माधव नेपाललाई भेट्न गृहमन्त्री सचिव र सहसचिव बोकेर पार्टी कार्यालयमा

माधव नेपाललाई भेट्न गृहमन्त्री सचिव र सहसचिव बोकेर पार्टी कार्यालयमा

गृहमन्त्री बालकृष्ण खाँणले आज नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेटघाट गर्नुभएको छ । अध्यक्षको पार्टी कार्यालय मीनभवनस्थित आलोकनगरमा भएको भेटमा मन्त्रीसँगै गृह सचिव टेकनारायण पाण्डे र गृह मन्त्रालयका कानुन हेर्ने सहसचिव कोमल खत्री पनि सँगै रहेको बताइएको छ ।

अध्यक्ष नेपालसँग पार्टीका तर्फबाट नेता सोमप्रसाद पाण्डे सहभागी हुनुभएको हो । उहाँहरुबीच संसदमा प्रस्तुत गर्न लागिएको नागरिकता विधेयकमाथि छलफल भएको बताइएको छ ।

सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसदमा पेस गरेर पारित गर्ने तयारी स्वरुप मन्त्री खाँणले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि उहाँहरुकै निवासमा पुगेर भेट गर्नुभएको थियो ।

त्यसैगरी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि सोही विषयमा उहाँले भेटेर कुराकानी गरिसक्नुभएको छ । नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गरेर नेपाल आउने विदेशी महिलालाई दिइने अंगिकृत नागरिकता लगायतका दफामा दलहरुबीच मतभेद कायम छ ।

टिप्पणीहरू