कास्की कांग्रेसमा लफडा : सभापतिविरुध्द अविश्वास प्रस्तावको तयारी

कास्की कांग्रेसमा लफडा : सभापतिविरुध्द अविश्वास प्रस्तावको तयारी

नेपाली कांग्रेस कास्कीको विवाद चरम उत्कर्षमा पुगेको छ । जिल्ला सभापति किशोरदत्त बरालविरुध्द पदाधिकारी र सदस्यले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि विवाद चर्किएको हो ।

सभापति शेरबहादुर देउवानिकट मानिने बराल जिल्ला समितिमा अल्पमतमा परेका छन् । उनलाई सभापतिबाट हटाउन हस्ताक्षर अभियान शुरु भएको कास्कीकै एक नेताले बताए । ‘उहाँले पार्टी चलाउन सक्नुहुन्न । नयाँ मान्छे चाहिन्छ,’ती नेताले भने,‘अविश्वासको प्रस्ताव ल्याउने तयारी भैरहेको छ ।’

यहि लफडाका कारण स्थानीय निर्वाचनको समीक्षा गर्न आयोजित जिल्ला कार्यसमितिको बैठकसमेत अधिकांश पदाधिकारी र सदस्यले बहिष्कार गरेका छन् । उपसभापति युवराज कुँवरले होटलमा राखिएको बैठकमा सहभागी नहुने बताए । ‘पार्टी अफिस छ । अहिलेसम्मका सबै काम पार्टी अफिसबाट चल्यो, अहिले दिनदिनै होटलमा बैठक भयो,’उनले भने, ‘यसरी पार्टी कमजोर हुन्छ नि ! सभापतिज्यू जिम्मेवार हुनुभएन । धेरै साथीहरु बैठकमा आउनुभएन, आउनुभएकाले पनि हस्ताक्षर गर्नुभएको छैन ।’

पदाधिकारी र सदस्य उठेर हिँडेपछि बैठक ११ गतेका लागि स्थगित भएको छ । बैठकमा १८ जना अनुपस्थित थिए भने आएकाले समेत उपस्थिति जनाएनन् । पदाधिकारी र सदस्यले प्रश्न गरेपछि सभापतिले जवाफ दिँदै गर्दा धेरैजसो बैठकका सहभागी उठेर हिंडेको बैठकका एक सदस्यले बताए ।

‘होटलमा बैठक राखेको भनेर आलोचना भैरहेको थियो । त्यसमाथि स्थानीय निर्वाचनमा पोखरा महानगरको उपमेयर हारेको विषय पनि थपियो,’ती नेताले भने, ‘केही हजार भोट भएको एकीकृत समाजवादीले चुनाव जित्ने,६० हजार मत भएको कांग्रेसले कसरी हार्यो ? यसको गम्भीर समीक्षा हुनुपर्दैन ? प्रश्न उठ्छ । प्रश्नबाट भाग्न मिल्दैन ।’

सभापति बरालले भने गणपुरक संख्या नपुगेका कारण बैठक स्थगित गरिएको बताए । ‘साथीहरू कामको व्यस्तताले आउन भ्याउनुभएन । सहमतिमै अर्को दिन बैठक बसौं भनेर उठेको हो, ‘बाहिर के प्रचार भयो थाहा छैन । बैठकका बेला कुनै नराम्रो कुरा चलेको थिएन’, उनले भने ।

टिप्पणीहरू