँे । उनी नर्स थिइन् । म पशुपति क्याम्पस भर्ना भएँ । पशुपतिमा बिहान कलेज, दिउँसो सामान्य काम गर्न थालेँ । तर, भनेअनुसारको ज्याला नपाएपछि काम छाडेँ ।

अरुतिर कामको खोजी गरेको वर्षौं बित्यो तर भनेजस्तो नपाइने । कोठाभाडा, पकेट खर्च दिदीले दिनाले केही सहज थियो । यदि दिदी नभए म काठमाडौंमा सडकको भुस्याहा कुकुरजस्तै हुन्थें होला । मलाई साथ दिने त्यहीँ कान्छो भाइ छ । ऊ नै मेरा लागि सबथोक हो । मेरो मनको व्यथा बुझिदिने ऊबाहेक अरू कोही छैनन् । गाउँघरको हालखबर दिने, मलाई अघि बढ्न प्रेरणा दिने उसैले हो । गाउँ छाडेपछि फर्केर त्यो माटोमा पाइला टेक्दिन भनेर हिँडेको मलाई भाइले अनेक सम्झायो, फकायो । बुवालाई पनि उसैले फकायो । र, अस्तिको दशैँमा घर गएँ । १ हप्ता गाउँ बसेर आएँ । भाइले सम्झाएको हुनाले बुवाले केही भन्नुभएन । तर, दाइले नमीठो बचन लगाउनुभयो, ‘तँ हाम्रो लागि मरिस्, किन आइस् ?’

मेरो विवाहकै विषय लिएर कान्छो भाइ र दाइको लडाइँ नै प¥यो । दाइले मलाई यस्तो बचन लगाएपछि भाइले सहन सकेन । दाइमाथि जाइलाग्यो । त्यसपछि दुवैको लडाइँ शुरु भयो । अनेक रोइकराई गरेपछि दुवै साम्य भए । त्यसको भोलिपल्टै म भाइसँग बिदा मागेर काठमाडौं फर्कें । अब गाउँ फर्कन मन छैन, पुग्यो । गाउँबाट फर्केर काठमाडौं आउँदा कोठामुनि गाउँकै सपना दिदी कोठा सरेर आउनुभएको रहेछ । उहाँ पनि मजस्तै पीडित । जबर्जस्ती बिहे गरेर गएपछि श्रीमान्ले माया पिटिक्कै नगर्ने । घरमा माग्न आउँदा जे भन्छ त्यही पढाइदिने भनेर बिहे गरेकी यी दिदीले बिहे गरेको केही दिनमै श्रीमान्सँग डिभोर्स गरिन् । त्यसपछि काठमाडौं आएकी उनी ब्युटीपार्लरमा काम गर्छिन् ।

सपना दिदी उमेरले ३० कट्न लागेकी छन् । कोठामा ब्वाइफ्रेन्डसँग बस्छिन् । ब्वाइफ्रेन्ड सँगै पढेको साथी हो । केटाले दिदीलाई खुबै माया गर्छ । घरभित्र र बाहिर दिदीलाई सघाउँछ । दिदीले पनि उसलाई खुबै माया गर्छिन् । परिवारले नमान्दा दिदीले त्यतिबेला जबर्जस्ती अर्कै केटासँग बिहे गरे पनि अहिले उनले आफैँले चाहेको केटासँग बस्न पाएकी छन् । बिहेचाहिँ अहिले तत्काल नगर्ने, केही पैसा कमाएर गर्ने रे ! यो पो हो त प्रेम र विवाह । दुवैले एक अर्कालाई बुझेका छन् । गल्ती भए पनि माफी दिएकै छन् । यदि सपना दिदी त्यही पहिलेकै केटासँग हुन्थिन् भने उनको जिन्दगी अहिलेजस्तो रंगीबिरंगी हुन्थ्यो त ? ती दिदी पनि मलाई आफ्नो व्यथा सुनाएर दह्रो बन्न सुझाव दिन्छिन् । हामी दुवैको कथाव्यथा एउटै, भोगाइ छुट्टै । सोच्छु– समाजमा महिलाको ठाउँमा पुरुषलाई मागेर बिहे गर्ने प्रचलन भए कस्तो हुन्थ्यो होला ?

बिहे भनेको करकाप र सम्पत्तिमा हुने हो र ? बिहे परिवारको खुशीका लागि गर्ने हो र ? बिहे समाजमा देखाउनलाई गर्ने हो र ? बिहे भनेको पुरुषलाई मात्रै सुख दिन हो ? बिहे भन्नाले खाली सन्तान उत्पादन गर्न मात्र हो ? बिहे भनेको आफू खुशी हुनुमात्र होइन दुवै खुशी हुनलाई गर्ने हो । त्यसका लागि दुवैले एकअर्कालाई चिनेको हुनपर्छ । भनाइ छ नि– मान्छे चिन्नु एकचोटी, खसी चिन्नु सय चोटी । केटी मान्छे त खसी बाख्रा होइन नि मोलमोलाई गर्नलाई । तर, नेपाली समाज केटीलाई खाली मोलमोलाई गर्ने वस्तु सम्झिने रहेछ ।


प्रतिक्रिया दिनुहोस !