एउटै सेयर दुई जनालाई बेचेर साढे तीन करोड झ्वाम्

एउटै सेयर दुई जनालाई बेचेर साढे तीन करोड झ्वाम्

एउटै शैक्षिक कन्सल्टेन्सीको सेयर दुई जनालाई बेचेर साढे तीन करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ का ७२ वर्षीय केशवप्रसाद अधिकारी हुन् । उनले काठमाडौंको एउटा शैक्षिक कन्सल्टेन्सीका सेयरधनीलाई तीन करोड ५० लाख रुपैयाँ ठगेका हुन् ।

पूर्वसञ्चालक अधिकारीले पुतलीसडकस्थित अर्बिट इन्टरनेसनलका सेयरधनी नुवाकोटका श्रीबहादुर तामाङलाई पत्तो नदिई साढे तीन करोड रुपैयाँ ठगेका हुन् । आफू ठगिएको भन्दै तामाङको उजुरी परेपछि अधिकारीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

तामाङबाट साढे तीन करोड लिएपछि अधिकारीले सोही शैक्षिक कन्सल्टेन्सीको सेयर शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेलाई समेत बेचेको तथ्य खुलेको हो । सेयर स्वामित्व हस्तान्तरण गर्न तामाङलाई मन्जुरीनामा दिइसकेको अवस्थामा पटक–पटक ताकेता गर्दा पनि सेयर स्वामित्व हस्तान्तरण नगरी पाण्डेलाई बेचेको पाइएको प्रहरीले बताएको छ ।

उनलाई थप अनुसन्धानको निम्ति काठमाडौं जिल्ला प्रशासनबाट दुई दिन म्याद थपिएको छ । उनी यसअघि पनि पटक–पटक विभिन्न मुद्दामा पक्राउ परेर छुट्दै आएका थिए ।

अधिकारीलाई सरकारी जग्गा बैना गरी पाँच करोड २० लाख रुपैयाँ ठगेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत जेठ १३ गते अधिकारीको तस्बिरसहित घटनाविवरण सार्वजनिक गरेको थियो । उक्त दुई घटना सार्वजनिक भएपछि उनीविरुद्धका थप घटना समेत सार्वजनिक हुने क्रम बढेको छ ।

यसअघि उनी संलग्न रहेको अर्बिट एसोसिएटले ललितपुर फाइनान्सको ३५ करोड रुपैयाँ ठगी गरेको अर्को आरोप पनि छ ।

टिप्पणीहरू