हनुमान डट कम

हनुमान डट कम

काठमाडौंमा अहिले अचानक ‘हनुमान डट कम’ अनलाइनहरूको बिगबिगी शुरु भएको छ । यो खास गरी काठमाडौं महानगरपालिका क्षेत्रमा बढी सक्रिय छ ।

हनुमान डट कम भनेपछि बुझिहालियो, यसले अरु कसैलाई हेर्दैन, भगवान रामकै मात्र सेवा गरिरहेको हुन्छ । भगवान रामको सेवामा यो चौबिसै घण्टा खटेको हुन्छ । यसको लागि राम मात्रै सबै हो, सीता पनि कोही होइन ।

जसले रामायण पढेको छ उसलाई थाहा होला, कथामा हनुमानहरूको एउटा सेना नै थियो । जसलाई वानर सेना भनिन्छ । त्यतिबेला सबै वानरको हातमा एक एक वटा ढुंगा वा मूढा हुने गथ्र्याे ।

अहिले सबै वानरको हातमा एक एक वटा कम्प्यटर वा मोबाइल रहेको देखिन्छ, जसबाट उनीहरू प्रहार गरिरहन्छन् । पहिलेका वानरहरू भौतिक प्रहार गर्दथे । अहिलेका वानरहरू साइबर वार गर्छन् ।

प्रहार गर्ने वानरहरू अलग अलग भए पनि सबै वानरको साइबर लाइन भने एउटै हो— हनुमान डट कम ।  यतिबेला हनुमान डट कमको आक्रमण तीव्र छ । बचेर हिँड्नु होला, हनुमान डट कमको शिकार जो पनि हुन सक्छ ।

हनुमानले लंका जलाए जस्तै यी हनुमानहरू काठमाडौं जलाउन पो उद्यत छन् कि ?

टिप्पणीहरू