तलब—महँगी संवाद

तलब—महँगी संवाद

अस्ति सरकारले बजेट भाषण दिएको दिनदेखि कर्मचारीको तलब चमचम हुन थालेको छ । तलबले बडा फूर्ति देखाउन थालेको छैन । यतिबेला तलबको खुट्टा भुइँमा छैन । यो आकाशमा उडिरहेको छ ।

आकाशमा उड्नु भनेको माथि माथि जानु हो । अहिले तबल माथि गएको गयै छ । तलबले मनमनै भनिरहेको थियो, अब यहाँमाथि मलाई छुन सक्ने कोही छैन । तलबले मनमनै यस्तो सोच्दै थियो, तर माथि आकाशमै अचानक कोहीसँग ढ्याक्क ठोकिन गइहाल्यो ।

‘अरे, को हो यो ? यति माथि मसँग ठोकिने को हो यो ?’ तलबले मुरमुरिँदै सोधिहाल्यो । ‘म नि म, अरु को हुनु ?’ जोसँग ठोकिएको हो, उसले भन्यो ।

‘यो म भन्नेचाहिँ को त ? म मात्र भनेर कसरी चिन्नु ?’ तलबले भन्यो । ‘मलाई चिनेनौ ? म महँगी क्या महँगी !’  महँगीलाई यति माथि देखेर तलब चकित भयो, ‘तिमी यहाँ माथि कसरी नि ?’ ‘तिमी जसरी, म पनि त्यसरी नै ।’ महँगीले जवाफ दियो ।

‘म जसरी तिमी कसरी हुन सक्छौ ? मलाई त यहाँ माथि सरकारले पठाएको हो । तिमीलाई कसले पठाएको ?’ तलबले फुइँ गर्दै सोध्यो । ‘अरे यार, मलाई पनि सरकारले नै पठाएको हो । यत्रो माथिसम्म आउनलाई सरकारले सहयोग नगरी सम्भव हुन्छ ?’ महँगीले भन्यो ।

‘तर खै, तिमीलाई पनि सरकारले पठाएको त आजसम्म मलाई केही थाहा छैन ।’ तलब छक्क प¥यो । महँगीले भन्यो, ‘तिम्रो र मेरो फरक भनेको यही त हो नि । तिमीलाई सबैले देख्ने गरी माथि पठाउँछ, मलाईचाहिँ कसैले नदेख्ने गरी सुुटुक्क पठाउँछ । पठाउनेचाहिँ दुवैलाई सरकारले नै हो ।’ ‘तर तिमी मभन्दा नि चाँडो माथि पुगेको चाहिँ कसरी नि ? निस्केको त तिमी मभन्दा पछि नै होला ।’ तलबले जिज्ञासा राख्यो ।

  ‘त्यो त अब प्रक्रियाको कुरा हो । तिमीलाई माथि पु¥याउन अनेक प्रक्रिया गरिराख्नु पर्छ । माथि पठाउन हुन्छ कि हुन्न ? कसैले केही भन्ला कि ? केही गर्ला कि ? अनेक कुरा सोच्नुपर्छ । मलाई पठाउनचाहिँ सोचिराख्नु पर्दैन । त्यही भएर चाँडो पुगेको हो ।’ महँगीले सविस्तार ख्याख्या गरिदियो । विचरा तलबचाहिँ हेरेको हे¥यै ।

टिप्पणीहरू