प्रधानमन्त्रीबारे सभापति निरौलाको यस्तो स्पष्टोक्ति

प्रधानमन्त्रीबारे सभापति निरौलाको यस्तो स्पष्टोक्ति

संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले अमेरिकी स्टेट पार्टनसिप प्रोग्राम (एसपीपी)का सन्दर्भमा प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ नदिएकाले प्रधानमन्त्री शेरबहादुर देउवालाई समितिमा बोलाउनुपरेको प्रतिक्रिया दिनुभएको छ ।

सदनमा कुरा उठे पनि प्रधानमन्त्रीले आफ्ना धारणा नराखेकाले समितिमा आमन्त्रण गरेको र जवाफ पाउने अपेक्षा गरेको उहाँको भनाइ छ । ‘सदनमा जवाफ दिएको भए प्रधानमन्त्रीलाई समितिमा बोलाउने थिएनौं । सम्बन्धित समिति भएको कारणले गर्दा अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उहाँलाई आमन्त्रण गरेका हौं ।

उहाँको तर्फबाट जवाफ पाउने आशा र अपेक्षा गरेका हौं’, निरौलाले भन्नुभयो, ‘हामीले के चाहेका थियौं भने प्रधानमन्त्री, प्रधानसेनापति र परराष्ट्रमन्त्रीलाई बोलाउने भनेका हौं, कतिपय सवाल अतिरञ्जित भएर आएका होलान्, कतिपय सवाल गलत ढंगले आएका होलान् ती सबैको जवाफ आधिकारिक रूपमा आओस् भन्ने हाम्रो धारणा हो ।’

एसपीपी पनि व्याख्यात्मक घोषणासहित सम्झौता हुने त होइन भन्दै उहाँले आशंका पनि व्यक्त गर्नुभएको छ । ‘नेपालमा अमेरिकी सेनाको बुट बजार्ने कुरा आइरहेका छन् । यसले गर्दा सबैको मन रोएको छ । नेपाल स्वतन्त्र राष्ट्र हो । प्रधानन्त्रीलाई फेरि आमन्त्रण गरौं ।

एमसीसी व्याख्यात्मक घोषणासहित पारित भयो । एसपीपी पनि व्याख्यात्मक घोषणासहित सम्झौता हुने त होइन ? यस्तो आशंका जनताले पनि गरिरहेका छन् । नेपाल सँधै स्वतन्त्र रहन चाहन्छ,’ सभापति निरौलाको भनाइ छ ।

समितिको आजको बैठकमा प्रधानमन्त्री देउवालाई आमन्त्रण गरे पनि उहाँ अनुपस्थित भएपछि एमाले र माओवादी केन्द्रका सांसदहरुले असन्तुष्टी जनाएका थिए । एमाले सांसद भीम रावलले बैठकबाट खेद प्रस्ताव पारित गर्न प्रस्ताव गरेपछि काँग्रेस सांसद पुष्पा भुसालले आपत्ति जनाउनुभएको थियो ।

यसैलाई लिएर प्रधानमन्त्रीको अपमान गर्न खोजेको तर्क उठेपछि समितिका सभापति निरौलाबाट यस्तो प्रतिक्रिया आएको हो । उहाँले प्रधानमन्त्रीको अपमान गर्ने अभिप्राय समितिको नरहेकोसमेत स्पष्ट पार्नुभएको छ ।

टिप्पणीहरू