विराटनगरमा मेयरले उपमेयरको कार्यकक्ष रोजे, उपमेयरलाई मेयरको आलिशान कक्ष ‘बम्पर’

विराटनगरमा मेयरले उपमेयरको कार्यकक्ष रोजे, उपमेयरलाई मेयरको आलिशान कक्ष ‘बम्पर’

२०७४ सालको स्थानीय तह निर्वाचनमा विराटनगर महानगरको मेयर जितेका भीम पराजुलीलाई महानगरपालिकाले लाखौँ खर्चेर नयाँ कोठा, महंगा फर्निचर र आकर्षक रंगरोगनसहित वातानुकूलित कार्यकक्ष निर्माण गरेको थियो । मेयर पराजुलीले त्यहिँ बसेर पाँच वर्ष रजगज गरे ।

महानगरको दोस्रो तलाको मुख्य भागमा पूर्वपट्टि रहेको उक्त फराकिलो कोठामा अहिले निर्वाचित मेयर नागेश कोइराला भने बसेनन् । सपथ ग्रहणको एक दिनअघि उनले प्रमुख प्रशासकीय अधिकृत उमेस बस्नेतलाई आफ्नो कोठा पश्चितर्फ सार्न निर्देशन दिए । र, सोही निर्देशनअनुसार बस्नेतले पनि पहिले उपमेयर बसेको साँघुरो कोठामा नवनिर्वाचित मेयरलाई र निवर्तमान मेयर पराजुलीको फराकिलो कक्षमा एमालेबाट निर्वाचित उपमेयर शिल्पा कार्कीलाई कुर्सीमा राखेर पदभार ग्रहण गराए । अहिले उनीहरुले त्यसैलाई आ–आफ्नो कार्यकक्ष बनाएका छन् ।

पराजुली र कोइराला दुवै कांग्रेसबाट निर्वाचित मेयर हुन् । तर, एउटै पार्टीको भएपनि पराजुली बसेको कोठामा कोइराला किन बसेनन् ? महानगरका कर्मचारीमात्र हैन विराटनगरबासीमा खुल्दुली छ । एकथरीले मेयरलाई झयालबिनाको कोठामा बस्न असहज लाग्ने भएकाले पश्चिमतर्फ रहेको उपमेयरको कक्ष रोजेको तर्क गर्ने गरेका छन् ।

कतिपयले पराजुली र कोइरालाको चिन्तन फरक रहेकाले कोठाको रोजाइ पनि फरक परेको तर्क गरेका छन् । उनीहरुका अनुसार पराजुली कुनै पनि काम साइत हेराएर गर्ने गर्थे भने कोइरालालाई वास्तुशास्त्र मिलेको हुनुपर्छ । यसैले उनले मेयरको बनिबनाउ फराकिलो कोठा छाडेर उपमेयरको साँघुरो कोठा रोजेको उनीहरुको भनाइ छ ।

अर्काथरीले भने पराजुलीसँग कोइरालाको पुरानो इख भएकाले उनले प्रयोग गरेका सामग्री नचलाउने भनेर अर्को कोठा रोजेको चर्चा गरेका छन् । हुन पनि पराजुली काँग्रेसको तत्कालीन नगर सभापति हुँदा कोइराला जिल्ला सचिव थिए । दुवै जना विराटनगर महानगरको मेयरका आकांक्षी । र टिकटका लागि दुवैले सकेसम्मको बल लगाए । अन्तिममा पराजुलीले सभापति शेरबहादुर देउवालाई मात्र नभएर गुटका नेता शेखर कोइरालालाई समेत रिझाएर पहिलो पटक टिकट लिन सफल भए । पहिलेदेखि नै राजनीतिमा प्रतिस्पर्धी ठान्ने यी दुईबीचको शीतयुद्ध पुरानै हो ।

पराजुलीले महेन्द्र मोरङ क्याम्पसमा नेविसंघमा आवद्ध भएर राजनीतिमा संघर्ष गरेका हुन् । तर, सम्पन्न परिवारका छोरा कोइराला विदेशबाट पढेर आएर व्यवसायमा लागेपछि मात्र काँग्रेसको राजनीतिमा पहुँच प्रयोग गरेर सक्रिय भएका थिए । त्यसैले पराजुलीपक्षले विरासतको राजनीति गर्न खोजेको भन्दै अहिले पनि कोइरालालाई रुचाउँदैन ।

कोइराला समूहले भने पराजुलीलाई महत्वाकांक्षी र अवसरवादीको आरोप लगाउने गरेको छ । यसपालिको निर्वाचनमा पनि आफूले नै टिकट पाउने दाबीसहित पराजुली जोडतोडले लागिपरे । तर पहिलेको भन्दा झन् धेरै जोडतोडले लागेका कोइरालाले टिकट ल्याएर चुनाव जिते ।

विराटनगरमा भएको चुनावी आमसभामा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रष्ट भन्नुभएको थियो, ‘पोहोर मैले टिकट दिन सकिन तर यसपाली नागेशलाई न्याय भएको छ, सबैले भोट दिएर जिताउनु ।’ मोरङका काँग्रेस कार्यकर्ताहरु भन्छन्,‘भीम–नागेशको पहिलेदेखिको द्वन्द मेयरको टिकट बाँडफाँडबाट प्रष्ट देखिन थालेको हो । जितिसक्दा पनि त्यो कुनै न कुनै रुपमा प्रकट भइरहेको छ ।’

टिप्पणीहरू